थाइल्याण्डमा राजाको विरोध गर्ने १६ वर्षे किशोरमाथि अपराध मुद्दा, १५ वर्ष जेल जानसक्ने
बैंकक: थाइल्याण्डका राजाको अपमान गरेको भन्दै यहाँका १६ वर्षीय एक किशोरमाथि अपराधिक मुद्दा दायर भएको छ ।
राजा महा वजिरलंकनको जस्तै पोशाक लगाएर शरीरमा राजाको अपमान हुने शब्दहरु प्रदर्शन गरेको ती युवकमाथि आरोप छ । ती युवकमाथि राजपरिवारको गाली बेइज्जती वा अपमान गरेको सम्बन्धी कानून लगाइएको छ ।
विवादित समेत मानिएको उक्त कानुनले राजपरिवारको अपमान, बदनाम वा धम्की दिनुलाई अपराधको रुपमा व्याख्या गरेको छ । सरकारी अधिकारीहरुका अनुसार ती युवक थाइ कानुन अनुसार ३ देखि १५ वर्षसम्म जेल जान सक्छन् ।
गत साता राजसंस्था र सरकारविरोधी प्रदर्शनको क्रममा ती युवकले राजपरिवारको व्यंग्य गर्दै राजाको जस्तै पोशाक लगाएर प्रदर्शन गरेका थिए । बैंककको यान्नावा प्रहरी स्टेशन अगाडि ठूलो संख्यामा मानिसहरु भेला भएर सरकार र राजसंस्थाको विरोध गरेका थिए ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार थाइल्याण्डमा २ दर्जन भन्दा बढी अभियन्ताहरुमाथि सरकारले कानुन उल्लंघन गरेको भन्दै मुद्दा लगाएको छ । एक वर्ष भन्दा लामो समयदेखि यहाँ राजसंस्थाको विकल्प र प्रधानमन्त्रीको राजीनामा माग गर्दै बारम्बार प्रदर्शन हुँदैआएका छन् । हजारौँको संख्यामा स्कुले विद्यार्थीहरु समेत सरकारको विरवध गर्दै विभिन्न प्रदर्शनमा भाग लिएका छन् । कतिपय आन्दोलनको नेतृत्व नै स्कुले विध्यार्थीहरुले नै गरेका छन् ।
'प्रजातन्त्रवादीहरुको आन्दोलन' नाम दिइएको उक्त आन्दोलनमा नागरिक अभियन्ता, विद्यार्थी, राजनीतिकर्मी लगायत छन् । थाइल्याण्डका राजाको विलाशी जीवनशैलीको आलोचना हुनुका साथै शक्ति दुरुपयोग गरेको भनी आन्दोलनकारीहरुले यसको विकल्प खोजेको भन्दैआएका छन् ।