‘अब १०–१२ दिन असाध्यै निर्णायक’

‘अब १०–१२ दिन असाध्यै निर्णायक’

काठमाडौं : सत्तारुढ दल नेकपाभित्रको विवाद ‘भुसको आगो’झैं भित्रभित्रै दन्किँदो छ। समाधानको सूत्र खोजी सहमतिको दिशामा जाने होइन कि विगतमा एकले अर्काे पक्षलाई गरेका व्यवहार आद्योपान्त कोट्याउँदै विवाद बढाउनेतिर लागेको देखिन्छ। अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच शुक्रबार साँझ बालुवाटारमा भेट पनि छलफल आरोप÷प्रत्यारोपमै अल्झिएको छ।

जसरी विवाद चर्किंदै गएको छ उसरी नै दुवै पक्षका गुटगत भेला तीव्र गतिमा हुन थालेका छन्। दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रदेश १ अन्तर्गतका जिल्ला पदाधिकारीको भेला शुक्रबार पेरिसडाँडास्थित जनवर्गीय संगठनको केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ। ओली पक्षका नेताले पनि मदन भण्डारी फाउन्डेसनमार्फत जिल्लास्तरीय भेलालाई तीव्र बनाइरहेका छन्।

दाहालले पेरिसडाँडा भेलामा कि सहमति कि विभाजन कि संसद्बाटै संकट सामना गरेर जानुपर्ने निर्णायक अवस्थामा नेकपा पुगेको बताएका थिए। दाहाल र नेपाल शुक्रबार गुट भेलामा सहभागी मात्रै भएनन्, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेट गरे। दुवै पक्षले उक्त भेटमा के कुरा भयो भनेर खुलाएका छैनन्।

भेलामा प्रदेश १ का १४ जिल्लाका जिल्ला इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तथा केन्द्रीय सदस्य सहभागी थिए। उक्त भेलालाई दाहाल, वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनालले सम्बोधन गरेका थिए। तीनै नेताले ओलीलाई निषेध होइन, नियन्त्रण गर्न खोजिए पनि नसकिएको भन्दै अब निर्णायक संघर्षमा जुट्न आफूनिकट नेता–कार्यकर्तालाई अपिल गरेका थिए। उक्त भेलामा सम्बोधन गरेका मुख्य तीन नेताको अभिव्यक्तिको मुख्य सार यस्तो थियो :


अब त्यत्तिकै छोडिँदैन

पुष्पकमल दाहाल, अध्यक्ष
 

मैले लामो समयसम्म केपी शर्मा ओली कमरेडलाई सहयोग गरें। दुई अध्यक्ष भएर बसियो। उहाँले भनेका प्रत्येक कुरा मैले मान्दै गएँ। पार्टी एकता गर्दा बैठकको अध्यक्षता आलोपालो गर्ने भनिएको थियो। उहाँले  होइन, मलाई अध्यक्षता गर्न दिनुस् भन्नुभयो, मैले हुन्छ भनें।

मलाई एक नम्बर अध्यक्ष भन्नुस् न, जे भए पनि मैले तपाईंको भन्दा बढी भोटो फटाएको छु। उहाँ ९ साले र म ०१२ साले परें। तपाईंभन्दा मैले तीनवटा भोटो बढी फटाएको छु। मलाई १ नम्बर अध्यक्ष बन्न दिनुस् भन्नुभयो। उहाँले निकैचोटि भनेपछि त्यो पनि मैले मानें।

प्रधानमन्त्रीका रूपमा पार्टी एकता गर्दा आलोपालोको कुरा थियो। कार्यकाल बाँड्ने कुरा थियो। कार्यकाल नबाडौं भनेर उहाँले मरिहत्ते गर्नुभयो। त्यो पनि मैले मानें। हरेक कुरा मान्दै गएँ। एउटा समयमा आएपछि उहाँ यो ठाउँमा आइपुग्नुभयो कि कार्यकारी अध्यक्ष भन्ने पनि मतलब छैन भन्ने ठाउँमा पुग्नुभयो।

उहाँसँगै मिलेर जाऔं भन्ने भन्दा पनि नेता–नेताका बीचमै फाटो पार्ने, एकअर्काेलाई जुधाउनेतिर मात्र लाग्नुभयो। सिद्धान्तलाई छोड्ने, आदर्शलाई छोड्ने र केवल स्वार्थसँग जोडिएको राजनीति मात्र गर्ने काममा उहाँ लाग्न थाल्नुभयो। अन्तत: त्यसको परिणामस्वरूप दुई अध्यक्षका रूपमा पहिले व्यवस्थापन गरिएको कुर्सी हटाउने काम पनि गर्नुभयो। त्यो बेलादेखि वास्तवमै मलाई त्यो कुर्सीतिर होइन, बाँकी सचिवालयका ७ जनातिर लाग्नुपर्छ भन्ने भयो। कमरेड केपी ओलीले मलाई धकेलेर त्यो ठाउँमा पुर्‍याउनुभयो।

अब दुई नेताले मात्र हुने होइन, कमिटी प्रणालीलाई स्थापित गर्नुपर्छ। अब तपाईंहरू भ्रममा नपरे हुन्छ। बहुमत सदस्य हामीसँग छौ कि छैनौं भन्ने उहाँहरूलाई बाहिर परिरहेको थियो। राष्ट्रपति कार्यालयमा संख्या हस्ताक्षर गरेर बुझाएपछि संख्या पुष्टि भएको छ। केही साथीले अहिले तत्काल नाम नखोलौं तर निर्णायक पर्‍यो भने हामीलाई खोल्नु भनेको हिसाबले हामी ११० जनाजति त प्रतिनिधिसभाका सांसद नै छौं।

हामीले राष्ट्रपति निवासमा दर्ता गर्न लगिसकेका कारण मात्र उहाँ अध्यादेश प्रकरणबाट पछि हट्नुभएको हो। नत्र उहाँ पछि हट्ने पक्षमा हुनुहुन्नथ्यो। त्यसकारण अब छोडिँदैन, त्यत्तिकै।

अध्यादेश फिर्ताको निर्णय भइसकेको छ पार्टीमा। तर, उहाँले अझै आनाकानी गरिरनुभएको छ। तापनि राजनीतिक रूपमा औचित्य सकियो। कमिटीमै बोलिसक्नुभएको छ। प्राविधिक रूपमा उहाँले अब कसरी फिर्ता गर्नुहुन्छ उहाँको कुरा हो। मैले हिजो मात्र भेट््दा म फिर्ता गरिहाल्छु। एकचोटि राष्ट्रपतिलाई भेटेर फिर्ता गर्छु भन्नुभएको छ। अध्यादेशको राजनीतिक औचित्यता सकियो।  उहाँले फिर्ता गर्नु भएन भने हामी पनि नयाँ स्टेप चाल्छौं। 

एक÷दुई जना मिलेर अब यो समस्याको समाधान हुँदैन। कमिटीमै छलफल गरेर समाधान खोज्ने हो। यो १०–१२ दिन भनेको असाध्यै धेरै निर्णायक छ। १०– १२ दिनमा हामीले संसद् खोल्नुपर्ने हुन्छ। उहाँले १०–१२ दिनभित्र कि सहमति गरिसक्नुपर्ने हुन्छ कि १०–१२ दिनभित्र उहाँले पार्टी फुटाइसक्नुपर्‍यो,  कि संसद्मा फेस गर्न तयार हुनुपर्‍यो। अबको कुरा यत्ति हो। संसद्मा फेस गर्न उहाँ सक्ने स्थितिमा हुनुहुन्न।  
०००

ओलीजी नियन्त्रणमा बस्न चाहनुभएन

माधवकुमार नेपाल, वरिष्ठ नेता, नेकपा
 

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन ठूलो बनाउने, कम्युनिस्ट पार्टीहरू एक बनाउने भन्दा पनि प्रधानमन्त्री हुन मात्र पार्टी एकता गरेको अहिले देखिएको छ। जबज (जनताको बहुदलीय जनवाद) पनि उहाँलाई त्यतिबेला चाहिएन। उहाँले जबज प्रधानमन्त्रीसँग त्यस बेला नै साटिसक्नुभएको हो। अहिले आएर फेरि जबजको कुरा गर्न थाल्नुभएको छ। त्यस बेलै उहाँले छोड्नुभएको हो।

प्रधानमन्त्री बन्न उहाँ जे पनि गर्न तयार हुनुहुन्थ्यो। अहिले सहमति भने पनि केपी कमरेडले केही पनि टेर्नुहुन्न। हाम्रै अगाडि ढाँट्नुहुन्छ, छल्नुहुन्छ, विश्वास गर्ने कुनै आधार छैन। कमिटीले नै गरेको निर्णय उल्लंघन गर्नुहुन्छ। अध्यादेश प्रकरणसम्म आइपुग्दा त्यो देखिएको छ।

हामीले केपी ओलीलाई अध्यक्ष बनायौं, प्रधानमन्त्री बनायौं। पार्टी एकता गर्दा खुसुक्क गर्नुभयो। दुई जनाले पद बाँड्नुभएछ। हामीले हामीलाई नसोधी किन गर्नुभयो भनेर पनि सोधेनौं। राम्रो काम गर्नुभयो भनेर सुरुआत गर्दा असल उद्देश्यले काम गर्दा कतिपय कुरा स्वीकार गर्नुपर्छ भनेर हृदयदेखि स्वागत पनि गर्‍यौं। तर, समय बित्दै जादा उहाँले पहिले प्रचण्डजीसँग मिलेर निर्णय लिन थाल्नुभयो। मलाई कर्नरमा पार्न थाल्नुभयो।  पछि प्रचण्ड कमरेडलाई पनि धोका दिन थाल्नुभयो। हामी त यसै धोका खाएर, दु:ख पाएर बसेकै थियौं। पछि प्रचण्डले पनि त्यही अवस्था खेप्नुभयो। यही बीचमा हाम्रा छलफल हुँदै गए, यसरी पार्टी चल्दैन भन्ने भयो।

र, आज हामी सबै यो पार्टी बचाउनका लागि एक ठाउँमा आइपुगेका छौं। दु:ख पाएका, हेपिएका, धोका खाएकाहरू एक ठाउँमा हुन्छन्, त्यही भएको छ।

केपी ओलीलाई हामीले निषेध गर्न कहिल्यै पनि खोजेका होइनौं। उहाँका गल्ती काममा यो गल्ती भयो भन्न खोजेका हौं। उहाँलाई मौका दिनुपर्छ, काम गर्न दिनुपर्छ भनेर मै हो लागेको, तपाईहरूलाई नै सम्झना छ। अहिले केपी ओलीले सबै विधि पद्धति उल्लंघन गर्ने मात्र होइन, कुप्रचार गर्ने, पोक्सिखालको अव्यावसायिक मिडिया खडा गर्ने, मनपरी लेख्न लगाउने, भएका विषयवस्तुलाई तोडमोड गर्ने, निर्णय पालना नगर्ने, हिजो अस्ति आफैँले हस्ताक्षर गरेको निर्णय आफैँ उल्लंघन गर्दै  हिँड्ने र राष्ट्रपतिलाई समेत विवादमा पार्नेजस्ता यावत् काम उहाँले गर्नुभएको छ।

उहाँले पार्टीको विधि पद्धति, आदर्श, नैतिकता अनुशासन सबै उल्लंघन गरेर यो पार्टी अप्ठ्यारोमा पर्‍यो र यसको मूल जड कमरेड ओली नै हो भनेर उहाँलाई नियन्त्रण गर्न खोजिएको हो। तर, नियन्त्रणमा बस्न नचाहेर मै सर्वेसर्वा भएपछि पार्टीमा अहिले बहस चलेको छ। हिजोका कुरा, आज भएका कुरा सबै तपाईंका अगाडि राखेका छौं। अब तपाईंहरू पार्टीको विधि पद्धति, विधान सबैको पक्षमा दह्रोसँग लाग्नुस् र आफ्नो ठाउँमा भूमिका खेल्नुस्।

०००

हामीले गुटबन्दी गर्न खोजेका होइनौं

झलनाथ खनाल, वरिष्ठ नेता
समाजवाद कहाँबाट आयो खै ? समाजवादको बाटो यही हो ? पार्टी र सरकार दुइटा मोर्चा हामीसँग छ। पार्टीसँग सल्लाह गरेर नीति योजना बनाएर समाजवादको आधार तयार पार्नुपर्ने हो। समाजवाद बोक्ने सरकारले होइन, कम्युनिस्ट पार्टीले हो। तर, कम्युनिस्ट पार्टीले बोक्नुपर्ने सरकार। तर, कम्युनिस्ट पार्टीसँग कुनै सल्लाह छैन, मनखुसी गरेको छ। समाजवादको  आधार तयार पार्ने गरी अर्थतन्त्रको विकास गर्ने मोडेल छैन। यस्तो बेलामा समाजवाद स्थापना हुने स्थिति छैन।

समाजवाद नै उहाँले नचाहेको हो। उहाँले पूर्ण प्रजातन्त्र भनेर आफ्नो डकुमेन्टमा लेख्नुभएको छ। समाजवादतिरै उहाँको ध्यान छैन। कम्युनिस्ट पार्टी नै ठीक ढंगले चलेन। कम्युनिस्ट पार्टी ठीक ढंगले नचलेपछि सरकार ठीक ढंगले चल्ने कुरै भएन। यो सम्पूर्ण बेथितिको जिम्मेवार कमरेड केपी ओली हुनुहुन्छ। यो बेथितिलाई टुंग्याउने र पार्टी बचाउने विषयमा अहिले संघर्ष परिरहेको हो। यसमा ओलीले आफ्नो राजनीतिक हैसियत, क्षमता गुमाइसक्नुभएको छ। हामीसँग कुनै विवाद छैन। हामीले कुनै गुटबन्दी गर्न खोजेको पनि होइन। म झलनाथको केही गुट छ भने भन्नुस् ? केपी ओलीलाई तपाईंले के गर्नुभयो भनेर होइन, तपाईंले के गर्नुपर्छ भनेर सचेत गराउन खोजेका हौं। तर, उहाँले हाम्रा कुरा टेर्नुभएन। मान्नुभएन। अबको विकल्प भनेको परिवर्तनतिर जाने हो। उहाँलाई नियन्त्रण गर्ने दिशातिर राजनीति जाँदै छ। त्यसकारण तपार्इंहरू एक भएर लाग्नुस्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.