‘फैसला पूर्वाग्रही’

‘फैसला पूर्वाग्रही’

धनगढी : रेशमलाल चौधरीलाई रिहाइ नगरेको र जिल्ला अदालतको फैसला उल्ट्याउँदै लक्ष्मण थारूलाई जन्मकैदको सजाय थप गरिएको विरोधमा थरूहट थारूवान राष्ट्रिय मोर्चाले आन्दोलन गर्ने भएको छ। मोर्चाले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी अदालतको फैसला  राजनीतिक पूर्वाग्रहमा आएको आरोप लगाएको छ। 

‘उच्च अदालतको फैसला पूर्वाग्रही छ, जिल्ला अदालतले तीन वर्षको सजाय तोकेर रिहा गरेका नेता लक्ष्मण थारूलाई समेत जन्मकैदको सजाय सुनाइएको छ, यसमा  मोर्चा भत्र्सना गर्दछ’ पत्रकार सम्मेलनमा थरूहट थारूवान राष्ट्रिय मोर्चाका केन्द्रीय सल्लाहकार कृष्णकुमार चौधरीले भने।

उनले, यस मुद्दामा सर्वोच्च जाने बताए। ‘टीकापुरको घटना राजनीतिक घटना हो, राजनीतिक घटनामा जन्मकैद हुने भएपछि,  साबिक काग्रेस, एमाले र माओवादीका नेतालाई पनि हुनुपर्छ’ उनले भने। ‘हामीहरू न्यायका लागि सर्वोच्चको ढोका ढकढक्याउने छौं।’

उच्च अदालत दिपायलले बिहीबार टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशमलाल चौधरीको जन्मकैदको सजाय कायम राख्दै उनलाई ज्यान मार्ने उद्योगमा थप पाँच वर्ष जेल सजाय तोकेको थियो। यस्तै नेता लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय तोकेको थियो।

२०७५ साल फागुन २२ गते कैलाली जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको इजलासले रेशमलाल चौधरीलाई जन्मकैदको मात्रै सजाय तोकेको थियो भने लक्ष्मण थारूलाई तीन वर्ष कैद तोकेको थियो। लक्ष्मणसहितका ११ जनाले तीन वर्ष पुर्पक्षमै बिताई सकेकाले उनीहरू जिल्ला अदालतको फैसला आएकै दिन रिहा भएका थिए। उच्च अदालत दिपायलका न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको इजलासले, जिल्ला अदालत कैलालीले जन्मकैद तोकेका चार जना सुन्दरलाल कठरिया, वृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार चौधरीलाई पाँच/पाँच वर्ष कैद मात्रै फैसला गरेको छ। उच्च अदालतले उनीहरूको कैद कटौती गरेको हो। 

तर उच्च अदालतले, जिल्ला अदालतले तीन वर्ष कैद सजाय गरेर रिहासमेत भइसकेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्र्रेमलाल चौधरीको फैसला उल्ट्याउँदै १० वर्ष कैदको फैसला गरेको छ।

उच्च अदालतले १० वर्ष कैद सजाय पाएका नाबालक श्रवणकुमार चौधरीको हकमा जिल्लाकै फैसला सदर गरेको छ भने जिल्ला अदालतले तीन वर्ष सजाय तोकेका विश्राम चौधरीलाई भने सफाइ दिएको छ। ‘हामीहरू माथि अन्याय भयो, अधिकारको आन्दोलनलाई आपराधिक आन्दोलन बनाइयो, अब हामीसँग आन्दोलनको विकल्प छैन’ जनता समाजवादी पार्टीका कैलाली जिल्ला अध्यक्ष गयाप्रसाद कुश्मीले भने।

टीकापुर घटनामा आठ जना सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो। रेशम चौधरीसहितका ५८ जनाका विरुद्ध पीडितहरूले कर्तव्यज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी गरी तीन थरीका मुद्दा दिएका थिए। ५८ जनाविरुद्ध मुद्दा दर्ता गरिए पनि, २४ जना मात्रै पक्राउ परेका थिए। बिहीबार, वादीका तर्फबाट वरिष्ठ अधिवक्ता राजेन्द्रसिंह साउद, सरकारी न्यायाधिवक्ता टेकबहादुर थापासहित तीन जनाले बहस गरेका थिए भने प्रतिवादी रेशमलाल चौधरी, लक्ष्मण थारूसहित अधिवक्ताहरू गम्भीरसिंह ऐर, गजेन्द्र केसी, नाथुराम महतो, गंगाराम पाध्याय र काठमाडौंबाट आएका दुई जना अधिवक्ताले बहस गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.