युद्धको बेला 'लुटिएको' लालपुर्जा १८ वर्षपछि बल्ल !
सन्धिखर्क : १८ वर्षपछि लालपुर्जा पाँउदा अर्घाखाँचीको छत्रदेव गाउँपालिका वार्ड नं. २ बल्कोट र ४ केरुंगाका स्थानीयहरु हर्षित भएका छन् ।
सशस्त्र द्धन्द्धको समयमा २०५९ सालमा नेकपा माओवादीले सदरमुकाम आक्रमण गर्दा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्सा विहीन बनेको थियो । देश शान्ति प्रक्रियामा गइसकेपछि विशेष नापी कार्यलयको टोलीले पुन नाप नक्सा गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो ।
जलेर नष्ट भएका लालपुर्जा १८ वर्षपछि पाउँदा स्थानीयहरु अत्यन्तै खुसी बनेका हुन् । विशेष नापी कार्यालय अर्घाखाँचीले छत्रदेव गाउँपालिकाको वार्ड नं २ बल्कोटमा ६ सय ५० घरधुरी र वडा नम्वर ४ केरुंगाका एक हजार एक सय ८६ जग्गा धनी दर्ता प्रमाणपुर्जा बितरण गर्न सुरु गरेको छ ।
लालपुर्जा लिन सहभागी भएका ७० वर्षीय हरिप्रसाद खनालले भने “जग्गा भएर पनि नभए जस्तै भएको थियो । आज लालपुर्जा पाउँदा खुसी भएका छौँ । लालपुर्जा नहुदा बैंकमा जग्गा धीतो राखेर ऋण प्राप्त गर्न पनि सकेका थिएनौँ । ” ।
बल्कोटमा भएको कार्यक्रममा लालपुर्जा वितरण गर्दै पूर्वउपप्रधान मन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझीले पहिले आफ्नै नेतृतवमा जलाएका नक्सा फेरि आफैँले बाँड्न पाउँदा खुसी लागेको बताए । उनले भने, 'देशमा क्रान्ति गर्न र गणतन्त्रको स्थापनाको लागि लडिएको युद्धमा लालपुर्जा पनि जलेको र अहिले पुन नापी गरेर सबैलाई बुझाउन पाउँदा खुसी लागेको' प्रतिक्रिया दिए ।
नेपाली कांग्रेसकी नेत्री तथा संसदीय दलका सचेतक पुष्पा भुसालले जग्गा भएर पनि प्रमाण नभएकाहरुले लालपुर्जा पाउनु खुसीको कुरा भएको बताइन् । लालपुर्जा घरमा बाकसमा नराखेर बैंक तथा वित्तिय सँस्थामा राखेर स्वरोजगार बन्नुपर्ने उनको सुझाव थियो ।
कृषिमा केही काम गर्न र आफ्ना बालबालिका पढाउन पनि जग्गाधनी लालपुर्जा बैंकमा राखेर पढाउन पाइने भएकाले यस कामबाट खुसी लागेको उनले बताइन् ।
द्धन्द्धको समयमा नक्साबिहीन भएको अर्घाखाँची जिल्लाका ३१ वडामा जग्गाधनी प्रमाण पुर्जा बितरण गर्न सुरु गरिएको विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख नापी अधिकृत खिम रानाले बताए । उनले डिजीटल प्रविधिबाट निर्माण गरिएको लालपुर्जा जिल्लाका सबै वडामा निर्माण गरिने जानकारी दिए ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का, लुम्बिनी प्रदेशका सांसद चेतनारायण आचार्य, निर्मला क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, छबदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेल लगायतले मन्तव्य राखेका थिए ।