'सत्ताका लागि एक भएको कम्युनिष्ट सरकार सीज भएर बालुवाटारमा थन्कियो'
हेटौंडा :नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा पनि वर्तमान सरकारले घुस खाएको दाबी गरेका छन् । हेटौंडामा सोमबार भएको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, 'सरकारले कोरोनामा पनि घुसा खान छाडेन, अरु कहाँ सुशासन छ ?’ कोरोना नियन्त्रणमा बिना सर्त कांग्रेसले सरकारलाई सहयोग गरेको उनको भनाइ छ ।
कन्चनपुरकी बालिका निर्मला पन्तको बलत्कार र हत्यामा सरकारवादीको संलग्नता रहेको देउवाको आरोप छ । 'शून्य सहनशिलताको पाठ सिकाउने कम्युनिष्ट सरकारको संलग्नता छैन भने अहिलेसम्म किन दोषि पक्राउ पर्दैन’, उनले आक्रोश पोखे ।
कम्युनिष्ट सर्बसत्तावादका कारण देशमा जनता रुन समेत पाउन अवस्था नरहेको उनको दाबी छ । एक दलीय र एकलौटी साशनले जनताको पढ्ने लेख्ने कुरा पनि बन्द गर्न खोजिरहेका देउवाको आरोप छ ।
कम्युनिष्ट सरकारका कारण राजा आउ देश बचाउ भन्नेहरु बढेको बताएका छन् । देउवाले राजावादीहरु बढ्नुमा कम्युनिष्ट सरकार जिम्मेवार रहेको दाबी गरे । प्रजातन्त्रको रक्षा र कम्युनिष्ट सर्बसत्ताबाद तोड्न कोरोनाको बीचमा पनि सडकमा उत्रनुपरेको देउवाको भनाइ छ ।
सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ताका लागि एक भएको कम्युनिष्ट सरकार सीज भएर बालुवाटारमा थन्किएको बताए । सभालाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना),नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले पनि सम्बोधन गरेका थिए ।
हेटौंडाको बुद्ध चोकमा भएको बिरोध सभाअघि सानो पोखरा चोक, बन बिज्ञान अध्ययन संस्थान चोक, चौकीटोल र राप्ती रोडबाट र्याली निस्किएको थियो । करिब डेढ घण्टा राजमार्ग अवरुद्ध गरेर भएको सभालाई सम्बोधन गर्न देउवा हेलिकोप्टरमार्फत आइतबार दिउँसो १ बजे हेटौंडा आइपुगेका थिए । हहेटौडामा कांग्रेसको विरोध र्याली। तस्बिर : कृष्ण सरु मगर।