टेलर स्विफ्टको नयाँ एल्बम
न्युयोर्क : चर्चित अमेरिकी पप गायिका टेलर स्विफ्टले नयाँ एल्बम ‘एभरमोर’ सार्वजनिक गरेकी छन्। संख्याको हिसाबमा यो उनको नवौं एल्बम हो।
केही महिनाअघि मात्र उनले ‘फोकलोर’ नामक एल्बम सार्वजनिक गरेकी थिइन्। लकडाउनको समयमा रेकर्ड गरिएको ‘फोकलोर’ एल्बम ग्रामी अवार्डमा समेत मनोनीत भएको थियो।
‘एभरमोर’ मा १७ वटा नयाँ गीत समावेश छन्। यी गीत उनको अघिल्लो एल्बम ‘फोकलोर’सँग मेल खाने खालका भएकाले उनले नयाँ एल्बमलाई ‘फोकलोर’ को ‘सिस्टर’ भनेकी छन्।
ट्विटरमा उनले अगाडि भनेकी छन्, ‘पहिला एउटा एल्बम सार्वजनिक गरेपछि म अर्को नयाँ एल्बममा काम गर्न सुरु गर्थे। तर फोकलोर रिलिज गरेपछि मलाई नयाँ काम सुरु गर्न मन लागेन। बरु त्यसैमा अझै काम गर्न मन लाग्यो।’
फोकलोरमा जस्तै टेलर नयाँ एल्बम ‘एभरमोर’ मा पनि इन्डी कलाकारसँग टेलरले काम गरेकी छन्। एक्कासि यो नयाँ एल्बम सार्वजनिक गरेका कारण उनका फ्यानहरूका लागि ‘सरप्राइज’ भएको छ।