किम्फमा ‘सिल्हुट्स’ उत्कृष्ट
काठमाडौं : इरानी फिल्म ‘सिल्हुट्स’ले इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १८औं अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट चलचित्र घोषित भएको छ।
मानिसलाई आफ्नो भाषा, संस्कृति र परिचय दिलाउने मातृभूमि औधी प्यारो हुन्छ। जब देशबाहिर गइन्छ, तब थाहा हुन्छ आफ्नो देशप्रति कति उच्च भाव, माया र आत्मीयता हुन्छ। आफ्नो देशमा जतिसुकै दुःख होस् सकभर कोही पनि राज्यविहीन भएर बस्न चाहन्न। यही देशप्रेमको भाव, विदेशमा शरणार्थी भएर जिउनु पर्दाको दुःख, अपमान र सास्तीलाई चलचित्र ‘सिल हाउटेड्स’ ले समेटेको छ। अफगानिस्तानमा चलेको हिंसा र अस्तव्यस्तताले इरानमा शरणार्थी जीवन बिताइरहेको एक परिवारको कथामा फिल्म अगाडि बढेको छ। पहिलो पुरस्कारसँगै फिल्मले दुई लाख नेपाली रुपैयाँ हात पारेको छ।
गत मंसिर २५ गतेदेखि सुरु भएको किम्फ महोत्सवमा १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसँगै फस्ट रनरअप भएको छ ‘दि विलभेड डटर’। त्यस्तै, एक लाख नगद पुरस्कारसँगै ‘बाटो’ फिल्मले सेकेन्ड रनरअपको उपाधि प्राप्त गरेको छ।
उता नेपाली पानोरमा तर्फ ‘सङ अफ क्लाउड’ डकुमेन्ट्रीले उत्कृष्ट नेपाली कथा फिल्मको उपाधिसँगै एक लाख नगद रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। यस्तै उत्कृष्ट डकुमेन्टीको उपाधि ‘द स्नो लियोपार्ड कलिङ’ ले प्राप्त गर्दै ७५ हजार नगद पाउन सफल भएको छ।
हरेक वर्ष सञ्चालन हुने किम्फ फिल्म फेस्टिभल यो पटक भर्चुअल रूपमा सम्पन्न भयो। यसपालि १५ देशका १८ फिल्म प्रतिस्पर्धामा थिए।