सहकारी खोज्दै सरकार

सहकारी खोज्दै सरकार

काठमाडौं : सरकारले सहकारीको वास्तविक तथ्यांक राख्न सकेको छैन । व्यवस्थित तथ्यांक नहुँदा सहकारीमा भद्रगोल देखिएको छ । देश संघीयतामा गएसँगै सहकारी स्थानीय तहअन्र्तगत नियमन हुँदै आएका छन् । तर, कुन स्थानीय तहमा कति सहकारी छन् भन्ने विषयमा सरकारलाई नै जानकारी  छैन । 

सहकारी विभागले आर्थिक २०७३/७४ को तथ्यांकलाई आधार मान्दै आएको छ । उक्त तथ्यांक अनुसार देशभर ३४ हजार ५ सय १२ वटा छन् । यो तथ्यांक समेत अपूरो छ । त्यसपश्चात कति सहकारी दर्ता भए र खारेज भए भन्ने विषयमा तथ्यांक राखिएको छैन । पछिल्लो तथ्यांक अनुसार ३४ हजार ८ सय ३७ सहकारी दर्ता भइ ७ खर्बको कारोबार गर्दै आएका छन् । सहकारीमा ६४ लाख नेपाली संलग्न रहेको र यसले ६८ हजार भन्दा बढीलाई रोजगारी दिएको छ । 

विभागका रजिष्ट्रार डा.टोकराज पाण्डेले देशभरीका सहकारीको तथ्यांक संकलन गरिरहेको बताए । ‘सहकारीको वास्तविक तथ्यांक के हो भन्ने अन्यौल छ, रजिष्ट्रार पाण्डेले भने,‘कोपोमिसमा तथ्यांक आउन नसकेपछि हरेक पालिकामा फोन गरेर तथ्यांक संकलन गर्दै छौं ।’ तथ्यांक संकलन अन्तिम चरणमा पुगेको र भेरिफाइ गरेर सार्वजनिक गरिने उनले बताए । सहकारीको लगानी र रोजगारी समेत स्पष्ट हुन सकेको छैन । 

सरकारले सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना सफ्टवेयरमा राख्ने भन्दै ठूलो धनराशी खर्च गरेको छ । ५ वर्षअघिदेखि कोपोमिस सफ्टवेयर सञ्चालनमा ल्याइएपनि सरकारले तथ्यांक राख्न सकेको छैन । डिभिजन सहकारी कार्यलय खारेज हुँदा ३४ हजार सहकारीको नाम दिइएपनि कोपोमिसमा तथ्यांक प्रविष्ट गर्ने, शुद्धता र पूर्णता दिन नसकेको विभागले स्वीकार गरेको छ । कोपोमिसमा सूचना आउन नसकेपछि विभागले म्यानुअलबाटै सहकारीको तथ्यांक खोज्न सुरु गरेको हो । 
सातै प्रदेशका सबै स्थानीय तहको तथ्यांक खोजिरहेको विभागले जनाएको छ । प्रारम्भीक तथ्यांक अनुसार केही स्थानीय तहमा एउटा पनि सहकारी नभएको पाइएको छ । 
कोपोमिस व्यवस्थित गर्न भन्दै तीनवटा भेण्डर परिवर्तन भइसकेका छन् । तर पनि अधिकांश सहकारीको तथ्यांक प्रविष्ट हुन सकेको छैन । विभागका कम्प्युटर इञ्जिनियर अमोद पुडासैनीका अनुसार सफटेक इन्फोसिज प्राली, इन्फो डेभलपर्स प्रालि र सफटेक फाउन्डेसन प्रालिले कोपोमिसमा काम गरिसकेका छन् । सुरुको कम्पनीले तीन वर्ष काम गरेपनि अरु कम्पनीले एकएक वर्ष मात्रै काम गर्ने सिष्टम भएकाले समस्या आएको उनको भनाइ छ । बहुवर्षे ठेक्का दिने विषयमा तयारी भइरहेको विभागले जनाएको छ । 

विभागले चालू आर्थिक वर्षमा प्रदेश १ र बाग्मती प्रदेशका सबै स्थानीय तहका सहकारीका तथ्यांक कोपोमिसमा राख्ने योजना बनाएको छ । त्यसका लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अर्को वर्ष अन्य ५ वटा प्रदेशका सहकारीको तथ्यांक कोपोमिसमा राखीसक्ने रजिष्ट्रार पाण्डेले बताए । ‘सहकारीका सम्पूर्ण विवरण आउनेगरी काम गर्दैछौं’ उनले भने,‘कोपोमिसमा कोही सहकारी नआइ सुखै छैन ।’

स्थानीय तहले कोपोमिसमा तथ्यांक राख्न थालेपछि सहकारीको वास्तविक समयको तथ्यांक आउने र नियमन गर्न सजिलो हुने विभागको बुझाइ छ । तर धेरै स्थानीय तहले अझैसम्म कोपोमिसको युजर नेम र पासवर्ड लगेका छैनन् । लगेका कतिपय तहले पनि तथ्यांक राख्न सुरु गरिनसकेको कम्प्युटर ईञ्जिनियर पुडासैनीले बताए । विभागले सहकारीलाई प्रविधिमा रुपान्तरण गर्ने योजना अघि सारेपनि तथ्यांक व्यवस्थापन गर्न नसक्दा कोपोमिस असफलतातर्फ उन्मुख भइसकेको जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.