एउटै बोका १८१ किलो

एउटै बोका १८१ किलो

सन्धिखर्क : डिभर्नाका किसान गोपाल बस्यालले पालेको एउटा बोयर बोका १ सय ८१ किलोको छ। यो बोका हेर्न जिल्ला मात्र होइन, बाहिरबाट मानिस आउने गरेको बस्याल सुनाउँछन्।

बोयर बाख्रा छिटो बढ्ने, मासु धेरै हुने, पाल्न पनि सजिलो हुने भएकाले अर्घाखाँचीसहित विभिन्न जिल्लाका किसान यसको पालनमा आकर्षित भएका छन्। अरू जातको बाख्राभन्दा बोयरमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने किसान बताउँछन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्ना बोयर बाख्रा उत्पादनस्थल बनेको छ।

डिभर्नाकै गीता भुसालले दुई माउ बाख्रा मात्रै पालेकी छन्। भुसालले तिनै बाख्राका पाठापाठी बेचेर वार्षिक ३ लाख रुपैयाँ आम्दानी गरेकी छन्। तीन वर्षमा बोका र पाठी बिक्रीबाट ७ लाख रुपैयाँ कमाएको उनको भनाइ छ। ‘धेरै पाल्नु पनि पर्दैन। दुःख पनि छैन। मैले दुई बाख्रा स्याहार गरेकी छु। ७ लाख कमाएँ’, उनी भन्छिन्, ‘२ लाखका पाठापाठी तयार छन्।’

उनी मात्र होइन, डिभर्नाका किसानले बोयर बोका बिक्रीबाट मनग्य आम्दानी गर्न थालेका छन्। स्थानीयवासी बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन्। मासुजन्य उत्पादकत्व सुधार तथा बोयर वर्णशंकर उत्पादन कार्यक्रमअन्तर्गत जालकाँडा बोयर बिडर हट पशुपालन तथा कृषि सहकारी संस्थामा आबद्ध किसानले बोयर बोका प्रयोग गरी उत्पादनमा तेब्बर वृद्धि गरेका छन्।

०७३ साल मंसिरमा अस्टे«लियाबाट ३ लाख रुपैयाँका दरले १२ वटा बोयर बोका ल्याइएको थियो। 

परम्परागत रूपमा पालिँदै आएका खरी जातका बाख्रामा बोयर ‘क्रस’ गराएर ६ महिनामै ४० किलोसम्मको हुन थालेपछि बाख्रापालन फस्टाउँदै गएको छ।

डिर्भनामा २०७३ मा  १२ र २०७४ मा चार बोयर बोका वितरण गरिएको थियो। ‘०७३ साल मंसिरदेखि बोका पाएका थियौं। गाउँका १ सय ५३ घरधुरी संलग्न रहेको समूहले अहिले १५ सय बाख्रापालन गर्दै आएको छ’, सहकारीका अध्यक्षसमेत रहेका बस्याल भन्छन्, ‘बोयर जातको बोकाबाख्रा लगाई उत्पादनमा तेब्बर वृद्धि भएको छ।’ उनका अनुसार एउटा पाठा वा पाठी जन्मिँदा नै ४ देखि ५ किलोको हुन्छ। ‘पहिलेको काठे बाख्रापालनमा १ वर्षमा २५ किलो हुन्थ्यो भने बोयर जातको बोका ल्याएपछि चार महिनामै ३० किलोको हुन्छ’, उनी भन्छन्, ‘वार्षिक एक  बोकाको मासु एक क्विन्टलभन्दा बढीको हुन्छ। बाख्राले पनि ३–४ वटा पाठापाठी पाउँछ।’ व्यवस्थित खोर बनाई बोकालाई बाँधेर राखिएको उनको भनाइ छ।

सुरुआत भए पनि सहकारी सदस्यसँग तीनदेखि ३५ वटासम्म बाख्रा छन्। अध्यक्ष बस्यालसँग २५ वटा छन्। स्थानीय किसानले बोयर क्रसबाट जन्मिएका पाठापाठी बिक्रीबाट मात्र साढे ७ करोडको कारोबार गरेका छन्। गाउँका सबैले बोयर बाख्रा पालेका छन्। ४ हजार बोयर बाख्रा ३६ जिल्लामा निर्यात गरिएको बस्याल सुनाउँछन्। सबैभन्दा बढी प्युठानमा लगेको उनको भनाइ छ। चितवन, रूपन्देही र काठमाडौंका ठूला फार्मले पनि यो सहकारीबाट बाख्रा किनेर लगेका छन्। अर्घाखाँचीका पाँच स्थानीय तहले पनि यहाँबाट बोयर किनेर किसानलाई वितरण गरिरहेका छन्। सन्धिखर्क नगरपालिकाले ४० वटा बोयर वितरण गरेको मेयर कमलप्रसाद भुसालको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.