देश संकटमा फसेको बेला सरकार बालुवाटारमा मुरली बजाएर सुतिरहेछ: पुष्पा भुसाल
सन्धिखर्क : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संसदीय दलकी सचेतक पुष्पा भुसालले वर्तमान कम्युनिस्ट नेतृत्वको सरकार भ्रष्टाचारको दलदलमा फसेको बताएकी छन् ।
युवाहरुलाई रोजगार दिने कुरातर्फ नलागेर कमीसनको खेलमा यो सरकार लागि रहेको उनको आरोप छ । देशमा प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र नै समाप्त पर्ने खेलमा यो सरकार लागेपछि कांग्रेस आन्दोलनमा उत्रनु परेको उनको भनाइ थियो ।
उनले जनताको बलीदानीबाट प्राप्त भएका उपलब्धीको रक्षा गर्न सरकार बिरुद्ध कांग्रेस सडकमा आएको पनि उनले बताइन् । नेपाली कांग्रेस अर्घाखाँचीले सन्धिखर्कमा गरेको बिरोध प्रदर्शनमा बोल्दै नेत्री भुसालले यस्तो बताएकी हुन् । यस क्रममा नेत्री भुसालले सरकारले गणतन्त्रमाथि नै अंकुश लगाउन खोजेको आरोप लगाइन् ।
'आज जनता मुल्यबृद्धि, महंगी र बेरोजगारीबाट आक्रान्त भएको छ । देश आर्थिक संकटमा फसेको बेला सरकार भने बालुवाटारमा बसेर मुरली बजाएर सुतिराखेको छ,' नेत्री भुसालले बताइन् । यस्तै भ्रष्टाचार, अनियमितता, बलात्कारका घटना पनि पछिल्लो समय बढिरहेको तर सरकार उदासिन बनेको उनको आरोप थियो ।
बिरोध सभामा नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, लुम्विनी प्रदेसका संसदीय दलका सचेतक निर्मला क्षेत्री, नेपाली कांग्रेसका पूर्वसभापति तथा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतले मन्तब्य राख्दै बर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको ठोकुवा गरेका थिए ।