अंग्रेजी नयाँ वर्ष '२०२१'लाई स्वागत गर्न फेवा किनारमा सडक महोत्सवको तयारी
पोखरा : गत वर्ष सन् २०२० लाई फेवा किनारमा स्वागत गर्दै गर्दा डिसेम्बर महिनामा चीनको उहानमा कोरोना संक्रमण देखा परिसकेको थियो। चीनमा पहिलो पटक देखापरेर विश्वभर फैलिएको कोभिड—१९ (कोरोना भाइरस) ले विश्वको पर्यटन उद्योग थला परेको छ।
नेपालको पर्यटन उद्योग पनि उस्तै गरी थलापरेको छ। पर्यटन उद्योगलाई उठाउन रेष्टुरेण्ट एण्ड वार एशोसियसन नेपाल (रेवान) पोखराले फेवाताल किसनारमा तीन दिने सडक महोत्सवको तयारी गरेको छ।
२२ औं संस्करणको पोखरा सडक महोत्सव स्वास्थ्य सतकर्ता अपनाएर फेवातालको किनार हुने महोत्सवका संयोजक बसन्त गौतमले जानकारी दिए। सडकमा विभिन्न स्वादका खानाको परिकार संस्कृतिक कार्यक्रमका बिच पस्किएर अंग्रेजी नयाँ वर्ष २०२१ लाई स्वागत गर्ने गरी महोत्सवको तयारी गरिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए।
सडक महोत्सवमा विगत वर्षको जस्तो बसुन्धरा पार्कमा विभिन्न लाइभ संस्कृतिक कार्यक्रम भने नहुने रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए। स्वास्थ्य सतर्कता अपनाउनु पर्ने भएकोले धेरै पर्यटक आउने आशामा भन्दा पनि पोखरा खुला छ घुम्न आउनुहोस् भन्ने सन्देश दिन पोखराको फेवाताल किनारको तीन किलोमिटर क्षेत्रको सडकमा महोत्सवको आयोजना गर्न लागिएको उनले बताए।
सडक महोत्सवमा ताल किनारको तीन ठाउँमा स्वागत गेट हुने छ। तीनै ठाउँमा विभिन्न जातजातीको थोरै संख्यामा कलाकारहरुको उपस्थितिमा संस्कृतिक कार्यक्रम हुने छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको हौसला र साथमा पुस १५ गते देखि १७ गतेसम्म सडक महोत्सव हुन लागेको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए। एक हप्ताभित्र अहिलेसम्म बन्द रहेका पोखराका पर्यटकीय स्थल खुला गर्ने गरी छलफल भएको पनि उनले जानकारी दिए।
पोखराको लेकसाइडमा हुने सडक महोत्सव देशैभरको सबैभन्दा धेरै पर्यटक सहभागी रहने महोत्सव हो। यहाँ सामान्य अवस्थामा विगतमा ३ देखि ४ लाख पर्यटक आउने अनुमान गरिएको छ। कोरोना कहरको कारण पहिलेको जस्तो पर्यटक आउनेभन्दा पनि पोखरा खुला छ भन्ने सन्देश दिन मात्र सडक महोत्सवलाई निरन्तरता दिएको आयोजक रेवानका अध्यक्ष बरालले दोहोर्याए। सडक महोत्सवमा स्वास्थ्य सतर्कता अपनाएर ठाउँ ठाउँमा सेनिटाइजर, मास्क, साबुन पानी राखिने महोत्सवका सहसंयोजक तथा स्वास्थ्य संयोजक भिष्मराज पौडेलले जानकारी दिए। नयाँ वर्ष २०२१ भित्र नै कोरोना संक्रमण नियन्त्रणमा आएर पर्यटकको चहलपहल बढ्ने व्यवसायीको विश्वास छ।
कोरोनापछि थलिएको पर्यटकलाई उठाउन पश्चिमाञ्चल होटल संघ पोखरा यसै साता देशका प्रमुख औधोगिक शहर विरगंज, जनकपुर, बिराटनगर, चित्वनमा जाउँ है पोखरा अभियान लिएर आन्तरिक पर्यटकलाई निम्तो दिएर फर्केका छन्। नाटा पोखराको टोली पनि ग्रामिण पर्यटन प्रवद्धन गर्न बारपाक, तनहुँको बन्दीपुर लगायतका पर्यटकीय गाउँको प्रवद्धन गरेर फर्केको छ। रेवान पोखराले पोखरा खुला रहेको सन्देश दिन सडक महोत्सव आयोजना गरेको हो। टान पोखराले नयाँ पर्यटकीय गन्तव्यको खोजीको क्रममा पहिलो पटक ८ हजारभन्दा अग्लो हिमाल अन्नपूर्ण आरोहण गर्ने मोरिस हर्जोगको चाप पछ्याउँदै म्याग्दी तर्फ अन्नपूर्ण प्रथम आधारशिवीर सम्म पुगेर आएको छ। एक हप्ताको नयाँ पदायत्रा मार्ग खोल्ने गरी नक्सा समेत तयार गरेको टान पोखराका अध्यक्ष शुशिल पौडेलले बताएका छन्।
पश्चिमाञ्चल होटल संघ पोखराले पोखरा आउने पर्यटकहरुलाई ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेको संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। यसै गरि शाहासीक खेल प्याराग्लाइडिङमा उड्न चाहाने पर्यटकलाई नेपाल हवाई खेलकुद संस्थाले ४० प्रतिशतसम्म छुट दिएको अध्यक्ष कृष्ण भण्डारीले बताए। सन् १९९७ बाट पोखरा सडक महोत्सव सुरु भएको हो। पोखरा आउने पर्यटक नयाँ वर्षमा कित घर फर्कने कित भारतको गोवा जाने गरेपछि पर्यटकको बसाई लम्ब्याउन सडक महोत्सव सुरु भएको थियो। सडक महोत्सव आन्तरिक पर्यटकमाझ लोकप्रिय भइसकेको छ। विश्व पर्यटन बजारमा समेत नयाँ वर्षमा पोखरालाई आकर्षक गन्तब्यको रुपमा विकास गर्न पर्यटन व्यवसायी लागिपरेको बेलामा कोरोना कहर यति बेला बाधक बनेको छ।
अंग्रेजी नयाँ वर्ष २०२१ लाई स्वागत गर्न पोखराको फेवाताल किनारमा पुस १५ गतेदेखि १७ गतेसम्म हुने सडक महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहमागी रेवान पोखराका अध्यक्ष लगायत।
तस्बिर : कृष्णमणि बराल।