कोरोना भर्सेस राजनीति र दल

कोरोना भर्सेस राजनीति र दल

केही दिनअघि, पतिका अनन्य मित्र शशीविक्रम राणाजीले फेसबुकमा पोस्ट गर्नुभएको एउटा  श्रद्धाञ्जली पढेर स्तब्ध भएँ। शशीजीले बानेश्वरनिवासी राजेज्द्र शाहको मंसिर ९ गते कोरोनाबाट मृत्यु भएकोमा उहाँको आत्माको चिर शान्ति तथा परिवारजनको धैर्यधारण गर्ने शक्तिका लागि प्रार्थना गर्नुभएको थियो। शाह मेरो जेठाजुहरूको समकालीन मित्र अनि पतिका राजेन्द्र दाइ। दाइलाई पहिलोपटक देख्दा उहाँका हातका औंलामा छिटो टाइप गर्नेे अद्भुत जादु भएकोे जानकारी पाएँ। उहाँलाई अत्यन्त शालीन व्यक्तिका रूपमा चिन्थैं म। दाइप्रति हार्दिक श्रद्धाञ्जली !

राजेन्द्र शााह एक प्रतिनिधि पात्र मात्र हुन्। हिजोआज हरेक दिन औसत १५-१६ जनाको कारोनाबाट मृत्यु भइरहेको छ। यो आलेख लेखिरहँदा देशमा कारोनाबाट मृत्यु हुनेको संख्या १७ सय नाघिसकेको छ। यही रफ्तारमा नागरिकको मृत्यु भइरहे देशमा कोरोना खोप उपलब्ध हुने समयसम्म कति परिवारले आफ्ना प्रियजनको मृत्युको पीडा भोग्नुपर्ने हो ? कति परिवारको सुखद जीवन छिन्नभिन्न हुने हो ? यसको कल्पना मात्रले पनि मुटु काँप्छ मेरो।

नेपालमा माघ ९ गते चीनको वुहानबाट फर्किएको नेपाली विद्यार्थीमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। यसलाई स्वास्थ्य मन्त्रालयले माघ १० गते पत्रकार सम्मेलन गरेर जनसमक्ष ल्यायो। यसको दुई महिनापछि दोस्रो घटना चैत १० गते फ्रान्सबाट दुबई हुँदै आएकी १९ वर्षीया युवतीमा पुष्टि भयो। विश्वमा हरेक दिन लाखौंको संख्यामा संक्रमण र हजारौंको संख्यामा मानिसको मृत्यु भइरहँदा नेपालमा दुई महिनाको अन्तरालमा संक्रमणको दुइटा घटना मात्र भेटिएको थियो। तथापि नेपालजस्तो गरिब राष्ट्रमा अन्य देशमा झैं कोरोना महामारी फैलियो भने देशमा कस्तो विकराल अवस्था आउला भन्ने चिन्ताले देश तथा जनतामा ठूलै त्रास फैलिएको थियो।

कोरोनाबारे कम जानकारी, मृत्युको अत्यधिक भय र देशमा महामारी फैलिने चिन्ताले सुरुसुरुमा जनता कडा अनुशासनमा बसेका थिए। सरकार पनि धेरै जिम्मेवार भएको महसुस भएको थियो। चीनबाट फर्केका युवामा संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका ६० जनालाई कन्ट्याक ट्रेसिङ गरेको थियो। फ्रान्सबाट फर्केकी युवतीलाई रातको १२ बजे नै टेकु अस्पतालमा ल्याइपुर्‍याए। संक्रमण फैलिने चिन्ताले चैत ११ बाट देशमा लकडाउन सुरु भयो। संक्रमितलाई निःशुल्क कोरोना जाँच गरियो। सबैको अस्पतालमा उपचार सम्भव गर्‍यो। कन्ट्याक ट्रेसिङ गरियो। आइसोलेसनमा राखियो। यी सब देखेर दंगै परेकी थिएँ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएको झन्डै पाँच महिनापछि जेठ ३ गते काठमाडौंको शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी सिन्धुपाल्चोककी महिलाको कोरोना संक्रमणबाट पहिलो मृत्यु पुष्टि भयो। त्यो दिनसम्म देशमा संक्रमितको संख्या २८१ पुगेको थियो, जबकि विश्वमा ४५ लाख संक्रमित र तीन लाखभन्दा बेसी कोरोनाबाट मृत्यु भइसकेको थियो।

नेपाललाई कोरोना नियन्त्रण गर्न पर्याप्त समय र अवसर थियो। देशमा प्रतिबद्ध स्वास्थ्यकर्मी तथा जनस्वास्थ्य विज्ञहरूको सहयोग, सल्लाह र सुझावको कुनै कमी थिएन। तथापि सरकार कोरोना नियन्त्रण गर्न सफल हुन सकेन। कारण, देशका प्रतिबद्ध स्वास्थ्यकर्मी तथा विज्ञहरूको सल्लाह, सुझाव तथा चेतावनीको सुनुवाइ नै भएन। उल्टो उनीहरूको इमानदारितामाथि प्रश्न गर्ने र फोन गरेर धम्क्याउनेसमेत गरे। महामारीबाट देश र जनतालाई बचाउन छोडेर सत्ता तथा प्रतिपक्ष दलहरू कुर्सी र पद बचाउन आफ्ना पार्टीभित्रै तल्लो स्तरको लडाइँ गरिरहे। परिणाम, देशमा विस्तारै संक्रमित र मृत्यु संख्या बढ्यो। साउन महिनामा आएर मृत्युदर अझ बढ्यो। साउन ३२ सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो। भदौमा मृत्युदर झन बढेर गयो।

असोजमा आएर महामारी सुरु भएजस्तो के हुन थालेको थियो, सरकारले एकाएक असोज १९ गते मन्त्रिपरिषद्बाट आर्थिक रूपमा विपन्न, अशक्त, असहाय, अपांगता भएका, एकल महिला, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिममा काम गर्ने कर्मचारीको लक्षण देखिए निःशुल्क उपचार गर्ने निर्णय गर्‍यो। कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमाबाटै कटाउने पनि निर्णय गर्‍यो। त्यो निर्णय कात्तिक २ बाट सरकारी, गैरसरकारी तथा निजी अस्पतालमा लागू हुने गरी कात्तिक २ गते सार्वजनिक गर्‍यो।

सरकारको निर्णय सार्वजनिक भएलगत्तै मानव अधिकार आयोग, विपक्षी दल र स्वयं नेकपाकै नेताहरूबाट सरकारी निर्णय संविधानविरोधी, गैरजिम्मेवार र संवेदनाहीनताको पराकाष्ठा भनेर चर्को विरोध भयो। संविधानविद्हरूले सरकारको निर्णय गैरसंवैधानिक भएको भन्दै अदालतको आदेश ऐच्छिक विषय नभएकाले आदेश मन परेन भनेर पालना गर्दिनँ भन्ने अधिकार नभएको भन्दै रोष प्रकट गरे। त्यसपछि स्वास्थ्य मन्त्रालयले शुल्क तिर्न नसक्नेले स्वघोषणा गरेमा निःशुल्क उपचार हुने भन्दै आफ्नो निर्णय सच्याए।

तर सरकारको घोषणा आएसँगै सरकारी अस्पतालहरूले शुल्क लिन सुरु गरे। सरकारले गरेको  निर्णयअनुसार दिनको सामान्य लक्षण भए ३५ सय, मध्यम भए ७ हजार र आईसीयूमा भए १५ हजारको दरले पाँच दिनको डिपोजिट लिएर मात्र बिरामीको उपचार गर्न थाले। यसको परिणाम देशमा विपन्न नागरिकको बिजोग सुरु भयो। सरकारले हात उठाइहाल्यो– उपचारमा खटिने स्वास्थ्यकर्मीलाई पारिश्रमिक दिनुपर्छ भन्दै शुल्क तिर्न नसक्नेहरूको शवसम्म दिन छोडे निजी अस्पतालहरूले। उपचार खर्च जुटाउन असम्भव भएपछि विपन्न वर्गहरू जस्तोसुकै कष्ट सहेर घरमै मृत्यु कुरेर बस्न बाध्य भए। कति बिरामीले परिवारको लाचारी हेर्न नसकेर आत्महत्या गरे।

यता श्वास फेर्न कठिन भएपछि अथवा बेहोस हुने अवस्था आएपछि मात्र अस्पताल जानु भन्ने सरकारको निर्देशन आएपछि जनतामा यसले उल्टो असर पर्‍यो। संक्रमितहरू अत्यन्त गाह्रो भइसकेपछि मात्र अस्पताल जान थाले। जसले गर्दा अधिकांशको अस्पताल पुग्नुअगावै अथवा अस्पतालमा पुगे पनि निकै ढिलो भइसकेको हुँदा पछिल्ला तीन महिनामा मृत्यु हुनेको संख्या ह्वात्तै बढ्यो।

तर यसको ठीक विपरीत देशमा केही हप्तादेखि नयाँ कोरोना संक्रमितको संख्या आश्चर्यजनक रूपले कम हुँदै गइरहेको छ। यसले गर्दा जनतामा जाडोको कारण देशमा संक्रमण घटेको हो कि भन्ने भ्रम भएको बुझ्छु म। गत वर्षको जाडोयाममा विश्वमा कोरोना महामारी फैलिँदा हाम्रो देश अछूत रहेको हुँदा यो वर्षको जाडोमा पनि त्यही प्रक्रिया दोहोरिएको हो कि भन्ने धेरैलाई भ्रम भएको ठान्छु म। यसैले होला सायद, हिजोआज कोरोनाबाट बच्ने तीनवटा उपाय, मास्कको प्रयोग, बारम्बार हात धुने र सामाजिक दूरी कायम गर्नेजस्ता नियम टीभीको विज्ञापनमा मात्र देखिन थालेको छ।

हिजोआज पार्टी–पालेसहरू धमाधम खुल्न थालेका छन्। विवाहको चहलपहल खुब बढेको देख्छु। जनता विस्तारै मन फुकाएर हिँड्न थालेका छन्। सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा, पशुपतिनाथलगायत अन्य मठमन्दिर पनि खोलिसके। दुईदुईपटक किड्नी ट्रान्सप्लान्ट गरेका प्रधानमन्त्री स्वयं जिल्ला भ्रमण गरेर हजारौंहजार जनसागर उर्लिएको ठाउँमा राजनीतिक भाषण गरेर आइसके। नियम, कानुन बनाउने सरकार स्वयं विभिन्न राजनीतिक भेला तथा कार्यक्रम गर्न थालिसके। बिट मार्नुअगाडि सरकारसित मेरो एक जिज्ञासा छ— के साँच्चै कोरोनाको कहर घटेकै हो ?

सरकारले गरेका हरेक गलत निर्णयलाई खबरदार गर्ने भूमिका निभाउनुपर्ने प्रतिपक्ष दल कांग्रेस आज ७७ वटै जिल्लामा सरकारको विरोध जुलुस गरेर थकाइ मार्दै छ। राजा आऊ, देश बचाऊ भन्दै राजावादी दल देशमा एकपछि अर्को र्‍याली निकाल्दै छन्। यी दलहरूलाई पनि म यही प्रश्न दोहोर्‍याउन चाहन्छु— के साँच्चै कोरोनाको कहर घटेकै हो ?

अन्त्यमा सरकार तथा सबै दलहरूसित अन्तिम प्रश्न राख्न चाहन्छु— साँच्चै कोरोनाको कहर घटेकै हो भने किन आईसीयू र भेन्टिलेटरमा कोरोनाका बिरामीको संख्या घटिरहेको छैन ? किन दिनानुदिन मृत्यु हुनेहरूको संख्या बढिरहेको छ ?

तबचबदजबततबचबष्द्धज्ञण्२जयतmबष्।िअयm
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.