बनेन विद्यालय भवन
दैलेख : आर्थिक वर्ष २०७६/७७ मा बेस्तडास्थित ज्वाला माविको ६ कोठे भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारमार्फत ५० लाख रुपैयाँ विनियोजन भयो।
सम्झौताअनुसार सामाजिक विकास कार्यालयले विद्यालयलाई ३० प्रतिशत रकम पेश्की दियो। विद्यालयले १५ लाख रुपैयाँ पेश्की लियो। तर, हालसम्म न भवन बनेको छ न पेश्की नै फस्र्यौट भएको छ। त्यसमाथि झन् अहिले भवन निर्माणको काम अलपत्र परेको छ।
भवन निर्माणका लागि ३० प्रतिशत रकम पेश्की दिएको सामाजिक विकास कार्यालयका प्रमुख झलकप्रसाद कोइरालाले भने, ‘विद्यालयको भवन विद्यालय व्यवस्थापन समितिले निर्माण गर्नुपर्ने थियो तर अहिलेसम्म भवनको डीसीपी र पिलरका लागि सरिया ठड्याउने काम मात्र भएको छ।’ विद्यालयले कोरोना र लकडाउनको कारण देखाउँदै काम गर्न नसकेपछि ३५ लाख रुपैयाँ फ्रिज भएको कोइरालाको भनाइ छ।
कोइरालाका अनुसार अघिल्लो आर्थिक वर्षमा फ्रिज भएको बजेट प्रदेश सरकारसँग पुनः माग गरेर पठाइएको छ। बजेट आउने बित्तिकै बाँकी काम सुरु हुनेछ।
स्थानीयले भने खर्च हुन नसकेको ३५ लाख रुपैयाँ फिर्ता भए पनि १५ लाख बराबरको पनि काम नभएको बताउँछन्। विद्यालयले भवन निर्माणको जिम्मा ठेकेदार जनकप्रसाद शर्मालाई दिएको प्रधानाध्यापक देवेन्द्र अधिकारीले बताए। ‘विद्यालय व्यवस्थापन समितिको बैठकले निर्णय गरेर व्यवस्थापन समितिले रेखदेख गर्ने गरी तीनपुस्ते कागज गरेर निर्माणको जिम्मा दिएका थियौँ,’ उनले भने, ‘कोरोना र लकडाउनका कारण भवन निर्माण हुन सकेन।’
विद्यालयलाई क्वारेन्टाइनको रूपमा प्रयोग गरेपछि काम गर्न नसकेको प्रधानाध्यापक अधिकारीको भनाइ छ। विद्यालयको नाममा आएको पेश्की रकम समेत कामको जिम्मा दिइएको ठेकेदारले भुक्तानी लिइसकेको उनी बताउँछन्।