विवाह पञ्चमीको उल्लास

विवाह पञ्चमीको उल्लास

जनकपुरधाम : चलु सखि हिलीमिली जनकके अंगना 

दुलहा बनल श्रीराम हे...

परापूर्व कालदेखिका आदर्श जोडी भगवान् राम र सीताको विवाह दिवसलाई शनिबार विवाह पञ्चमीका अवसरमा जनकपुरवासीले फेरि जीवन्त पारे। यस क्षेत्रकै सबैभन्दा भव्य सीता–राम विवाह पञ्चमी महोत्सव यस वर्ष कोरोना महामारीले केही खल्लो भयो तर वैवाहिक परम्परा र विधिमा कुनै कमी भएन। नेपाल–भारत सीमा बन्द हुँदा भारतबाट आउने पर्यटक यस वर्ष खासै आएनन्। आन्तरिक पर्यटकको सहभागिताले विवाह खल्लो भएन। 

अन्य वर्ष एक महिनादेखि नै महोत्सवको तयारी हुने गरे पनि यस वर्ष एक साताअघिबाट मात्रै वैवाहिक कार्यक्रम सुरु गरियो। शनिबार बारहबिघा मैदानमा राम–सीताको डोलीलाई श्रद्धालुको भीडमाझ विधिपूर्वक स्वयंवर गराइयो। स्वयंवरमा सीताको डोलीबाट रामको डोलीलाई परिक्रमा गराउने परम्परा छ। साँझ जानकी मन्दिरमा बनाइएको वैवाहिक मण्डपमा राम–सीताको विवाह गरिन्छ। विवाह हेर्न श्रद्धालुको घुइँचो लाग्ने गर्छ। विवाहमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको अभिभावकका रूपमा संलग्न हुन्छन्। त्रेतायुगका मिथिलाका राजा जनककी छोरी जानकी र अयोध्याका राजा दशरथका पुत्र रामबीच वैवाहिक सम्बन्ध गाँसिएको थियो। 

सात दिवसीय वैवाहिक कार्यक्रमको पहिलो दिन नगर दर्शन गरिन्छ।  दोस्रो दिन राम–सीताको प्रतीकका रूपमा दुई बालबालिकालाई सजाएर विवाह मण्डपभित्र फूलबारी लीला मनाउने गरिन्छ। राम अयोध्याबाट आएपछि सीतालाई पहिलो पटक फूलबारीमा देखेको स्मरणस्वरूप यो लीला मनाउने गरिन्छ। तेस्रो दिन सीता स्वयंवरमा राजा जनकको सर्तअनुसार धनुष यज्ञ आयोजना हुने गर्छ।  स्वयंवर समारोह सकेर दुलहा–दुलहीको डोला एवं झाँकीसहित सयौंको संख्यामा रहेका जन्तीले नगर परिक्रमा गरेर विवाहस्थल जानकी मन्दिर पुगेपछि विवाह संस्कार प्रारम्भ हुन्छ।

चोथौ दिन रामको पक्षबाट राममन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थको उपस्थितिमा विवाह तय अर्थात् तिलकोत्सव मनाइन्छ। पाँचांै दिन मटकोर अर्थात् विवाहको मण्डप तयार गर्न नदीबाट माटो ल्याउने विधि गरिन्छ भने छैटौं दिन विवाह हुन्छ। विवाहपछि जन्तीलाई मिथिला भोजन गराएर नयाँ वस्त्र र कोसेली दिई बिदाइ गर्ने परम्परालाई राम कलेवा भनिन्छ। 

सप्ताहव्यापी विवाह पञ्चमीले जनकपुरमा नेपालको परिचय बोक्छ। यसले नेपाल–भारत सम्बन्ध सेतुको प्रतीकका रूपमा चिनाउँछ। त्यसैले जनकपुरधाम अहिले सजिसजाउ छ। कोरानालाई बिर्संदै मानिसको भीडभाड छ। भारतको अयोध्याका सन्त कन्हैया दास भन्छन्, ‘नेपाल–भारत सम्बन्धभन्दा जनकपुर–अयोध्या सम्बध मजबुत छ। यसले सांस्कृतिक सम्बन्धलाई झल्काउँछ।’

जानकी मन्दिरका सह–महन्थ रामरोशन दास वैष्णव पाँच सय वर्ष पुरानो परम्पराले निरन्तरता पाएको बताउँछन्। उनका अनुसार पहिले अयोध्याबाट जन्ती ल्याउने चलन थिएन। अयोध्याबाट अनौपचारिक रूपमा आउनेलाई जनकपुरवासीले जन्ती मानेर स्वागत गर्थे। २०६१ सालदेखि नेपाल र भारतको संयुक्त प्रयासमा अयोध्याबाट जन्ती आउने क्रम सुरु भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.