पोखरेली अभिभावकको सम्झना
गत कात्तिक १७ गते सूर्योदयसँगै सूर्यास्तको खबरले पोखरा स्तब्ध भयो। पोखरेली औद्योगिक क्रान्तिका अगुवा नायक सूर्यबहादुर केसीको अनन्त यात्राले सबैलाई दुःखी तुल्यायो। सामाजिक, धार्मिक र राजनीतिक क्षेत्र पनि स्तब्ध बन्यो। समाजप्रतिको प्रेम र सद्भाव, धार्मिक क्षेत्रप्रतिको हेराइ र राजनीतिक क्षेत्रबाट गरेको योगदान पोखरेलीले कहिल्यै भुल्ने छैनन्।
जीवनका प्रत्येक संकल्प अरूको हित र कल्याणमै समर्पित गरे, त्यो निष्ठा र निरन्तरको लगनशीलताको परिणाम थियो। विशाल हृदयका धनी सूर्यबहादुरमा नकारात्मक सोच कहिल्यै आएन। नकारात्मक सोच र व्यवहार गर्नेहरूलाई समेत प्रेरणा दिन कहिल्यै छाडेनन्। यस्ता व्यक्तिको असामयिक र अप्रत्यारिलो मृत्युलाई ४५ दिन पुग्दा पनि पोखरेलीले पत्याउन सकेका छैनन्। उनको जीवन चरित्रलाई शब्दमा उतार्ने मेरो धोको अपूरै रह्यो।
मानिसलाई सभ्यता र संस्कारको दीक्षा दिने शिल्पी सूर्यबहादुरले दुःखमा आत्तिने र सुखमा मात्तिने काम कहिल्यै गरेनन्। दुःखसुखमा सधैं खुसी बनिरहे। शालीनता, साहस र धैर्य उहाँका चारित्रिक गुण थिए। हरेक मनमस्तिष्कलाई गति दिने अब्बल सारथि पनि। छोटो जीवनकालमा पनि समाजको मन जिते। हरेक क्षेत्रसँग सान्निध्यता राख्ने सूर्यबहादुरप्रति उनका सहयात्री ऋणी छन्, आभारी पनि त्यत्तिकै। धेरै रोगसँग संघर्ष गरिरहँदा पनि उनको सोच, ऊर्जा र सेवाभावमा कहिल्यै उतारचढाव आएन। जतिञ्जेल बाँचे धर्तीका साक्षात् पुत्रको नमुना बने। हामी हिन्दुसंस्कारी पुनर्जन्ममा विश्वास गर्छौं। पुनर्जन्म भएमा सूर्यबहादुर फेरि फर्कने विश्वास पोखरेलीमा छ। सामाजिक, धार्मिक, आध्यात्मिक र राजनीतिक क्षेत्रमा गरेको योगदानले सूर्यबहादुरजस्ता व्यक्तिलाई समाजले सधैं सम्झिरहनेछ।
जनसहभागितामूलक कामको थालनी, हरित सडक, पोखरा चक्रपथको परिकल्पना, सडक बत्ताी, पोखरा विमानस्थल निर्माणमा उल्लेख्य योगदान दिएका सूर्यबहादुर आम पोखरेली नागरिकका आदरयोग्य र प्रिय पात्र बने।
उनको राजनीतिक यात्रा ०४१ सालमा सुरु भएको हो। पोखरा नगरपञ्चायतको प्रधानपञ्चबाट सुरु भएको राजनीतिक यात्रा पछिल्लो समय नेपाली कांग्रेसका सांसद्का रूपमा टुंगियो। पञ्चायतमा रहँदा पनि उनको प्रजातन्त्रप्रतिको प्रतिबद्धतामा कहिल्यै आँच आएन। पञ्चायत व्यवस्थाको प्रतिनिधि भएर बहुदलका पक्षमा सक्रिय सहभागिता जनाउनु त्यतिबेलाका लागि कम चुनौतीपूर्ण थिएन। उनी परिवर्तनका संवाहक मात्र भएनन्; विकास र किसानप्रेमी राजनीतिज्ञ बने। पोखरा नगरीको नेतृत्वमा रहँदा किसानलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम ल्याए। जसले गर्दा पोखरामा नगदेबालीको क्रान्ति नै आयो। परनिर्भर पोखरा आत्मनिर्भरताको बाटोमा लाग्यो। किसान प्रोत्साहन नीति, पर्यटन प्रवद्र्धन र पोखरालाई आधुनिक र औद्योगिक प्रतिष्ठान बनाउन उनको अपूर्व देन छ। यसैगरी पोखरा सभागृह, नयाँ महेन्द्रपुलको निर्माणका साथै तत्कालीन राजा वीरेन्द्रबाट गराउने भनिएको पुलको उद्घाटन सूर्यबहादुर आफैंले गर्नू भनेर स्वीकृति दिइयो। जनसहभागितामूलक कामको थालनी, हरित सडक, पोखरा चक्रपथको परिकल्पना, सडक बत्ती, पोखरा विमानस्थल निर्माणमा उल्लेख्य योगदान दिएका सूर्यबहादुर सबै दल आम पोखरेली नागरिकका आदरयोग्य र प्रिय पात्र बने। ‘विचारमय जीवन शक्तिशाली हुन्छ र यसलाई सम्हाल्न सक्ने व्यक्ति बुद्धजस्तै बन्दछ’ भने झैं उनी त्यस्तै बनेर अस्ताए।
केन्द्रीकृत प्रणालीको अन्त्य हुनुपर्छ भन्ने दृढ मान्यता राख्ने सूर्यबहादुरले पोखरामा रोजगारका अवसर सिर्जना गरे। नेपालकै पहिलो चाउचाउ उद्योग पोखरामै खोले। अर्बौंको लगानीमा खुलेको यो उद्योग हिमश्री फुड्सले चिनिन्छ। यसलाई अझ विस्तारित गरेर सार्क मुलुकभर यसको विस्तार गर्न बर्दियामा उद्योग स्थापनाले अन्तिम रूप लिँदै गर्दा उनको निधन भयो। उनको त्यो सपना छोराहरूले अवश्य पूरा गर्नेछन्।
राज्यको उज्यालो नेपाल अभियानको परिकल्पनामा सहयोगी भूमिका निर्वाह गरेका छन् सूर्यबहादुरले। हाइड्रोपावर क्षेत्रमा उनले गरेको योगदान प्रशंसनीय छ। पोखरामा टुरिजम कलेज खोले। त्यसैगरी करोडौंको लगानीमा कालिका कलेज खोलेर सामुदायिक कलेजमार्फत शैक्षिक उन्नयनमा उल्लेख्य योगदान गरे। पोखरा बहुमुखी कलेज र निजी लगानीमा नेपाल इन्जिनियरिङ कलेजमा सक्रिय योगदान पुर्याए। प्रादेशिक रूपमा इन्जिनियरिङ कलेज खोल्ने उनको योजना भने पूरा हुन पाएन।
बैंकिङ क्षेत्रमा पनि उनको सक्रिय सहभागिता रह्यो। माछापुच्छ«े बैंक खोलेर बैंकिङ क्षेत्रमा ठूलो योगदान मात्र पुर्याएनन्; त्यसबाट ठूलो रोजगार पनि सिर्जना भयो। सूचना र सञ्चार क्षेत्रमा पनि उनको लगानी छ। धार्मिक भावना उनमा उच्च थियो। पोखराको सेती नदीकिनारमा बनाइएको शान्तिघाट निर्माणमा उनको उल्लेख्य योगदान छ। अन्ततः आफैंले बनाएको घाटमा उनको अन्त्येष्टि गरियो। दिवंगत सूर्यबहादुरको पवित्र आत्माले शान्ति पाओस्। हार्दिक श्रद्धासुमन !