ज्ञानको क्षय समृद्धिको लय

ज्ञानको क्षय समृद्धिको लय

जसले शिक्षाको महत्व बुझेर ज्ञान आर्जनमा लगानी गर्‍यो उसले समृद्धि आर्जन गरेको छ


विद्या ददाति विनयं, विनयाद्याति पात्रताम्।

पात्रत्वादधनमानपोति, धनात्धर्मंततःसुखम्।।

हितोपदेशमा उल्लिखित यी सूक्तिको अर्थ हुन्छ, ‘विद्याले विनम्रता प्रदान गर्छ, विनम्रताले पात्रता प्रदान गर्छ (अर्थात् चरित्रवान् र लायकदार बनाउँछ), पात्रताले धन सिर्जना गर्छ र धनले सत्कर्ममार्फत खुसी र सन्तोष प्रदान गर्छ।’ सूक्तिमा भनिएको विद्या कुनै विषयमा प्राप्त गरिने ज्ञान हो, विषयको विशिष्टता वा दक्षता हो। सामान्यरूपमा सिक्नु र सिकाउनुलाई शिक्षा भन्न सकिन्छ। शिक्षा ज्ञान प्राप्त गर्ने तरिका हो, माध्यम हो। त्यसैले विद्याको मुहान शिक्षा हो। अर्थात् खुसी, सन्तोष, सत्कर्म, धन, सुचरित्र र विनम्रताको प्रमुख कारक शिक्षा हो। भौतिकवादी चिन्तन राख्नेले यी वाक्यमा विमति राख्न सक्छन् तर शिक्षाबिना मानव मुक्तिको कल्पना गर्न सकिने वैज्ञानिक आधारहरू छैनन्।

शिक्षालाई शत्रु ठान्ने पत्रुलाई रुचाउने विवश जनता पनि विश्वमा छन्। मुक्तिनाथ अधिकारीको हत्यालाई विद्वान् नेता डा. बाबुराम भट्टराईले क्रान्ति भनेका थिए। उनी प्रधानमन्त्रीको बने र उनको आन्दोलनको समापन भयो। मोरङका एकजना शिक्षक राजेन्द्र श्रेष्ठलाई क्रान्तिका नाममा फेरि बलि चढाइयो। शिक्षणजस्तो संसारकै सबभन्दा सम्मानित तर न्यून बेतनीय पेसामा संलग्न एउटा गरिब नागरिकको घाँटी रेटियो। नागरिकले वक्तव्य निकालेर आफ्नो कर्तव्य निर्वाह गरे। व्यक्ति हिंसा नगर्न अनुरोध गरियो। कसैले दोषीलाई कारबाही गर्नुपर्ने वक्तव्य निकाले। छापाले सम्पादकीय लेखे। इलेक्ट्रोनिक मिडियामा बौद्धिकहरूले आआफ्नै झीनामसिना तर्कहरू प्रस्तुत गरे। अर्को एकजनाको घाँटी नरेटिएसम्मका लागि मुद्दा यसै सेलायो। यो समान अधिकारयुक्त लोकतान्त्रिक नेपालको एउटा परिदृश्य हो।

कुनै देश विकसित वा अविकसित हुनुका कारण के हुन् ? पंक्तिकारको भनाइ अलिकति अपाच्य र अपमानजनक हुन सक्छ, तर नागरिक अविकसित भएको देश अविकसित हुन्छ। नागरिकलाई उसको क्षमताको पहिचान गराएर उसलाई विकसित बनाउने माध्यम विद्या हो। नागरिक विद्याद्वारा सुसूचित भएको देश अविकसित रहँदैन। विश्वको महाशक्ति राष्ट्र अमेरिकाको आर्थिक र सामरिक टक्कर पहिले कम्युनिस्ट राष्ट्र रूससँग थियो। अहिले त्यो कम्युनिस्ट राष्ट्र चीनसँग छ। अहिले चीनको भन्दा ठूला र खुँखार माओवादीहरू नेपालमा छन्। झन् नेपालमा त लेनिनवादी, किमवादी र मदुरोवादीको समेत उल्लेख्य उपस्थिति छ। अमेरिकाको आर्थिक प्रतिद्वन्द्वी नेपाल किन बन्न सकेन ? ३३ करोड जनसंख्या भएको अमेरिका १३३ करोड जनसंख्या भएको भारतभन्दा शक्तिशाली र धनी हुनुका कारण के हुन् ? भारतमा त झन् धर्मवादी, धर्मनिरपेक्षतावादी, माओवादी, लेनिनवादी, जातिवादी आदि अनेक खालका स्वयंघोषित लोककल्याणकारी दलहरू छन्। चीनले बेलायतभन्दा पहिले नै ठूलो जहाज बनाइसकेको थियो तर समुद्रमा राज गरेर बेलायतले विश्वमा साम्राज्य स्थापित गर्‍यो। कसरी ? यी प्रश्नका अनेक जबाफ होलान्, तर यी सबैसँग शिक्षा जोडिएको छ। जसले शिक्षाको महŒव बुझ्यो र ज्ञान आर्जनमा लगानी गर्‍यो, उसले समृद्धि आर्जन गर्‍यो। चीनको अहिलेको उन्नति र भारतको दुर्गतिसँग त्यहाँका शिक्षा प्रणालीको गहिरो साइनो छ। त्यसैले समाजको रूपान्तरण, उत्थान र सशक्तीकरणका लागि एउटा अनिवार्य वस्तु शिक्षा हो। शिक्षा र शिक्षकलाई शत्रु मान्ने समाजकै शत्रु हुन्। ती मानवताविरोधी हुन्। दुर्भाग्यले यस्ता कुपात्रलाई नेपालमा अझै केही बौद्धिक समर्थन प्राप्त छ। यो नेपालको शिक्षा प्रणालीको असफलताको मापक हो। समृद्धि र सुशासनको बाधक हो।

समृद्घि परिणाम हो, यसका लागि कारण चाहिन्छ। कारणको उचित अध्ययन, अनुसन्धान र कार्यान्वयनबिना लयबद्घ गरिएको समृद्घिको सपना एउटा दिवास्वप्न हो।

विश्वका कतिपय देशले कोरोनाको खोप दिन सुरु गरिसकेका छन्। खोपको खरिद र तिनको भण्डारणका लागि संसारका अनेक मुलुकमा व्यापक बहस र तयारी हुँदैछ। नेपालमा दातृ संस्थाले प्रदान गरेको खोपको व्यवस्थापन मात्रै गर्नुपर्ने भएकाले अहिले फुर्सदको समयमा ‘ओली ठूलो कि दाहाल ठूलो’ भन्ने विषयमा राष्ट्रिय वाद–विवाद प्रतियोगिता भइरहेछ। को बढी भ्रष्ट र अनैतिक भन्नेमा निबन्ध प्रतियोगिता भइरहेछ। मिडियामा तिनका पक्ष र विपक्षमा अनेक तर्कहरू अशिष्टरूपले प्रस्तुत गरिएका छन्। अशिक्षा नै यो अशिष्टताको कारण हो। नेपालको मौलिकता के हो भने यी प्रतियोगिताको नतिजा एउटा मोलतोलले निर्धारण गर्नेछ। त्यो मोलतोलमा ताली बजाउनका लागि लाखौं कार्यकर्ता कुरेर बसेका छन्। नेताका बोलीमा ताली बजाउने र शिक्षालयमा ताला लगाएर विद्यार्थीलाई सडकमा परेड खेलाउने दक्षता नै हो त नेपालको आवश्यकता ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कोषबाट आफ्ना नागरिकका लागि खोपको खरिद गरिसकेका छन्। अमेरिकी जनताले खोप निःशुल्क प्राप्त गर्नेछन्। एउटा पुँजीवादी अर्थतन्त्र अमेरिकाले जनतालाई आफ्नै खर्चमा खोप लगाऊ भन्न सक्थ्यो तर नागरिकको भयले नागरिकप्रतिको जिम्मेवारी बहन गरियो। स्मरणीय के छ भने अमेरिकाका प्रमुख छापाहरू राष्ट्रपति ट्रम्पको नीतिको विरुद्धमा लागिपरेका छन्। भारतीय राज्य बिहारमा हालै भएको निर्वाचनमा बीजेपीले कोरोनाको खोप सित्तैमा उपलब्ध गराउने चुनावी प्रतिबद्धता जारी गर्‍यो। नागरिकलाई खोप निःशुल्क उपलब्ध गराउने कार्यक्रम भारतले सार्वजनिक गरेको छैन, त्यो सम्भव पनि देखिँदैन। भारतीय छापा, विद्वत् वर्ग वा जनताले बीजेपीको यस्तो बकबासपूर्ण चुनावी घोषणाको प्रतिवाद गरेनन्। बिहारमा त झन् शिक्षाको अभाव नै छ। बीजेपीको नारा सदर भयो, बीजेपीले निर्वाचन जित्यो। भारतीय छापाको एउटा प्रमुख हिस्सा सत्ताको स्तुतिगानलाई आफ्नो जिम्मेवारी ठान्छ। भारतीय नागरिकले स्वतन्त्र समाचार र विश्लेषणको अपेक्षा गरेको भए यस्तो सम्भव थिएन। यो नागरिक अविकसित हुनुको नतिजा हो। नेपालमा एउटा शिक्षकको हत्या गरेर क्रान्ति हुने चिन्तनको आलोचना गर्न नागरिक समाज एकमत छैन भने खोपको आवश्यकताको बहस त एउटा ‘वैज्ञानिक बहस’ हो। नेपालमा राजनीतिले समाजलाई यति दूषित र विभाजित गरेको छ कि पेसाकर्मीको एउटा ठूलो हिस्साले छापाको सत्यतथ्यलाई समेत स्वीकार गर्न सक्दैन। व्यावसायिक छापाको सम्पादकीय भन्दा एउटा उच्छुंखल झोले कार्यकर्ताको उग्र बयान बढी चर्चित हुन्छ। आफ्नै कुनै कमाई नभएका, उग्र र चर्को बोल्न जान्ने, कुनै शैक्षिक योग्यता नभएका तर गालीपुराणमा विज्ञता हासिल गरेका नेता नै हुन् त अहिलेको समृद्धिका संवाहक ?

ठूलो जनधनको क्षतिपश्चात् नेपालमा संविधानसभामार्फत संविधानको निर्माण गरियो। समृद्धिको नारामा एउटा ऐतिहासिक शक्तिशाली सरकारको निर्माण भएको तीन वर्ष पूरा भएको छ। बाचा गरिएजस्तो समानता कायम गरियो त ? न्यायालयले कृष्णबहादुर गिरी, रञ्जन कोइराला आदिलाई देखाएजस्तै उदारता अरूलाई देखाउन किन सकेन ? रवि लामिछानेविरुद्ध प्रहरीले देखाएको तत्परता र कठोरता कृष्णबहादुर महरा र कृष्णबहादुर गिरीको मुद्दामा किन देखाएन ? हत्याको अभियोगमा रेशम चौधरीले मात्रै जेल जानुपर्ने हो ? वाइडबडी काण्डमा अख्तियारको मौनता किन ? भ्रष्टाचार र गरिबी निवारण भएनन्, न त जातीय विभेदको अन्त्य भयो। किन ? रोग, शोक, गरिबी, घृणा, अज्ञानता, कुसंस्कार, पाप, अभाव आदिको दासताबाट मुक्तिको बाटो विद्या हो। यो प्राप्त गर्ने आधार शिक्षा हो। ‘विद्या सा या विमुक्तये’ अर्थात् विद्या त्यो हो, जसले मुक्ति प्रदान गर्छ। नेपालमा यसको ठीक विपरीत छ। जनताको मुक्तिका लागि शिक्षकको हत्या गरिन्छ। अफ्रिकी देशहरू सियरालियोन, लाइबेरिया, रुवान्डा, बुरुन्डी आदिको राजनीतिबाट के देखिन्छ भने एउटा महान् क्रान्तिकारी आउँछ र शासन गर्छ अनि अर्को महान् क्रान्तिकारीको उदय हुन्छ। महान् क्रान्तिकारीको उदय हुने क्रम त्यहाँ जारी छ।

विकसित र अविकसित देशका बीचमा एउटा स्पष्ट रेखा देखिन्छ, त्यो हो– शिक्षाको अवस्था। ‘विद्याविहीनः पशुभिः समानः’ अर्थात् विद्या नभएको मानिस पशुसमान हुन्छ। विद्या प्राप्त व्यक्तिलाई शत्रु ठान्ने व्यक्ति पशुभन्दा पनि निकृष्ट हुन्छ। पंक्तिकारको बाल्यकालमा सडकका छेउछाउमा ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि नेपालीले वञ्चित हुनु नपरोस्– श्री ५ वीरेन्द्र’ भन्ने एउटा भनाइ लेखिएको देखिन्थ्यो। राजा वीरेन्द्र दरबारमा हुर्केका थिए तर पनि शिक्षाको महŒव उनले बुझेका रहेछन्। गणतान्त्रिक नेपालका प्रधानमन्त्री बाबुराम भट्टराई, पुष्पकमल दाहाल, केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनालले शिक्षाको महŒव वीरेन्द्रले जति पनि नबुझेको तथ्य समयले साबित गरेको छ। शिक्षालयमा राजनीतिक हस्तक्षेप र तालाबन्दी वा शिक्षकको हत्या गरेर भइरहेको ज्ञानको क्षयीकरणको अनुभव यिनका सामु छ। ज्ञान चाहिन्छ भन्ने ज्ञान भएको नेता कुनै दलमा छन् भने नवनिर्वाचित अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले आफ्ना सहयोगी र क्याबिनेटका लागि गरेको क्षमतावान्को चयन तिनका लागि एउटा उदाहरण हुन सक्छ। दुर्भाग्यले नेपालका प्रमुख दलका शीर्ष नेतामा त्यो देखिँंदैन। समृद्धि परिणाम हो, यसका लागि कारण चाहिन्छ। कारणको उचित अध्ययन, अनुसन्धान र कार्यान्वयनबिना लयबद्ध गरिएको समृद्धिको सपना एउटा दिवास्वप्न हो।
—भट्ट अमेरिकास्थित टेनिसी स्टेट विश्वविद्यालयमा प्राध्यापनरत छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.