एउटा “बाटो” को सपना

एउटा “बाटो” को सपना

बाटो जति फराकिलो भएपनि,

हिँड्नेहरू त सधैं

छेउ लागेरै हिँड्नु पर्दो रहेछ।

आख्यानकार नयनराज पाण्डेले माथिको कवितांशमा भनेजस्तै बाटो जतिसुकै ठूलो होस् यात्रीले छेउलागेरै हिँड्नुपर्छ। बाटोको आगमनसँगै गाउँघरमा फुल्ने सपनाका फूल सुन्दर हुन्छन्। 

पूर्वी नेपालको संखुवासभाको विकट गाउँमा बस्ने मिग्माको कथा हो ‘बाटो’। नेपालमा मिग्माको जस्तै हजारौं परिवार आधारभूत सुविधा मानिने बाटोको अभावमा सयौं किलोमिटर हिँडेरै यात्रा गर्न बाध्य छन्। बिहीबारबाटसुरु भएको इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको फिल्म ‘बाटो’ को कथा हो यो। निकै जीवन्त लयमा तयार पारिएको फिल्मले विकट गाउँको कथा समेट्छ। 

बाहिरी सुविधाभन्दा पर कतै सुदूरमा मिग्माको गाउँ छ। असार साउनमा जंगल गएर संकलन गरेका जडीबुटी, औषधि तथा घरका अन्न उत्पादन बोकेर बेच्नसदरमुकाम पुग्छन् उनी। एक दिन मात्रै होइन कहिलेकाहीँ हप्तौंसम्म सामान बोकेर अप्ठ्यारो बाटो हिँडिरहनुपर्छ। कहिले भेलसँगै हेलिन्छन् त कहिले पहिरोसँगै पुरिन्छन्। उनीहरूको दुःखी जिन्दगी शदीयौदेखि यसरी नै चलिरहेको छ। अमेरिकी फिल्म निर्देशक लुकास मिलार्ड र क्याथे स्टेकरले निर्माण गरेको यो फिल्मले विकट ठाउँमा बस्ने नेपाली समाज देखाएको छ। 

विगत २०वर्षदेखि हरेक वर्ष माउन्टेन फिल्म फेस्टिभल ‘किम्फ’ आयोजना भइहरेको छ। विभिन्न देशका सयौं फिल्म प्रदर्शन हुने यो फेस्टिभलमा फिल्म, डकुमेन्ट्री, सर्ट फिल्मले स्थान पाउँछन्। यस वर्ष नेपाली र विदेशी गरी १५ देशका ३० वटा फिल्म प्रदर्शन हुनेछन्। हरेक वर्ष ५० भन्दा बढी फिल्म प्रदर्शन हुने किम्फमा यो पटक कोरोना महामारीका कारण धेरै फिल्म देखाउन नसकिएको कार्यक्रम निर्देशक रम्यता लिम्बूले जानकारी दिएकी छन्। उनका अनुसार फिल्म पारखी दर्शकका लागि फिल्म महोत्सव उत्सव सरह हुनेछ। महोत्सवले गर्दा नै नेपालमा पछिल्लो समय फिल्म तथा डकुमेन्ट्री निर्माणको संस्कृति विकास भएको छ। यसमा युवापुस्ताको सहभागिता उल्लेखनीय छ। 

यो पटक झन् सबै दर्शकले घरमा बसीबसी देश विदेशका उत्कृष्ट फिल्म हेर्न सक्नेछन्। दुई सयभन्दा बढी फिल्मबाट छनोट भएका ३० फिल्म महोत्सवमा सहभागी छन्। महोत्सवको पहिलो दिन चार फिल्म र दोस्रो दिन नौ वटा फिल्म अनलाइनमार्फत प्रदर्शन गरिएको छ। घरमै बसेर फिल्म हेर्न पाइने हुँदा यसपटकको महोत्सवले नयाँ दर्शक बढाउने विश्वास रहेको लिम्बूले जानकारी दिइन्। 

सम्बन्धमा संकुल ‘कन्फ्युजन’
शुक्रबार नेपाली पानोरमातर्फ संकुल सर्ट फिल्म पनि प्रदर्शन भयो। संकुलमा एक नवविवाहित बेहुलीको कथा कलात्मक तरिकाले प्रस्तुत गरिएको छ। बिहेको दिन घरमा भित्रिएकी एक युवती लोग्नेले बेवास्तापूर्वक गरेको संवादले व्याकुल छे। उसले अपनत्वको आशा गर्छे,मीठामीठा गफ र स्पर्शको रहर गर्छे। उसको नन्दको सहयोग र मायाले उसलाई नन्दतर्फ नै आकर्षित गराउँछ। यही कन्फ्युजनमा फिल्म सकिएको छ। 

फिल्म पारखी र अनुसन्धानकर्तालाई किम्फ महोत्सव एक अवसर हो। कोभिड—१९ को सुरुआतसँगै बन्द भएका हल खुलाउने निर्णय सरकारले अहिलेसम्म गरेको छैन। फिल्महल बन्द हुँदा दर्शक नयाँ फिल्मको पर्खाइमा व्याकुल छन्। यस्तो बेलामा महोत्सवलाई नयाँ फिल्म हेर्ने अवसरको रूपमा लिन सकिन्छ। विशेषत हिमाल, पहाडका जनजीवन, सामाजिक कथा, प्राकृतिक तथा नयाँ शैलीका फिल्मले कार्यक्रममा स्थान पाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.