विवाह पञ्चमी : साधुसन्तलाई ५६ भोग अर्पण
जनकपुरधाम :
‘राजा जनकजी के बाग मे अलवेला दुल्हा आयो रे’ ...,
‘दुल्हा चिन्हीलियौ अपन दुलारी के, के छैत प्राणप्यारी के ना...’
यो बेहुला र जन्तीसँग हाँसो ठट्ठा गर्ने लोक गीत हो। सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत उक्त गीत गाउँदै महोत्सवको सातौं दिनमा राम कलेवा अन्तर्गत भगवान रामलाई ५६ भोग अर्पण गरिएको छ। राम जानकीको विवाह भएको स्थलमा रामका ३ भाइ लगायत जन्तीमा सहभागीलाई भोजन गराउने कार्यक्रमलाई ‘राम कलेवा’भनिन्छ।
राम कलेवाको अवसरमा सहभागी सबैका सामु मनोरञ्जनका कार्यक्रम, भजन किर्तन प्रस्तुत गरिन्छ। राम कलेवा रामजानकी विवाह पञ्चमीको अन्तिम एवं समापन विधि हो। विवाह पञ्चमीको आकर्षण राम, लक्ष्मण, भरत, शत्रुधनलाई ५६ भोग अर्पण भइरहँदा जनकपुरधामका महिला श्रद्धालुले गाली सहित अक्षता वर्षाएर हर्ष बढाइँ गरे।
रामायणकालीन परम्परालाई निरन्तरता दिँदै ‘रामकलेवामा’मा सहभागीलाई जानकी मन्दिरबाट बिदाइ स्वरुप भोजनपश्चात नगदसहित कम्मल, दोसल्ला, गम्छा सहित बिदाइ गरियो। जनकपुरबासी हर्षित भइ गाए, ‘आजु जनकपुर मंगल हे....दुलाहा बनल श्रीराम हे...।’
साताव्यापी राम–जानकी विवाह महोत्सवमा मिथिलाको वैवाहिक विधि विधान देखिने जानकी मन्दिरका सहमहन्त रामरोशन दास बताउँछन्। विवाहका क्रममा हुने नगरदर्शन, तिलक, मटकोर, जन्ती र मरजादको भोजको आयोजनाले धार्मिक महोत्सवलाई सांस्कृतिक स्वरुप प्रदान गरेको नेकपाका नेता तथा मैथिली संस्कृतिका विज्ञ रामचन्द्र झाले बताए। उनका अनुसार महोत्सवले लोपोन्मुख विवाह गीतलाई समेत संरक्षण गरेको छ।