उखुमा दुःख
जनकपुरधाम : किसानले पहिला उखु खेतीबाट नगद आम्दानी देखे। धान, गहुँ, मकै छाडेर उखु उब्जाउन थाले। ‘मैले जीवनमा उखु खेतीबाटै हजारको नोट देखेको थिएँ’, महोत्तरीको बर्दिबास–६ किसाननगरका नीलबहादुर लुम्रे भन्छन्, ‘पहिले उखु लिएको १५ दिनमै भुक्तानी दिन्थे।’
तर, उखु खेती बढेपछि मिल मालिकको मन बदलियो। उखु लिएर भुक्तानी दिन झुलाउन थालेको उनको अनुभव छ। ‘खेतमा उखु खेती गर्न थालेपछि अन्न किनेर खानुपर्ने भयो। तर, मिलले उधारोमा उखु लिएर भुक्तानी समयमा दिन छाडे’, उनी भन्छन्, ‘चुलो बाल्नै मुस्किल पर्न थाल्यो। त्यसपछि मैले त उखु खेती नै छाडें।’ डेढ बिघामा उखु लगाउने उनी धान, गहुँ, मकै खेतीमै फर्किएका छन्।
बर्दिबास–१३ बिजलपुराका रामप्रकाश महतोले पनि उखु खेती छाडेका छन्। पसिना बगाएर उब्जाएको उखुको रकम उद्योगीबाट उठाउन आँसु बगाउनुपरेकोमा चित्त नबुझेको उनी सुनाउँछन्। ६ वर्षयता उनले एक धुरमा पनि उखु लगाएका छैनन्, पहिला एक बिघामा खेती गर्थे। ‘चिनीको मूल्य बढ्यो तर किसानको उखुको भाउ बढ्दै बढेन’, उनी भन्छन्।
उखुको मूल्य उद्योगीले नै तोक्थे। किसानको आन्दोलनमा उत्रिएपछि सरकार, उद्योगका प्रतिनिधिको त्रिपक्षीय बैठकबाट तोक्न थालिएको छ। सरकारले ‘क्रसिङ सिजन’ ०७७/७८ का लागि प्रतिक्विन्टल ५ सय ४४ रुपैयाँ तोकेको छ। किसानले ६ सय १७ रुपैयाँ माग गरेका छन्। मूल्य निर्धारण गर्न समयमै सहमति नजुट्दा उखु खेतमै सुक्न थालेको छ।
उखु साहुलाई, जग्गा बैंकलाईः काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार सर्लाहीका गगनदेव राय यादव उखु खेती गर्न लिएको ऋण तिर्न नसक्दा कृषि विकास बैंकले लिलामीअघि जारी गरेको २१ दिने ऋण चुक्तासम्बन्धी पत्र देखाउँदै। उनले चिनी मिलसँग उखु बेचेको ४ लाख रुपैयाँ लिन बाँकी छ। जब कि त्यही उखु लगाएको जग्गा धितो राखेर लिएको ऋण १० लाख नाघिसकेको छ । तस्बिर : अशोक दुलाल
किसानले ऋणमै उखु रोप्छन्। गोड्छन्, काट्छन्, मिललाई बुझाउँछन्। मिलवालाले उधारोमा उखु लिएर पेल्छन्। किसानले १२ महिना लगाएर उब्जाएको उखु २४ घण्टामै उद्योगीले चिनी बनाउँछन्। त्यही चिनी बेचेर उनीहरू अर्को उद्योग थप्छन्। किसानको उधारो तिर्न झमेला गर्छन्। उद्योगीले किसानलाई दुःख दिन थालेपछि उखु खेती घट्दो छ। खेतीबाट किसान पलायन भएपछि विदेशबाट चिनी आयात गर्ने क्रम बढ्दो छ। ‘हजुर ! चलान दिनुपर्यो। उखु खेतमै सुक्न थाल्यो। लिइदिनुपर्यो। मिलका जीएमलाई किसानले हात जोडेर बिन्ती चढाउनुपर्छ’, गौशालाका रामभजन महतो भन्छन्, ‘आफ्नै लगानीमा उब्जाएको फसल बिक्री गर्न मिललाई बिन्ती गर्नुपरेपछि किसानहरू उखु खेती छाड्दै गएका छन्।’ नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली ०७६/७७ मा देशभरि १ करोड ४० लाख क्विन्टल उखु उत्पादन भएको सुनाउँछन्। यस वर्ष घटेर १ करोड २० लाख क्विन्टलमा झर्ने अनुमान छ। ०७५/७६ मा २ करोड ३ लाख क्विन्टल उखु उत्पादन भएको थियो।
‘तीन वर्षदेखि लगातार उखु खेती घट्दो क्रममा छ। चिनी मिल सिजनभन्दा ढिलो चलेर खेतमै उखु सुक्नु, मिलले किसानलाई भुक्तानी दिन दुःख दिनु, सिचाइको अभाव, उन्नत जातको बीउबिजन, मदखाद्यको अभाव, राज्यको उदासीनताले बर्सेनि २०–३० प्रतिशतले उखु खेती घट्दै गएको छ’, अध्यक्ष मैनाली भन्छन्। उखुको भुक्तानी नपाएपछि किसानहरू सातादेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन्।
आन्दोलन रोक्न अस्वीकार
उखु किसानले बक्यौता भुक्तानीका लागि स्पष्ट कार्यविधि नआउँदासम्म आन्दोलन स्थगन नगर्ने बताएका छन्। माइतीघरमा आइतबारदेखि धर्ना दिइरहेका किसानले शुक्रबार भुक्तानीको सुनिश्चितता नहुँदासम्म अन्दोलन नरोक्ने अडान लिएका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार भुक्तानी प्रक्रिया सुरु हुने प्रतिबद्धता जनाउँदै आन्दोलन स्थगन गर्न आग्रह गरेका थिए। ‘कम्तीमा पनि एक साता आन्दोलन रोक्नुहोस्’, मन्त्री भट्टले धर्नास्थल माइतीघर पुगेर भने, ‘भुक्तानी भएन भने फेरि धर्ना बस्नुहोला।’ उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले भुक्तानीको ठोस आधारसहित कार्यविधि आएपछि वार्तामा बस्ने जानकारी दिए।