निर्भीक र निडर राजनीतिज्ञ
अछामको साबिक रिडिकोट गाविसमा जन्मेका नैनबहादुर स्वाँर निर्भीक राजनीतिज्ञ थिए। कोरोना पराजित गरेको केही दिनपछि दिवंगत स्वार पञ्चायतकालमा हक्की र निडर नेताका रूपमा चिनिन्थे। जनमत संग्रहपछि सम्पन्न राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनपछि सूर्यबहादुर थापाको अध्यक्षतामा गठित मन्त्रिपरिषद्मा स्वाँर शक्तिशाली गृहमन्त्री भएका थिए।
नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँर उनलाई निडर स्वभावका व्यक्ति मान्छन्। स्वाँरदेखि सूर्यबहादुर थापासमेत हच्किन्थे। ‘पञ्चायतकालमा सूर्यबहादुरलाई देखेर धेरै डराउँथे। स्वयं सूर्यबहादुर स्वाँरको हक्की स्वभाव देखेर हच्किन्थे। उनमा लोभलालच पटक्कै थिएन’, भरतकुमारले भने। पञ्चायतपछि स्वाँर कांग्रेसमा आएका थिए। उनी स्वच्छ छविका राजनीतिकर्मी मानिन्थे। उनले भ्रष्टाचार गरेको सुनिएन। अहिले त केही महिना सत्तामा पुग्नेले पनि सम्पत्ति जोड्नै तँछाडमछाड गरेको देखिन्छ, तर स्वाँरको नाम त्यस्तोमा कहिल्यै मुछिएन। नैनबहादुरले तिरो तिर्ने मालअड्डा, विद्यालय, हुलाक स्थापना, बाटो सुधारलगायतका माग राख्दै २०१४ सालमा ‘राजा घेराउ’ आन्दोलन पनि गरेका थिए। उनलाई विकासको योद्धाका रूपमा पनि चिनिन्छ। स्वाँरको ९४ वर्षको उमेरमा गत बिहीबार काठमाडौंमा निधन भएको थियो। स्वाँर आमा कौशिल्यादेवी र बुवा हर्कजंगका साइँला पुत्रका रूपमा १९८४ मसिर ९ गते अछामको रिडिकोटमा जन्मेका थिए।
निडर र निर्भीक राजनीतिज्ञ नैनबहादुर स्वाँर परिवारभन्दा पनि देश र जनतालाई केन्द्रमा राख्थे। यसैले पनि उनी विकासको योद्घाका रूपमा पनि चिनिन्छन्।
काठमाडौंको दरबार हाईस्कुलबाट आईए पास गरेका थिए उनले। अछामबाट २००४ सालमा राजनीतिक यात्रा सुरु गरेका उनी चारपटक मन्त्री भए। त्यतिबेलाको राजनीतिमा शक्तिशाली व्यक्तिका रूपमा परिचित स्वाँर २०३७ सालमा कानुन तथा न्यायमन्त्री तथा २०३८ मा गृहमन्त्री भए। उनी पञ्चायतकालको अन्तिम मन्त्रिमण्डल २०४६ मा समेत केही समय गृहमन्त्री भएका थिए। स्वाँर २०२४, २०२९, २०३६ र २०३८ सालमा गरी चारपटक राष्ट्रिय पञ्चायतको सदस्य भए।
यस्तै २०२५ असोजमा भूमिसुधार राज्यमन्त्री नियुक्त भएका स्वाँर २०३० साउनदेखि २०३२ मंसिरसम्म राष्ट्रिय पञ्चायतको अध्यक्ष भए। पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक दलले २०४६ मा आन्दोलन सुरु गरे। त्यो आन्दोलन चर्कंदै गएपछि मरिचमान सिंह प्रधानन्त्रीबाट हटाइए र लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बने। उक्त मन्त्रिमण्डलमा चन्दले स्वाँरलाई गृहसहित नौवटा मन्त्रालयको जिम्मेवारी दिएका थिए। प्रजातन्त्रको पुनर्बहाली (२०४६) पछि उनी कांग्रेसको राजनीतिमा आएका थिए। उनी कांग्रेसमा आमन्त्रित केन्द्रीय सदस्यसम्म बने। पटकपटक नेतृत्व तहमा पुग्दा उनले जिल्लाको भौतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुर्याएको भन्दै अछामका राजनीतिक अगुवा उनको सम्झना गर्छन्।
२०२६ सालमा अछामको बुढीगंगा नदीवारि अछाम र पारि डोटी थियो। स्वाँरले नदीपारि डोटीमा रहेका साविकका १३ गाविस अछाममा गाभे। स्वाँरले २०३६ सालमा डोटीमा रहेका गाविस अछामतिर ल्याएपछि अछाममा दुई निर्वाचन क्षेत्र भएका थिए।
उनका पालामा अछाममा झोलुंगे पुल बनाउने काम पनि भयो। बयलपाटा अस्पताल स्थापना उनकै पहलमा भएको थियो। अहिले सुदूरपश्चिमका पहाडी जिल्लाका अस्पतालमध्ये बयलपाटा राम्रो अस्पताल मानिन्छ। अस्पताल स्थापनाका लागि स्वाँरले २०३४ सालमा पञ्चायतको विरोधसमेत गरे। त्यो विरोध गरेबापत उनलाई त्यतीबेला ६ महिना नजरबन्दमा राखिएको थियो। उनी विकासका लागि आफैं मन्त्री रहेको सरकारको पनि विरोध गर्न पछि परेनन्।
स्वाँरले पञ्चायत र प्रजातन्त्र स्थापनापछि गरेको सक्रिय राजनीतिमा आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर मात्र राजनीति गरे। स्वाँरको तराईमा झन्डै ८० बिघा जग्गा थियो। उनले लडेका हरेक निर्वाचनका बेला जग्गा बिक्री गरे। उनले पटकपटक मन्त्री बन्दा व्यक्तिगत लाभ कहिल्यै लिएनन्। ७० वर्षअघि अछामको बयलपाटामा स्थापना गरिएको नवदुर्गा मिडिल स्कुल स्थापना र साँफेबगर विमानस्थल निर्माणको श्रेय पनि उनैलाई जान्छ। उनका श्रीमती, दुई छोरा र चार छोरी छन्। परिवारभन्दा पनि देश र जनतालाई केन्द्रमा राख्ने उनको स्वाभाव थियो। शिक्षाको चेतना जगाउन सकिएन भने केही पनि हुँदैन भन्दै विद्यालय स्थापनामा जोड दिने गर्थे। निडर र निर्भिक राजनीतिज्ञ स्वाँरप्रति हार्दिक श्रद्धासुमन !