आरजेको डायरी
आफू संसारको पहिलो अपवाद लाग्छ। संसारका छोराले आमालाई घरबाट निकाल्छन्। म आमाले घर निकाला गरेको पहिलो छोरा।
धुलिखेल बजारलाई कुहिरोले छोपेको छ। ब्ल्याक कफी पिउँदै छु। कमाउन नसक्ने छोराको कोही आफ्ना नहुने रहेछ। घरबाट निस्केर जा भन्ने मुटु चुँडिने वचनले कानका पर्दा च्यातिएलाजस्तो हुन्थ्यो। चैत्र महिनाको साल फुलेको समय। २०६२ चैत्र ७ गते। महलजस्तो घर छोडेर आएको पनि १२ वर्ष बितिसकेको थियो।
दाजुको कूटनीति, आमाले दिनदिनै गर्ने दाइको प्रशंसा सम्झन्छु। आमा, दाइका हरेक सफलतामा दही–अण्डाको सगुन दिनुहुन्थ्यो। तर, मेरा कुनै पनि सफलतामा केही प्रशंसा हुँदैनथ्यो। प्रत्येक वर्ष कक्षामा प्रथम हुँदा दौडेर घर पुगी दैलोबाट आमा... भन्दै हर्षविभोर भावमा बोलाउँदै आमाको चरण ढोगेर हातमा सर्टिफिकेट थमाइदिन्थें। आफ्नो सफलता देखाउँथें र मनमनै भन्थें, “आमा मलाई पनि दही, फूल र रातो टीका लगाइदिएर सगुन दिनुस् न !”
पहिलो हप्ता
२७ जेठ, १ गते मंगलबार
फेसबुक स्टाटसमा लेखें– आमाले एक दिन भनेकी थिइन्– कर्म त मेरो झ्यालमा बस्ने, भाग्यले दिएन। तर भाग्यले साथ दिएको छ। सबै विगत र वर्तमानका आदर्श त्यागेर क्यानाडाको दासत्व स्वीकारेको छु। मेरो पीआर स्वीकार भएको छ !
(बिहान) ऊ – हाई, प्लिज मेरो रिक्वेस्ट आक्सेप्ट गरिस्यो न।
म – हस।
(दिउँसो) देशका विभिन्न ब्रोडसिट पेपरमा प्रकाशित मेरा कविताका तीनचार स्क्रिन सट् मेसेज बक्समा आए।
ऊ – थ्यांक्स डियर। आई एम अ ग्रेट फ्यान अब योर भ्वाइस।
म – ओहो रेअल्ली ?
ऊ – हजुरका गजल एन्ड पोएम्ज माई फेब्रेट !
म – थ्यांक यु सो मच।
(साँझ) ऊ – सो सरी। अघि मामुले बोलाइसेर जानुप¥यो। मिस यु।
म – ...
ऊ – हे डियर, आर यु देअर ?
उसको मेसेज आएको बेला कोठामा बन्द थिएँ। मस्तिष्क निकै बोझिल, अनेक तर्कना गरिरहेको थियो मन। घरबाट निस्केर यहाँ कैद थिएँ। घरलाई निकै मिस गरिरहेको थिएँ। आमाको सम्झनाले आँखा र छाती भत्भती पोलिरहेको थियो। उसले एकोहोरो मेसेज पठाइरही। म भने चुपचाप आफ्नै आँखाको तालबाट झरिरहेको थिएँ।
३० टेकेको एक रात केकसहित ऊ मेरो कोठामा उपस्थित भई। मैले लाख कोसिस गरें, सम्झाएँ, बुझाएँ। तर उसको जिद्दीअघि म हारें। आलिंगन र प्रेमले काटेको रातपछि ऊ जादुगरको हातबाट सिक्का हराएजस्तै एकाएक गायब भई।
मेरो बाल्यावस्था– सबेरै उठेर घर बढार्नु, पानी ल्याउनु। घर फर्केर खाना पकाउनु र स्कुल जानु। बेलुकीको खाना भाँडाबर्तन धुनु....! न जस, न त स्नेहका दुई वचन। आमाको आशीर्वाद र प्रेरणाका दुई शब्द र, अँगालोको न्यानो पाउने आशामा आमाको आँखामा पुलुक्क हेर्थें। केही नबोली आँखाको भाकाले बोल्थें, ‘आमा, आशीर्वाद दिनुस् न।’ सोच्थें, बाबा हुनुभएको भए...! म निराश कोठामा छिर्न खोज्दा आमा उर्दी दिनुहुन्थ्यो, ‘दाइलाई नसुनाएस् !’
(भोलि बिहान सबेरै) सोच्दासोच्दै निदाएछु। आँखा खुल्दा समय पाँच बजेतिर हिँडिरहेको थियो। त्यति नै बेला टेबलमाथि सुतिरहेको मोबाइल मुस्कुराउँछ। स्टेसन म्यानेजरको फोन रहेछ। छोटो कुराकानी टुंग्याएँ। चिया पकाउँछु। बाह्रपन्ध्र मेसेज लामबद्ध रहेछन्। उसको मेसिज–
ऊ – गुड मर्निङ
म – शुभप्रभात।
ऊ – के छ ?
म – सबै !!
ऊ – हा हा हा !
म बसेको सहरबाट रेडियो ३२ किलोमिटर पर छ। मिटिङ नयाँ आरजे थप्ने र समाचारलाई चुस्त र रेडियोको टीआरपी बढाउन कार्यक्रम प्रस्तोताले आफ्नो क्षमता र सीप अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै मिटिङ सकिन्छ। बीच सहर र वरिपरि गाउँमा अवस्थित रेडियोका श्रोता हजारौं थिए। कवि, कलाकार एवं गायक संगीतकारहरू आफ्नो प्रमोसनका लागि अनुरोध गर्थे। अन्तर्वार्ताका लागि आउँथे। गम्भीर श्रोता रेडियो सुन्छन्। इन्फोटेन्मन्ट कार्यक्रमबाट श्रोताको माया र प्रोत्साहन प्राप्त गरिरहेको छु। रातको ११ बजेसम्म कार्यक्रम चलाउँथें। सम्झन्छु, बुबा स्वर्ग बसाइँ सरेपछि मेरो जीवनका दुर्दिन। एक रातको निद्राका खातिर म दिनदिनै भित्रबाट गलिरहेको हुन्थें।
दोस्रो हप्ता
२०७२ वैशाख १२ को विनाशकारी भूकम्प र परकम्पको त्रास हरेक जनमा थियो। म सत्यकेतु विद्यालंकारको चाणक्य पढिरहेको थिएँ। मोबाइलले मेसेन्जरले टिङ... बजायो !
ऊ – हाई ! के छ ?
म बोलूँ कि नबोलूँको दोधारमा थिएँ। त्यही बेला मोबाइलमा अपरिचित नम्बरबाट मेसिज् आयो– हेल्लो म हो के ! मेसेन्जरमा आइस्यो न प्लिज।
म – हेल्लो
ऊ – के छ खबर ?
म – उम्, भूकम्पको त्रास !
ऊ – धेरै मिस गरेको छु।
म – हो र ?
ऊ – धेरै याद आउँछ हजुरसित बिताएका दिनको !
म – मतलब ?!
ऊ – हजुरले मलाई साँच्चिकै नचिनिसेको हो ?
म – म ढोङ गर्दिनँ।
मोबाइलको स्विच अफ गरें। आँखा बेस्सरी चिम्लें, भक्कानिएँ। भाद्र महिना, बुबा बितेको वर्ष। पानी झमझम परिरहेको थियो। सम्भेंm, मैले साहसिक निर्णय गरेको रात ! बुबाको कोठाभित्र छिरें। खोतलखातल गरें। एउटा सेतो कागजमा केही लेखिएको थियो। लिएर बाहिर निस्कें। मेडिकलमा छिरें। निद्राको औषधि किनें। घर पुगेर कोठा थुनें। ट्याब्लेट एकएक गरी खोलेर गिलासमा हालें। बुबाको कोठामा छिरें। भित्तामा वर्षौंदेखि एक्लै झुन्डिइरहनुभएका बुबाको अनुहारमा हेरें। देखें, बुबाको एक्लोपन। बिस्तारै बुबाको अनुहारमा मेरो अनुहार थपियो। चोटामा गएँ। आमा धागो कात्दै हुनुहुन्थ्यो। साहस गरेर काखमा पल्टें। हिक्क हिक्क गरिरहेको मलाई आमाले पुलुक्क हेर्नुभयो। केही बोल्नुभएन। आमाको चरण स्पर्श गरें। तल आफ्नो कोठामा छिरें। पल्टें। आत्महत्या प्रयास सफल भएन। मरिनँ !
तेस्रो हप्ताको तेस्रो दिन–मध्याह्न
ऊ – हेलो लन्च भो ?
म – हामी यो बेला खाजा खान्छौं।
ऊ – मलाई थाहा छ।
(साँझ) ऊ – जीएफ छ ?
म – धेरै छन्।
ऊ – हँसाइसिन्छ हजुर पनि।
म – हो र ?
ऊ – आई लभ इट। धेरै पढ्नुहुन्छ... ?
म – छैन।
ऊ – के छैन ?
म – पढेको ?
ऊ – नपढेको मान्छेले यस्तो लेख्न सक्छन् त ? आई नो एभ्रिथिङ अबाउट् यु एन्ड युअर लाइफ।
म – मैले अहिलेसम्म पढेर होइन लेखेर मात्र परीक्षा पास गरेको हुँ।
‘आई नो एभ्रिथिङ अबाउट यु !?’ को हो यिनी आखिर ?
केही समय अन्तरालपछि
ऊ – हाई।
म – हेलो।
ऊ – एउटा कुरा भनिस्यो है ? इमानदारीपूर्वक।
म – सोध्नुस् न।
ऊ – जीएफ छ ?
म – उत्तर के दिऊँ ? थिइन्।
केही समय अन्तरालपछि
ऊ – होप यु आर फाइन्।
म – एस, आइम् !
ऊ – लास्ट्ली आन्सर माई क्वेस्चन अनेस्ट्ली, विल यु ? जीएफ छ ?
म – कतिपटक भन्नु !? डिसगस्टिङ !
ऊ – ओके, म एउटा कुरा सजेस्ट गर्छु है ? हजुरलाई अरूले जीएफ छ भनी सोधे छ भनिस्यो ल ?
म – लौ ! इट्स् नट सो फन्नी !
ऊ – अब हामी चाँडै भेट्ने। वी नो इच अदर भेरी वेल। फेरि मलाई त लाग्छ वी आर मेड फर इच अदर।
म – भेट्ने ? वाट् अ जोक !
ऊ – भेट्ने अनि पहिलेजस्तै रोमान्स पनि। मिसिङ् यर फ्रेन्चवाला किस। अनि सेल्फी हानेर एफबीमा हाल्ने, हुन्न त ? साँच्चि, क्यानाडा कहिले उडिसिन्छ ?
लामो समय मौनता !
ऊ – अनुमान, हजुरले मलाई चिनिसेन ? म हजुरकी... !! हजुरलाई याद छ हाम्रो पहिलो भेट ?
म – ...म चिन्दिनँ तपाईंलाई।
ऊ – अनुमान प्लिज। आइम् सो सरी। म विवश थिएँ। बाबामामुले हाम्रो रिलेसनलाई स्विकारिसेन। म कति रात रोएँ कराएँ।
म – ओह माई गड ! विल यु प्लिज टेल मी युअर रियल नेम ? कस्तो फिल्मी कुरा !
ऊ – अनुमान, बाबा र मामु हजुर र मेरो बिहे गराउन मानिसेको छ।
फ्लास ब्याक
‘हेलो पलपलको साथी हरदिलको ढुकढुकी...। आईम युअर स्विट एन्ड हट लिस्नर प्रियदर्सिनी। आइम अ ग्रेट फ्यान अफ योर मेलोडिअस भ्वाइस। यु आर माइ ड्रिम बोइ। आजको यस रात्रिकालीन कार्यक्रम ‘अन्तिम सन्देश’ मार्फत म हजुरलाई आई लभ यु सो भेरी मच भन्न चाहन्छु। यु आर माई लाइफ, माई अल्टिमेट च्वाइस भन्दै अब बज्ने गीत केवल हजुरका लागि भन्दै बिदा हुन्छु, गुड नाइट भन्नुहुन्छ... बाट प्रियदर्सिनी अधिकारी। उहाँको यो मीठो सन्देशसँगै हाम्रो टेलिफोन लाइनमा कोही श्रोता हुनुहुन्छ...।’
म – हेलो ! को बोल्दै ?
ऊ – हाई ! म हजुरकी प्रेयसी।
म – हेहे, प्रेयसीको नाम !
ऊ – लौ हजुरलाई आफ्नी प्रेयसीको नाम पनि थाहा छैन ?
म – तपाईंले भनेपछि अवश्य थाहा हुन्छ।
ऊ – म हजुरकी सुपर से उपर फ्यान, प्रियदर्सिनी।
म – ओहो ! के गर्नुहुन्छ ?
ऊ – हजुरलाई माया गर्ने। हजुरको बारेमा सोच्ने। हजुरको
सबै प्रोग्राम रेकर्ड गरिराख्ने।
म – ओहो ! खुसीको कुरा ! तपाईंको एज ?
ऊ – मलाई थाहा छ हजुर अठार वर्षमुनिका कसैसित कुरा गरिसिन्न। पढ्ने र करिअर बनाउने उमेर भनिसिन्छ। आइम ट्वेन्टी नाउ।
ब्याचलर फस्ट इयर।
म – यहाँको अन्तिम सन्देश ?
ऊ – लभ यु, कम इनमा ड्रिम्ज् भन्दै छुटिन्छु गुड नाइट।
प्रियदर्सिनी मेरी प्रिया, मेरी मुटु थिई। उसले जात चिना केही खोजिन। मेरो विगत र वर्तमानको पनि ख्याल थिएन उसलाई। हरेक राति मेरा कार्यक्रम सुन्थी। भन्थी– डियर अनुमान यु आर बर्न फर रेडियो। यु आर द बेस्ट अफ द रेस्ट। ऊ भन्थी, ‘हजुर नै मेरो प्रिय आवाज हो।’
उसको समर्पण र प्रेमअघि नतमस्तक थिएँ। उसको र मेरो धड्कन र सपना एउटै। नघुमेका, नपुगेका कुनै ठाउँ रहेनन्। उसको रूप र सौन्दर्य अद्वितीय थियो। पढाइमा त्यत्तिकै तेज। उसको शील, स्वभावमा भुतुक्क हुन्थें। हामी फुलटाइम प्रेमी। डरबाट टाढा र चिन्तादेखि मुक्त !
३० टेकेको एक रात केकसहित ऊ मेरो कोठामा उपस्थित भई। मैले लाख कोसिस गरें, सम्झाएँ, बुझाएँ। तर उसको जिद्दीअघि म हारें। आलिंगन र प्रेमले काटेको रातपछि ऊ जादुगरको हातबाट सिक्का हराएजस्तै एकाएक गायब भई। ऊ हराएको ठीक तीन महिनापछि उसैकी कान्छी बहिनीले ठमाएको हाते पत्र, जसमा लेखिएको थियो, ‘मैले सबै बिर्सिसकें। तपाईंलाई पनि। तपाईंको र मेरो केही पनि मिल्दैन। न जात, न त उमेर। न धन, न त रूप। बुझ्नुभयो होला।’
प्रियदर्सिनी अधिकारी आज, म अवाक् छु। म क्यानाडा उड्न लागेको खबर उसलाई कसले सुनायो ?