नेपाल कृषि प्रधान देश हो र !
हाम्रा घर–आँगनमा वषिादि र रसायन प्रयोग नगरी फल त के फूल पनि फुल्न छाडिसके
तरकारी बजारमा हरियो खुसार्नी किन्ने क्रममा त्यसको ताजापनबारे प्रश्न गर्दा पसलेको जबाफ थियो, ‘ताजा छ त कसरी भन्नु इन्डियाबाट आएको हो, बोर्डर पार गरेर आइपुग्दा नै दुई दिन त लागिहाल्छ....।’ त्यो सुनेर मुठीभरिका खुसार्नीले मेरो हातमा होइन, मनमा नराम्ररी पोलेको अनुभव भयो। किनभने सानो कक्षामा पढ्दा घोकेको वाक्य कण्ठै थियो, ‘नेपाल कृषिप्रधान देश हो।’ यति मात्र कहाँ हो र ? आँखावरिपरि गाउँका घर अनि दैलामुनि लगाएका खुर्सानीका बोटहरूमा बाह्रैमास खुर्सानी फलेका, गाउँमा प्रायः सबैका आँगन तथा करेसाबारीमा त्यसरी नै लटरम्म फलेका हरिया खुर्सानीको दृश्य घुमिरह्यो तर यहाँका व्यापारी भन्छन्, ‘अचेल हामीकहाँ खुर्सानी फल्दैन, बाहिरबाट ल्याउनुपर्छ त्यसैले मूल्य पनि बढी नै छ।’ कस्तो अचम्म ! छिमेकमा फल्ने तर हामीकहाँ नफल्ने कस्तो खुसार्नी रहेछ ! मलाई त्यो खुर्सानीको स्वाद चाख्न निकै हतार भएको थियो। त्यसैले घरमा लगेर धोइपखाली गरेर त्यसलाई करक्क टोकें तर आश्चर्य ! त्यो त उस्तै ज्यानमारा पिरो पो रहेछ जस्तो विगतमा मेरै करेसाबारीमा फलेको खुर्सानी हुन्थ्यो। मैले सोचेजस्तो फरक वा अलौकिक स्वादको रहेनछ तैपनि किन यो अहिले हामीकहाँ नफलेर विदेशतिर मात्र फल्दोरहेछ खै ? मलाई कुरीकुरी लाग्न थाल्यो कृषिप्रधान आफ्नो देशप्रति।
यसैगरी, कोरोनाको महामारी त्यसैमा पनि चिसो बढिरहेको हुनाले च्यावनप्रास सेवन गर्नु उपयुक्त हुने देखेर आफूले सर्वाधिक विश्वास गरेको सिंहदरबार वैद्यखानाको च्यावनप्रास खोज्दा कतै नपाएपछि वैद्यखाना नै पुगें। त्यहाँ पनि ‘दुई वर्षदेखि हामीकहाँ च्यावनप्रास नै बनेको छैन, अमला नै आएको छैन’ भन्ने जबाफ पाएर गेटबाटै फर्किनुपर्दा म आफ्नो गाउँ, आफ्नो टोल ‘अमलाबारी’ लाई झलझली सम्झें। आफ्नो आँगनमा भएको बडाबडा दाना फल्ने अमलाको त्यो बोट ! प्रायः सबैका दैला वा बारीका काँल्ला–काँल्लामा भएका अमलाका बोटहरूमा लटरम्म फलेर त्यसै खेर गइरहने अमला ! कहाँ गएछन् अचेल ती अमला ? साँच्चै ! पुनः कुरीकुरी लाग्यो अमलाबारीको आफ्नै अतीतप्रति। मेरो गाउँघर मात्र कहाँ हो र ? पहाड–तराई सबैतिर पाइने अमलाका बोट आफैं उम्रने, फल्ने अनि सामान्य घरेलु प्रयोगबाहेक त्यसै खेर गइरहन्थे तर अहिले देशको सरकारी कम्पनीले दुई वर्षदेखि अमला नै नपाएर आफ्नो उत्पादनलाई निरन्तरता दिन सकेको छैन रे ! हरेक औषधिपसलमा विदेशी कम्पनीका च्यावनप्रास टनाटन छन् अनि उपभोक्ताका घरघरै पनि तिनै छन् डाबर, झन्डु, पतञ्जली, वैद्यनाथ आदि आदि। धन्य कृषिप्रधान देश नेपाल ! मनमनै प्रश्न गर्छु– हाम्रा शिक्षक वर्ग अहिले पनि विद्यालयका ससाना नानीहरूलाई त्यसरी नै घोकाउँदा हुन् कि ‘नेपाल कृषिप्रधान देश हो’ भन्दै ?
नेपाल कृषिप्रधान देश हो भन्ने वाक्यले मलाई त्यतिबेला पनि खुब गिज्याएको थियो, जतिबेला म करेसाबारीमा लगाउन तरकारीका बिउवीजन लिन कृषि अनुसन्धान केन्द्र खुमालटार पुग्दा त्यहाँ केही नपाएर रित्तौ फर्कनुपरेको थियो।
यस्तै प्रश्न मनभरि लिएर हाम्रो कृषि तथा सहकारी मन्त्रालयलाई सम्झँदै पुगें साझा प्रकाशनको बिक्री कक्षतिर। आफूलाई आवश्यक पर्ने त्यस प्रकाशनका कृतिहरू खोज्दै र सोध्दै निकै समय खर्चे पनि केही हात लागेन केवल ‘छैन’ बाहेक। हुन पनि हो, साझामा अब केही पनि छैन, केही नगण्य कृतिहरूबाहेक ! जे थियो त्यो त प्रजातन्त्र पुनस्र्थापनापछि दलीय आधारमा हुने नेतृत्व चयन, सोहीअनुरूपको व्यवस्थापन, दलगत तथा व्यक्तिगत स्वार्थका कारण धराशायी हुँदै अब फेरि उठ्न नसक्ने गरी ढल्ने अवस्थामा छ किनभने यो पनि त नेपाल सरकारको सहकारी मन्त्रालयअन्तर्गत पर्छ नि !
कृषिप्रधान देशको विगत सम्झन नभ्याउँदै वर्तमानमा म पुनः दुख्न पुग्छु हाम्रा कृषकहरूले तन–मन–धन लगाएर गरेको खेतीपातीमा अनेक रोग तथा समस्या आएर उनीहरूले सो पेसा नै त्याग्नुपर्ने बाध्यात्मक अवस्था देख्दा। हालै सुन्तला खेतीमा लागैको रोग हाम्रो कृषिको दुर्भाग्यको एउटा उदाहरण मात्र हो किनभने अचेल हाम्रो माटोमा फलभन्दा बढ्ता रोग फल्ने गर्छ। नकारात्मक असरबारे नबुझीकन बढी उत्पादनको प्रलोभनमा हामीले नै प्रयोग गरेको रासायनिक मल तथा वषिादिका कारण माटोको प्राकृतिक गुण नष्ट भइसकेको छ। अझै पनि हामी भ्रममा नै छौं र त वषिादि रोपेर सोही टिप्दै आफैंले भान्सामा मन्द वषि पकाइरहेका छौं। यस्तो भ्रम निवारण तथा सही अर्थको कृषि प्रणाली पुनस्र्थापनाको दायित्व कसको हो ? हुनुपर्ने त सरकारको हो तर अहिलेको हाम्रो कृषिको अवस्था तथा कृषकहरूको सास्ती देख्दा पुनः अन्य प्रश्न पनि उब्जाएको छ– के गरेर बसिरहेका छन् हाम्रो कृषि मन्त्रालय तथा त्यसअन्तर्गतका निकाय ? सरकारको कृषि नीति कहाँ अल्झिरहेको छ ? उसले बर्सेनि कृषि क्षेत्रमा गरेको लगानी कहाँ जान्छ ? दाल–चामलको त कुरै छाडौं, हरियो सागसम्म विदेशबाट आयात गर्नुपर्ने हाम्रो दैनिकी मात्र होइन, चाडबाड आयो कि करोडौं रकमका फूलसमेत बाहिरबाटै भित्र्याइने यथार्थले यिनै प्रश्नलाई पुष्टि गर्दैन र ?
नेपाल कृषिप्रधान देश हो भन्ने वाक्य घोक्दै आएकी म घोर आश्चर्यमा पर्ने गर्दछु। किनकि अहिले हाम्रा बालबालिकाले धान–गहुँको बोट कस्तो हुन्छ भनेर सोध्छन्। कोदाको बोट देख्नु त परै जाओस्, धानका बाला जस्तै कोदोको कपनी भनेको सुन्दा हाँस्छन्। अझै रोचक कुरा त यो छ कि अचेल हुनेखानेहरू कोदोको ढिँडो खान तारेहोटलमा जाने गर्छन्। यति मूल्यवान् कोदो–फापरको खेती हराउँदै गएको किन ? यति मात्र होइन, पहाडी भेगमा प्रशस्त फल्ने गहत–बोडी, हिमाली क्षेत्रका सिमी राजधानी आइपुग्दा त्यसको मूल्य सर्वसाधारणको क्रय–क्षमताभन्दा बाहिर पुग्ने गर्छ। यस्तै किसान आफ्नो उत्पादनले उचित मूल्य तथा बजार नपाएर लगानी डुब्यो भन्दै रोइरहेका देखिन्छन्। कसैले स्याउका बोट उखाल्दै गरेका त कसैले चिया बगान नष्ट गर्दै गरेका, कसैले बाटोमा दूध पोख्दै गरेका दृश्य सामाजिक सञ्जालमा देखिन्छन् तर त्यही स्याउ र चिया, दूध आम उपभोक्ताले भने चर्को मूल्यमा किन्नु परिरहेछ ! हाम्रा बजार–पसलहरू स्वदेशीभन्दा विदेशी सामानले नै
सजिने गरेका छन्। मुस्ताङ र जुम्लाको मगमग बास्ना आउने स्याउले मूल्य नपाएको समाचार सुन्दै हामी चिनियाँ तथा भारतीय ब्रान्डका कमसल गुणस्तरीय स्याउ किनेर खान बाध्य छौं आखिर किन ? गोरखा–मनकामनाका बडे–बडे सुन्तला घट्दै गएर अचेल मुन्तलाजत्रा भएका छन् किन ? हाम्रो कृषि–अध्ययन संस्थान तथा बागवानी अनुसन्धान केन्द्रसँग यसको जबाफ छ ?
सवाल–जबाफकै क्रममा आज हरेक स्कुले बालबालिकासँग ‘तिमी भवषि्यमा के बन्छौ ?’ भनी प्रश्न गर्ने हो भने तयारी जबाफ आउने गर्छ, ‘डाक्टर बन्छु।’ त्यसपछिको दोस्रो रोजाइ हुन्छ इन्जिनियर, पाइलट, उद्योग–व्यवसायी, व्यापारी आदि। तर कसैले भन्दैन ‘म कृषक बन्छु’ भनेर। यसको कारण खोज्दै जाँदा म पुनः आफ्नै विगतमा पुग्छु। विद्यालयमा बाबुको पेसा लेख्नुपर्दा बेरोजगार तथा आयस्रोत नदेखिनेहरूको एउटै उत्तर हुन्थ्यो ‘कृषि’। लगभग तीन दशक पुग्न लाग्दा पनि कृषिप्रतिको आम धारणामा खासै परिवर्तन आउन नसक्नुले हालको बहुमतको वाम सरकार तथा तिनले बाँडेका कृषि क्रान्तिका सपनाहरूलाई गिज्याइरहे झैं लाग्छ। किनभने दसबर्से द्वन्द्वकालदेखि रित्तिएका गाउँघर अनि तीतेपाती र सिस्नो उम्रेका पाखा–बारी उस्ताको उस्तै छन्।
शिक्षा र रोजगारका लागि विदेश मात्र होइन, सहर झरेकाहरूसमेत गाउँ फर्कन चाहँदैनन्। कुनै युवा कृषिविशेषज्ञ बनेर आफ्नो गाउँ फर्कन चाहँदैन किन ?
अझै मर्मस्पर्शी यथार्थ त कोरोना महामारीबाट जोगिन छिमेकी मुलुकबाट स्वदेश फर्केका हाम्रा युवा बेरोजगारका कारण परिवार पाल्न पुनः जोखिम मोल्दै उतै फर्केका छन्। उनीहरूको पसिनाले सिँचेर हाम्रै माटोमा सुन फलाउन सकिने भए पनि सरकारको कृषि नीतिले उनीहरूलाई आकर्षित गर्न सकेन। किनकि सरकार चलाउने हाम्रा नेताहरूको दृष्टिमा यो देशको राजनीतिजस्तै सबै कुरा आयातीत नै राम्रा लाग्छन् ! नेपाल कृषिप्रधान देश हो भन्ने वाक्यले मलाई त्यतिबेला पनि खुब गिज्याएको थियो, जतिबेला म करेसाबारीमा लगाउन तरकारीका बिउवीजन लिन कृषि अनुसन्धान केन्द्र खुमालटार पुग्दा त्यहाँ केही नपाएर रित्तै फर्कनुपरेको थियो। त्यहाँ रहेका भवनमा विभिन्न अनुसन्धान–विकास केन्द्र लेखिएका बोर्डहरू देख्दा मनमनै प्रश्न गरेथें, ‘आखिर केको अनुसन्धान र विकास हुन्छ यहाँ ? वषिादि र रसायन प्रयोग नगरी फल त के फूल पनि फुल्न छाडिसके हाम्रा घर–आँगनमा !
अहिले एउटा कुराले भने हाम्रो कृषिप्रधान देशको मान राखे झैं लागेको छ। त्यो हो– कौसी खेती। सामाजिक सञ्जालमा प्रायः देख्न पाइने सागपाती र तरकारीले भरिएका कौसी, भान्सा आदिले सहरमा घर हुनेलाई लोभ्याउला र नहुनेलाई चुक्याउला ! सरकारले पनि कौसी खेतीलाई प्रोत्साहन गर्ने भन्ने सुन्दा त नेपाल साँच्चै कृषिप्रधान होजस्तो लाग्न थालेको छ। के अब हाम्रो देशमा खेतीयोग्य जमिनको अभाव भएको हो त ? भनेर म भन्न सक्दिनँ ! त्यसैले गाउँघरका खेतबारी बाँझा भए पनि के भयो र ? सहरमा एउटा घर बनायो अनि कौसीमा खेती गरेर मख्ख पर्दै फोटो खिचायो ! आखिर, नेपाल कृषिप्रधान देश हो !