मिसेस नेपाल टुरिजम–२०२० : मनिताले चुमिन् उपाधि
काठमाडौं : पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ सम्पन्न ‘मिसेस नेपाल टुरिजम–२०२०’ को उपाधि बाफलकी मनिता रिसाल बुढाथोकीले चुमेकी छन्।
प्रतियोगितामा बुढाथोकीले मिसेस नेपाल टुरिजमका साथै मिसेस क्याटवाक र मिसेस ट्यालेन्ट उपाधि पनि हात पारिन्। त्यसैगरी, मिस टिन टुरिजम–२०२० को उपाधि अस्मिता कालाखेतीको पोल्टामा गएको छ। उनले यो उपाधिसँगै मिस ट्यालेन्ट तथा मोस्ट फोटोजेनिक उपाधिसमेत हात पार्न सफल भएकी छन्।
स्टार वन इन्टरटेनमेन्ट प्रालिले विवाहित महिलाबीच आयोजना गरेको सौन्दर्य प्रतियोगितामा आरतीमाया लामा पब्लिक च्वाइस र बेस्ट हेयर, चन्दा दाहाल अधिकारी फस्ट रनर अप र बेस्ट स्किन, बन्दना राजभण्डारी सेकेन्ड रनर अप र बेस्ट स्माइल, अमृता गिरी थर्ड रनर अप र मोस्ट फ्रेन्डली घोषित भएका थिए। त्यसैगरी, मिस टिन टुरिजम २०२० को फस्र्ट रनरअप, युट्युब बेस्ट भ्युज र मिस क्याटवाल्क पासाङ भोटे तथा सेकेन्ड रनरअप र फेसबुक च्वाइसको उपाधि रोजिना तिवारीले जिते। मिसेस नेपाल टुरिजमअन्तर्गत प्रतियोगितामा आरती सिंह बेस्ट पर्सनालिटी, निशा खरेल युट्युब बेस्ट भ्युज र फेसबुक च्वाइस, रोशनी बडे मोस्ट डिसिप्लिन घोषित भए।
अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा सम्पन्न प्रतियोगितामा अभिनेता कृष्ण मल्ल, सूर्य चन्द, मिसेस नेपाल इन्टरनेसनल २०१८ चन्दा थापा गिरी, चलचित्र निर्देशक समुन्द्र भट्ट र संगीतकार सरोज प्याकुरेल निर्णायक थिए। प्रतियोगिता पूजा निरौलाको आयोजना र बालकृष्ण पोखरेलको निर्देशनमा सम्पन्न भएको थियो।