राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत पाँच कविता

राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत पाँच कविता

नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवको ५१औं शृंखला सम्पन्न गरेको छ। प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा असार ९ गते आयोजना हुने महोत्सव विश्वव्यापी कोरोना संक्रमणका कारण यस वर्ष मंसिर ३० गते भएको हो। काव्य विभाग प्रमुख एवं महोत्सव संयोजक प्रा.डा. हेमनाथ पौडेलका अनुसार, पहिलोपटक २०२२ सालमा भएको प्रतियोगितामा भैरव अर्याल पहिलो, बानीरा गिरी दोस्रो, गोविन्द भट्ट, रत्नदेव शर्मा र श्यामदास वैष्णव तेस्रो भएका थिए। त्यतिबेला पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश: आठ सय, पाँच सय र तीन/तीन सय रुपैयाँ दिइन्थ्यो भने अहिले उक्त पुरस्कारको राशि क्रमश: ५० हजार, ४० हजार र ३०/३० हजार रहेको छ। डा. पौडेल भन्छन्, ‘‘हालसम्म २५५ जना कवि पुरस्कृत भए। तीमध्ये २०२२–२०४६ सालका कविता समेटेर ‘कविता महोत्सव : २५ वर्ष’ र २०४८–२०७६ सालका कविता समेटेर ‘राष्ट्रिय कविता महोत्सव : पुरस्कृत कविता’ गरी दुई कृति प्रकाशन भएका छन्।’ प्राज्ञ सभा गठन हुन नसक्दा २०४७ साल र २०६३–२०६६ सालमा महोत्सव हुन नसकेको उनको भनाइ छ। यस वर्ष पुरस्कृत पाँच कविता :


नेपालको गीत

-प्रथम
 

भैरवी भूगोल
 
ओढेर एक डँडाल्नो घाम
खाएर एक फाँको हावा
बाँचिरहेछ
यो घामपानीको जीवन।
थाहा छैन कुन धातु
सक्रिय छ मभित्र
र उच्चानुभूति गरिरहन्छु
म आफूमा।

लाग्छ,
तराईको फाँटजस्तै
फराकिलो बनाइदिऊँ—
मानिसको छाती,
सगरमाथाजस्तै उच्च बनाइदिऊँ
नेपालीको शिर,
ज्ञान, विज्ञानको माटोले
भरिपूर्ण बनाइदिऊँ
मानिसहरूको मस्तिष्क
र त्यहीँबाट उमारौं
समानताको शिरुवा
विकास गरौं—
मानव समाजको
विभेदरहित अध्याय।

समस्त मानव जीवनहरूमा
भरिदिऊँ इन्द्रेणीका रङहरू,
कहिल्यै नदुख्ने बनाइदिऊँ
अस्ताउन लागेका
घामहरूका देब्रे छाती
र हरेक रात गस्तीमा निस्किँदा
नभेटियून्
आकाश ओढेर
धर्ती ओछ्याइरहेकाहरू।
सबैलाई टन्न अघाइदिऊँ
कसैको नखोसीकन,
सबैलाई बराबर उठाइदिऊँ
कसैलाई नहोच्याईकन,
कहिल्यै नदुखून् खाडीमा
श्रमका क्यालकुलेटरहरू
र पूरै सफा बनाइदिऊँ
झन्डा मैलाइरहने
धुलाम्य सडकहरू।

युगौंदेखि नक्साको साक्षी बसिरहेको सूर्य
उस्तै उदाइरहोस् अनन्तसम्म
विशाल नेपालको फलकमा,
संगच्छध्वम् संवदध्वम्
शिरोपर गरेर
जपिरहौं चरैवेतीको मन्त्र
निर्माण गरौं समृद्ध नेपाल।
अनि
नेपाली मन, पहिचान बोकेर 
समतामूलक समाजमा
स्वतन्त्रतापूर्वक बाँचिरहून्
मेरा सन्ततीहरू
गाइरहून् नेपालको गीत
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। 
 

-नुवाकोट


संकल्प

-दोस्रो
      
प्रज्वल अधिकारी

श्रमलाई बादल बनाइदिन्छु 
र, मेघसँग ठोक्काएर 
बर्साइदिन्छु पसिनाको झरी 
र, भिजाइदिन्छु—
कलेटी परेको धर्तीको ओठ।

निधारलाई फाँट बनाइदिन्छु 
र, मेहनतकोे कलमले
देखिने गरी नै लेखिदिन्छु
कर्मका सुनौला अक्षरहरू।

दिमागको खोपिल्टोमा विचारको बीउ छर्छु 
र, हराभरा बनाउँछु— बाँझो मगज
ओठको आँगनमा मुस्कानको फूल फुलाउँछु
र, खुसीको बगैंचा भएर मगमगाउँछु
हृदयको गरामा भावनाको खेती गर्छु 
र, प्रेमको भकारीमा मायाले भरिन्छु।

आँखामा देश सजाइदिन्छु
आँखीभौं र परेलालाई
सुरक्षार्थ खटाइदिन्छु।

बोलीलाई मन्त्र बनाइदिन्छु
हातलाई यन्त्र बनाइदिन्छु
गोडालाई यात्री बनाइदिन्छु।

छातीलाई बनाएर पर्खाल
मुटुजस्तो कोमल देश
जोगाउन हरदम लागिपर्छु
र, धड्काइरहन्छु देशको ढुकढुकी।
 
नंग्रा खियाएर
उदास डाँडाहरूमा पोतिदिन्छु हरियो रङ
ढाडलाई बनाइदिन्छु— देशको मेरुदण्ड 
र मजबुत काँधले जुरुक्कै उचालेर—
देशको स्वाभिमान
पूरा गरिदिन्छु— सन्तान हुनुको अभिभारा
यो मेरो कायालाई देश बनाइदिन्छु !

यति गर्दागर्दै सकिएछ भने मेरो देह
नि:सन्देह म माटो बनिदिन्छु।

-लमजुङ 



तेस्रो भएका तीन कविता

समृद्ध नेपालको सपना 

-रेजिना आपगाईं

हृदयमा शान्तिका मुनाहरू अंकुरित भएपछि
सगौरव तिम्रो समीपमा आइपुगेको छ 
यो शान्तिदूत, 
मेरी प्रिया !
म श्रीअन्तुको सूर्योदयसँगै 
आइपुग्ने छु अपिसैपालमा 
पोल्टाभरि शान्तिका सगुनहरू लिएर 
तिमी शिरमा हिमशैलका शिरताज पहिरिएर 
तराईका उर्वर फाँटका रातानीला 
पछ्यौरी ओढेर मलाई पर्खेर बस है। 
हामी प्रणय सफरमा निस्कौंला एकैसाथ 
पुगौंला रारा, फेवा अनि महाकाली, 
र गुञ्जाऊँला समृद्ध नेपाल निर्माणको 
मीठो धुन,   
चाँदनीले परेलाहरू नझिम्क्याउँदै 
तरौंला सप्तकोसी 
र पुगौंला कञ्चनजंघा 
हामी सँगै गाऊँला हाक्पारे र पालाम।

अनि च्याब्रुङ ढोल बजाऊँला र नाचौंला 
साकेला र धाननाच। 
तिमी षोडशी यौवनको उन्मादले 
मदहोस बनेको बेला 
हामी तिनजुरेको गुराँसमाथि 
मधुरात्रि मनाऊँला 
र रोपौंला तिम्रो गर्भमा 
शान्तिको वंशाणु 
अनि जन्मने छ 
यो देशको भविष्य। 
        
नेपाल आमाका वक्षस्थलमा 
पराईले रोपेका अतिक्रमणका 
भालाहरू निकालेर 
ठड्याऊँला जंगे पिलर 
मेची–महाकालीभन्दा पर, 
टिष्टा काँगडाभन्दा अझै पर 
अनि कोरौंला हाम्रा रगतका मसीले 
नेपालको अकाट्य मानचित्र 
त्यसबेला 
हामी एकजोर सेता परेवा उडाएर 
विजयोत्सव मनाऔंला 
बालेर शान्तिको अखण्ड दीप 
हेरौंला तीन करोड आँखाले 
सुन्दर, शान्त र समृद्ध नेपाल। 
 - तेह्रथुम


आमाको आदेश

-गणेशप्रसाद खतिवडा 

बाँधी कर्मठ पाखुरा युवक हो हेरेर बस्छौ किन ?
तिम्रो आरन तान हाल अहिल्यै यो देशमा पाइन
हे कुञ्जो, बसिला, छिनो र घनले आशा जगा देशका
चिल्लो पार्न मुहारमा मुलुकको बिर्खे तँ रन्दा लगा।

एकै आँगनमा फुल्यो बहुलता हुक्र्यो यहीँ एकता
जंगे पिल्लर कुर्दछस् दशगजा लौ हाल तेरो बता
वैरी हेर्छ कुदृष्टिले यदि भने जा मार्न भाला खुँडा
हे मुंग्रो अब वैरभाव सब ठोक् अस्तित्व मेरो बचा।

माटोभित्र भविष्य कोर्दछ हलो बाँझो फुटालीकन
भर्सेलीतिर सुक्दछन् सरङमा आला तिता अड्चन
नौनी खार्न समृद्ध पार्न सपना ठेकी मदानी चला
लिस्नो बन् अब देश उक्लिन सकोस् उत्थानका नौ तला।

दाँदे स्वच्छ विचारको जमिनमा गाडूँ हुँडल्दै हिलो
डल्लेठो अब आ फुटा विकृतिका डल्ला बना थङ्थिलो 
नर्सिंहा अब आ र जागरणको चर्केर सन्ध्या जगा
ट्याम्को मादल खैंजडी मुलुकको विस्तारको गान गा।

कस्तो मौसम प्राप्त भो मुलुकमा साह्रै सफा निर्मल
आमाको स्तन पोसिलो छ जसरी त्यस्तै हिमाली जल
सारा देश पखाल्न स्वच्छ जलले बग्ने नदी छन् कति
भ्रष्टाचार बगाइदे मनहरा आचारले वाग्मती।।

-सोलुखुम्बु


आमा : एक विश्वविद्यालय

देवकी अभिलाषी

चराहरूले मंगल गीत गाउनुअघि
जीवनको आरती गाउँछिन् आमा
अनि मात्र बिस्तारै खुल्न थाल्छन्
घरका श्यामश्वेत आँखाहरू।

अँध्यारोको अन्तिम गीत नसकिँदै
बज्न थाल्छ पँधेरोमा
संगीतको आदिम धुन
पानीका घैलाहरूमा सुरु हुन्छ
जीवनको प्रिय सिम्फोनी
कलिलो घाम बामे नसर्दै
फर्किन्छिन् आमा जंगलको रंगशालाबाट
र सल्काउँछिन् भोकजस्तै दाउराहरूलाई
अक्सर हरेक दिन
बनाउँछिन् आमा हाम्रो लागि
आँगनभरि उज्याला रङहरूको क्यानभास।

हामीले गाउँ छाडेपछि
वर्षौंदेखि एक्लै छिन् आमा
इतिहास जस्तो घरमा 
जुनकीरीहरू साथी छन्
बटुवाले हिँड्न भुलेका
रित्ता बाटोहरू जस्ता यादहरू साथी छन्
वर्षौंदेखि फ्रेममा बेहिसाब हाँसिरहेका
बाका धमिला तस्बिरहरू साथी छन्
लाग्छ
मेरी आमा
कसैले लेख्न नसकेको
एउटा अद्भुत महाआख्यान।

आमाको अनुहारभरि छन्
पहाडी बाटोजस्तै नागबेली सपनाहरू
जुन बाटो हिँडेर आइपुगेको हुँ म
सपनाको आधार शिविरसम्म
हिउँजस्तै फुलेको केस
सुरुङजस्तै गहिरिएका आँखा
हिँड्न सिकाउने आमाका प्रेमिल औंला
पृथ्वी थामिरहेका खुट्टा
आफ्नै जिन्दगी भन्दा गह्रांै
आकाश बोकिरहेको शिर
हरेक दिन पढिरहेछु म आमाको आँखामा
प्रेमको अन्तिम सौन्दर्यशात्र।

एक साँझ
सहरमा लोरी गाइरहेका चराहरूसँग
म पनि उडेर गए गाउँमा
र भेटें आमालाई
बूढो जूनजस्तै आमाको काखमा
बगिरहेथ्यो एउटा कर्णाली।
अहो ! मलाई मेरी आमा
धरतीको सबभन्दा
महान् विश्वविद्यालय लाग्छ।

दोलखा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.