सियाराले ल्याए “तिम्रो प्रेरणाले”
म परदेश जाँदा सहन्थ्यौ कति
कति गाह्रो परेथ्यो त्यो बिदाइ
म परदेश जाँदा।
धन कमाउन विदेश जानु नेपालीको बाध्यता। घरपरिवार र छोराछोरीको जिम्मेवारी सम्हाली बसेकी श्रीमतीको दुःख अनुभव गर्दै गीतकार सुरेश आचार्य ‘सियारा’ले ‘तिम्रो प्रेरणाले’ बोलको गीति एल्बम सार्वजनिक गरेका छन्। गीतमा भनेजस्तै माया गर्ने श्रीमान्सँग बिछोडिँदा कसको मनमा पीडा हुन्न र ? पीडा मुटुभित्र दबाएर हाँसी हाँसी बिदाइ गर्ने मायालु श्रीमतीलाई सम्झिएर लेखिएका शब्द हुन् माथिका गीतका अंश।
नेपाल सरकारका सचिव, कुशल प्रशासक सुरेश आर्चाय ‘सियारा’ले यो पटकको लकडाउनमा पुराना पोका पुन्तुरा खोतले। ४३/४४ सालतिर अमृत साइन्स क्याम्पस पढ्ने बेला लेखिएका केही गीत, कविता भेट्टाए। लकडाउनमा फुर्सद भएको बेला उनी पुनः गीत लेख्नतिर लागे। धेरै वर्षदेखि मनमा उकुसमुकुस भएर बसेका भाव गीतमार्फत व्यक्त गरे, अनि जन्मियो ‘तिम्रो प्रेरणाले’ गीति एल्बम। एल्बममा ए अधुरो जीवन, प्रेरणा दियौ, मुलुकले आज, म परदेश जाँदा, कति तीता मीठा, कहाँ पोखौं मेरो माया, तिमी आकाश छुन खोज्छौ बोलका सातवटा गीत समावेश छन्। गीतमा प्रमोद खरेल, सत्य–स्वरूप आचार्य, अस्मिता अधिकारी, नरेन्द्र प्यासी, विपिन घिमिरे, मिलन नेवाःलगायतको आवाज छ। सांस्कृतिक संस्थानको पे्रक्षालयमा मंगलबार एक कार्यक्रमबीच उक्त एल्बम सार्वजनिक गरिएको थियो।
विमोचन कार्यक्रममा लेखन अनुभव सुनाउँदै आर्चायले भने, ‘जागिर, पद, प्रतिष्ठा र मानसम्मान आवधिक र क्षणिक हो। नासिन्छ। भोलि मोलतोल हँुदैन। तर गीतसंगीत र सिर्जना सधैंभरि अजर, अमर रहन्छ। गीतले क्रान्ति गर्छ। यो परिवर्तनको संवाहक हो। जनतामा उत्साह जगाउँछ, नयाँ सन्देश प्रवाह गर्छ।’
आचार्यको गीत लेखनबारे विमल कोइराला, टीका भण्डारी, रायन, चूडामणि देवकोटालगायतले आफ्ना विचार राखेका थिए। गीतकारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सियाराको चौतर्फी क्षमताको प्रशंसा गरे। प्रशासनिक काममा कुशल दक्षता निर्वाह गरेका सुरेशले क्याम्पस पढ्दादेखिकै आफ्नो लेखन रहर पूरा गरेकोमा खुसी व्यक्त गरे।