ओलीको प्रश्‍न : प्रचण्ड-माधव कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ ?

ओलीको प्रश्‍न : प्रचण्ड-माधव कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ ?

काठमाडौं : प्रधानमन्‍त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरू कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चल्न नसकेको ओरोप लगाएका छन्। 

बालुवाटारमा मंगलबार आफ्नो पक्षका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले भने, उहाँ (प्रचण्ड-माधव) हरु त मान्नुभएन । उहाँहरु बेग्लै संसारमा, बेग्लै सपनामा, कसले हालेको ब्याट्रीबाट चल्दै हुनुहुन्छ ? कसले दिएको पम्पबाट चल्दै हुनुहुन्छ ? मलाई थाहा छैन । तर, उहाँहरु यस धर्तीमा, यस धर्तीको भूमिमा, यस धर्तीको जगमा, कार्यकर्ताको जगमा र जनताको विश्वासको जगमा चलिरहनुभएको छैन । अहिलेको आवश्यकताको जगमा उहाँहरु चलिरहनुभएको छैन।'

ओलीले नयाँ पार्टी जीवनतर्फ अगाडि बढिरहेको बताउँदै भने,  अहिलेसम्म विधिवत पार्टी एकता विभाजित छैन । हामी पार्टी विभाजन गर्न पनि चाहदैनौं । निर्वाचन हुँदा पार्टी फुट्छ ? निर्वाचन हुँदा पार्टी फुट्नुपर्छ ? झन् एकजुट भएर बढ्नुपर्दैन ? 

ओलीले अब निर्वाचनले मिलाउँछ कि भनेर प्रचण्डजीसँग सम्वाद गरेको प्रसंग उल्लेख गर्दै भने, 'मैले अस्ति प्रचण्डजीसँग भनेको थिएँ। हामीले केही मिलाउन सकेनौं, अब निर्वाचनले मिलाउँछ कि ? निर्वाचनमा त हामी एकजुट भएर जानुपर्‍यो । हाम्रो शक्ति एकजुट भएर निर्वाचनमा लगाउनुपर्‍यो । आपसी अन्तरविरोधहरु टुंग्याउनुपर्‍यो । अब एकजुट भएर हामी निर्वाचनको काममा अगाडि बढौं । प्रधानमन्त्री बन्नु नै छ भने पनि चुनावबाट बन्ने होला नि त ? प्रधानमन्त्री म चुनावबाट बनेको हुँ । यसले हामीलाई एक ठाउँ पुर्‍याउँछ । अरु पार्टीहरु पनि सकेसम्म एकजुट हुँदैछन् । चुनावका लागि, चुनावको सामना गर्नका लागि ।'

आफूमाथि भएका हमला स्मरण गर्दै ओलीले भने, तपाईंहरुलाई थाहा छ, ममाथि हमला कतिकति खेर हुन्छ ? मेरो आफ्नै जीवनमा, मेरो आफ्नै अनुभवमा भन्ने हो भने जब देशमा निरङ्कुश राजतन्त्र थियो, पञ्चायती व्यवस्था थियो, अधिनायकवादी शासन थियो, त्यसबेला लोकतान्त्रिक गणतन्त्रका लागि हामीले आन्दोलन शुरु गर्‍यौं । हमला भयो । मैले आफैं व्यक्तिगत तवरमा पनि झेल्नुपरेको छ भन्ने सुनाउनु छ ।'

ओलीको भनाइ थियो, 'त्यसबेला हामीले आक्रमण सहनु पर्‍यो, मैले पनि जेलमा पनि बस्नुपर्‍यो । अरु साथीहरुले पनि बस्नुपर्‍यो । हामीमाथि हमला कतिबेला भयो भने जतिबेला हामीले जनताका लागि, देशका लागि एउटा निर्णाायक आन्दोलनको उद्घोष गरेर अगाडि बढ्यौं । त्यसबेला हमला भयो । त्यसपछिका दिनहरु पनि थुप्रै सम्झन्छु । तर, पछिल्लो समयको मात्रै कुरा गरौं ।'

ओलीले आफू नाकाबन्दीविरुद्ध डटेर सामना गर्दा पनि आफूमाथि हमला भएको प्रसंग निकाल्दै भने, 'म प्रधानमन्त्री भएपछि नाकाबन्दीका विरुद्ध हामीले संविधान जारी गर्‍यौं । संविधान जारी गरेवापत हमला भयो । नाकाबन्दी हामीमाथि लगाइयो । नाकाबन्दीविरुद्ध हामीले डटेर सामना गर्‍यौं । त्यसबेला आलोचना र विरोध हामीविरुद्ध केन्दि्रत गरियो । देश बर्वाद भयो, नसक्ने ठाउँमा सिङ जुधाउन गयो । छिमेकीहरुसँग सम्बन्ध बिगार्‍यो। हामीले सम्बन्ध बिगारेको थिएन । हामीले त नाकाबन्दी भोगिरहेका थियौं र त्यसका विरुद्ध भोको पेटमा सामना गरिरहेका थियौं । तर, पनि हाम्रो राष्ट्रको सम्मान, सार्वभौम सत्ताका लागि लड्दा देशभित्रै आलोचना गर्ने व्यक्ति थिए । हाम्रै पार्टीका शीर्षनेताहरुले एउटा व्यक्तिको दुर्बुद्धिको कारणले, बोल्न नजानेर देश नै अप्ठ्यारोमा पर्ने स्थिति भयो, अब नेतृत्व फेर्नुपर्छ भनेर सार्वजनिक ढंगले बोलेर अभियान थाल्नुभयो ।'

उनको भनाइ थियो, 'हामी एउटा देशबाट घेरिएका थियौं । चीनतिरबाट पनि बाटो खोलेपछि त सहिसक्नु नै भएन । तीव्र भयो, हमला । चीनतिरबाट पारवहन र यातायातसम्बन्धी सन्धी भएपछि, चीनतिरका विभिन्न नाकाहरु खोलेपछि, विभिन्न बाटाहरु बनाएपछि, चीनसँग जोड्ने बाटो बनाइयो भनेर हामीमाथि हमला भयो ।'

ओलीले एउटा सशक्त, एकतावद्ध र गतिशील पार्टी निर्माणको चरणमा आफूहरू रहेको बताउँदै भने, 'म सुन्दैछु केपी ओलीलाई निकाल्नुहुन्छ रे । उहाँहरुले भन्दा १० वर्ष अगाडि पार्टी सदस्यता मैले लिएको होला । एउटा आन्दोलन सुरु गरेर जतिबेला आन्दोलन टुक्राटुक्रा, धुजाधुजामा थियो, त्यसअवस्थामा एकता एकीकरणको अभियान थालेर आएको मलाई आज ताजुब के भने प्रचण्डले मलाई निकालिदिने रे पार्टीबाट । म साथीहरुलाई भन्न चाहन्छु, हामी यस्ता कुराहरुमा अल्झिदैनौं ।'

'प्रचण्डले पार्टीबाट निकाल्छन् कि, कहाँकहाँबाट निकाल्छन् कि, घरबाट पनि निकाल्छन् कि त्यो उनको कुरा हो । हामी एउटा आन्दोलनमा छौं, हामीले हाम्रा महान उद्देश्यहरु तोकेका छौं । हामी समाजवादमा पुग्न चाहन्छौं । त्यसकारण अहिले समाजवादउन्मुख छौं । समाजवाद उन्मुख भनेको लोककल्याणकारी राज्यका अवधारणाअनुसार काम गर्दै सामाजिक न्याय र समानता, सुशासनको बाटोमा अगाडि बढेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने । हामी यस उद्देश्यतर्फ अगाडि बढिरहेका छौं, ओलीले भने, ' पार्टी चल्न सक्ने अवस्थामा थिएन कमरेडहरु । हामीले चाहेर के गर्ने ? अहिले पनि चाहेका छौं । उहाँहरुले जस्तो कसैलाई निस्कासन गरेर कुदिरहेका छैनौं । उहाँहरु यति उपद्रो गर्दै हुनुहुन्छ, यति अन्तरघात गर्दै हुनुहुन्छ, वामपन्थी आन्दोलनलाई ध्वस्त पार्न कम्युनिस्ट पार्टीभित्रै बिग्रहको खेती गरिरहनुभएको छ । तर, पनि हामी कसैलाई निकालिरहेका छैनौं । आफैं उहाँहरु किनारा लाग्दै हुनुहुन्छ । त्रिशुलीमा तपाईहरुले हेर्नुभएको होला, केही केही चिज नदीमा पर्‍यो भने त्यो बग्दै जाँदा किनारा किनारातिर लाग्छ । नदी बग्दै जाँदा फोहोरहरु किनारातिर धकेलिँदै जान्छ र सफा हुँदै अगाडि जान्छ ।
भन्न त नहुने हो, नमिले पनि जीवन शर्माको एउटा गीत सम्झिनुपर्‍योजस्तो लाग्छ, पिलो निचोरिँदैमा वजन घटेको हुन्न ।’ पिलो निचोरिन्छ, त्यसको खिल बाहिर जान्छ । वजन घटेको हुन्न ।

उनले यो घटनाक्रमले चुनावमा केही असर नगर्ने दाबी गर्दै भने, 'मैले चुनाव अगाडि भनेको थिएँ, अब वामपन्थीको अत्यधिक बहुमतको सरकार बनाउँछौं । त्यो हामीले गर्‍यौं । अब कमरेडहरुमा चिन्ता लाग्ला, त्यो चिन्ता नलिन म आग्रह गर्छु । पुराना पातहरु झर्ने, नयाँ पात पलाउने क्रम भइरहन्छ । हामीले नचाहँदा पनि हुन्छ ।'

पार्टी एकतापछि महाधिवेशन गर्ने र एकतालाई संस्थागत गर्नेतिर भन्दा पद र सत्तातिर केही साथीहरू केन्द्रित भएको आरोप लगाउँदै ओलीले भने, 'हामीले एकीकरण गर्‍यौं । तीन महिनाभित्र एकीकरणको काम टुंग्याउने निर्णय गरेका होइनौं ? त्यो तीन महिना कहिले आउँछ ? त्यतापटि्ट कहिल्यै ध्यान गएन । दुई वर्षभित्र महाधिवेशन गर्ने भनेका हौं । गएको जेठ ३ गतेभन्दा उतै महाधिवेशन सम्पन्न भइसक्नुपर्ने हो । सम्भवतः विधानको धारा १७ मा होला । तर, महाधिवेशन गर्नेतर्फ कुनै सोच छैन । कुनै चिन्ता छैन । तयारी छैन ।त्यसबाहेक, महाअभियोग लगाउने, अविश्वासको प्रस्ताव राख्ने, केन्द्रीय कमिटीबाट अध्यक्ष निकाल्ने, अरु नेताहरु निकाल्ने, यो बाटोतिर पो खेती गरिराख्नुभएको छ । पार्टी एकता, एकीकरण टुंग्याउने, एकीकरणको बाटोबाट अघि बढ्ने होइन, बरु उहाँहरु भत्काउने । कसैलाई निष्काशन गर्ने, कसैलाई कारबाही गर्ने । कुदेर राष्ट्रपति कहाँ पुग्ने । कुदेर सभामुखकहाँ पुग्ने । कुदेर कहाँ पुग्ने । यही प्रकारको खेती ।

चुनावमा कम्तिमा ५० लाख लोकप्रिय भोटसहित बहुमत ल्याउने दाबी गर्दै ओली भने, 'त्यसकारण हामीले निश्चित समयभित्र लगभग ११ महिनाभित्र अब महाधिवेशन गरिसक्ने विचार गरेका छौं । हामीले चुनावमा पनि जानु छ यसपछि । अब हामी चुनावको तयारीमा जुट्छौं । चुनावमा जान्छौं ।हामी चुनावपछि अरु कामहरुलाई बढी व्यवस्थित गर्नु छ । चुनाव अगाडि हामीले कमिटीलाई व्यवस्थित गर्नेर्, विभागहरुलाई व्यवस्थित गर्नुपर्ने, मातहतका कमिटीहरुलाई पुनर्गठन गर्ने यावत कामहरु गर्नुपर्ने अवस्था छ । यी सबै कामहरु गरेर हामी चुनावका लागि तयारी गर्छौं ।चुनावमा हामीले कम्तिमा ५० लाख लोकप्रिय भोट ल्याउनुपर्ने छ । समानुपातिकमा यति ल्याउनु छ । त्यो ५० लाख भोट हामीले ल्याउनु छ । हामीले दुई पार्टी मिलेर ११६ सिटमा जितेका थियौं । ११६ सिटमा जितेका थियौं भने अहिले त्यसमा ४ सिट थप्नु पर्ने छ । १२० सिट पुग्नु पर्ने छ ।'

अब चुनाव केन्द्रित अभियानलाई आँधी तुफानका रुपमा हाँकेर लैजाने दृढता व्यक्त गर्दै उनले भने, 'हाम्रो अभियान कुन हिसावले हामी सञ्चालन गर्न सक्छौं, हाम्रो सफलता त्यसमा निर्भर रहन्छ । हामी एउटा आँधी तुफानका रुपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाएर लिएर जाँदैछौं । आँधी तुफानका रुपमा हाँकेर लिएर जाँदैछौं । हामी राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्छौं । र, हामी सही विचारको, सही उद्देश्यको तागत दुनियाँलाई देखाउँछौं । हामी हाम्रो एकताको बलको, एकतावद्ध सक्रियताको तागत देखाउँछौं । हाम्रो व्यापक पार्टी पंक्तिको परिचालन, त्यसको तागत देखाउँछौं । हामी त्यसैगरी जनपरिचालन गर्छौं । त्यसको तागत हामी देखाउँछौं । देशभक्तिमा के तागत हुन्छ ? राष्ट्रवादमा के तागत हुन्छ ? राष्ट्रिय स्वाभिमानमा के तागत हुन्छ ? त्यो हामी देखाउँछौं । हाम्रो स्वच्छता कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र निर्मूलन गर्ने हाम्रा इमान्दार उद्देश्यहरुको तागत र सुशासन, शान्ति कामय गर्ने हाम्रा नीति र व्यवहारको तागत के हुन्छ, हामी देखाउँछौं ।'

नयाँ परिस्थितिमा केन्द्रीय समितिलाई पुनर्गठन गरेर विस्तार गर्नुपरेको बताउँदै ओलीले भने, ' अब यसपछिको परिस्थितिको हामीले कसरी सामना गर्ने ? उनीहरुले निहुँ त अगाडिदेखि खोजिरहेकै थिए, अब झन उनीहरुले निहुँ बनाउँछन् । त्यो निहुँ बनाएर पार्टी विभाजन गर्न खोजिरहेका छन् र प्रयास गरिरहेका छन् । परामर्श पनि नगरेर अध्यक्षलाई निस्कासन गर्ने आदि इत्यादि गरिरहेका छन् । महाधिवेशन गर्नुपर्ने, गरिरहेका छैनन् । त्यतापटि्ट लागिराखेका छैनन् । त्यसैले आगामी अभिभाराहरु पूरा गर्न सक्ने गरी कमिटीलाई थपेर विस्तार, अर्को भाषामा भन्ने हो भने पुनर्गठन गरेर विस्तार हो यो ।मैले ४४१ केन्द्रीय कमिटी, २ जना आमन्त्रित केन्द्रीय सदस्य र ४ जना पछि थपियो । ४४७ जना पहिले केन्द्रीय सदस्य र ५५६ जना मैले हिजो मनोनयन गरेका केन्द्रीय सदस्य गरेर १००३ जनाको केन्द्रीय कमिटी बनेको छ । १९६ जना खाली राखेर ११९९ जनाको कमिटी बनाइएको छ । यो कमिटी पछि हेरफेर हुन्छ ।तसर्थ ११९९ जनाको केन्द्रीय कमिटी हुनेछ । ४४७ पहिलेको र २०७७ पुस ६ गते मैले प्रथम अध्यक्षको हैसियतले आन्दोलनको बृहत्ततर हितलाई ध्यानमा राखेर मनोयन गरेका ५५६ जना गरेर यतिबेला १००३ जना मौजुद छौं । पहिला पनि कमिटीहरू यसरी नै बनिसकेपछि स्वअनुमोदन गरिएको हो । अहिलेसम्म भएका कमिटीहरू पनि संक्रमणकालीन कमिटी हुन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.