पाकिस्तानमा विपक्षीलाई प्रधानमन्त्री खानको आग्रह: प्रदर्शन नगर्नू
इस्लामाबाद: पाकिस्तानमा विपक्षीहरुले सरकारलाई दबाब दिइरहेका बेला प्रधानमन्त्री इमरान खानले विपक्षीहरुलाई प्रदर्शन नगर्न आग्रह गरेका छन् ।
लाहोर सहरमा विपक्षीहरुले प्रदर्शनको तयारी गरिरहँदा प्रधानमन्त्रीले तत्कालका लागि प्रदर्शन रोक्न आग्रह गरेका हुन् । प्रदर्शन निकाल्दा कोभिड १९ को संक्रमण थप फैलिने प्रधानमन्त्रीको तर्क छ ।
यसअघि भने प्रधानमन्त्री खानले कोरोना फैलिनुको पछाडि विपक्षीहरुको प्रदर्शन नै जिम्मेवार रहेको प्रतिक्रिया दिएका थिए । पाकिस्तानमा केही महिनादेखि नै सरकारको विरोध गर्दै विभिन्न ११ वटा विपक्षी राजनीतिक दलहरुले मोर्चा बनाएका छन् ।
उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै चरणवद्ध रुपमा प्रदर्शन गर्दैआएका छन् । यस पटक पनि लाहोरमा विशाल जुलुसको तयारी गरिरहेको विपक्षीहरुले बताएका छन् ।
पाकिस्तानमा हाल कोरोनाभाइरसको दोस्रो चरणको लहर फैलिरहेको बताइएको छ । यही समयमा सरकारको कडा आलोचना पनि हुँदैछ । सरकारले भने कोरोनाको संक्रमण फैलिरहँदा पूर्ण रुपमा लकडाउन घोषणा गरेको थिएन ।