‘मानव सेवा नै ठूलो धर्म’
‘कलम रोए शब्द बन्छ, कवि रोए कविता
मानवता नै पहिलो श्रेणी, त्यसैको लागि सजगता
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले मंगलबार यही कवितांश सुनाउँदै मानवीय सेवामा अग्रसर हुन आग्रह गर्दा कार्यक्रमस्थल तालीले गुञ्जायमान बन्यो। कार्यक्रमस्थल थियो, प्रधानमन्त्री निवास बालुवाटार। प्रमुख अतिथि थिए, प्रधानमन्त्री केपी शर्मा ओली। अनि कार्यक्रम थियो, विभिन्न कारणले सडकमा आश्रय लिइरहेका मानवको उद्धारका लागि मेची—महाकाली यात्राको शुभारम्भ।
‘सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष—२०७८ सफल पारौं’ भन्ने नारासहित सुरु गरिएको मेची—महाकाली यात्राको प्रधानमन्त्री ओलीले शुभारम्भ गरे। सहयोगापेक्षी ‘बेसहारा, असहाय, अनाथ, अभिभावकविहीन’ सडक आश्रित मानवको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत पुस ७ देखि माघ ७ सम्म देशभर सडकमा रहेका असहाय मानवको उद्धार गरिने भएको छ।
२०६९ सालमा केही युवा मिलेर सडकमा बेवारिसे जीवन बिताइरहेका मानवको उद्धारका लागि ‘मानव सेवा आश्रम’ नामक सामाजिक संस्था स्थापना गरेका थिए। मानव सेवा आश्रमले हालसम्म सडकमा आश्रित ११०० भन्दा बढी व्यक्तिलाई आश्रय दिइसकेको छ। कतिपयलाई पारिवारिक पुनर्मिलन पनि गराएको छ। आश्रम हाल १५ जिल्लामा २२ वटा कार्यालयमार्फत देशभरिका सडक मानवलाई आश्रय दिने अभियानमा जुटेको छ। उद्धारका लागि आश्रममा आबद्ध ३० जना अभियन्ता मेची—महाकाली यात्रामा निस्किएका छन्।
कार्यक्रममा ५ वर्षअघि चितवन र लमजुङमा भेटिएका बंगलादेशी नागरिकद्वय ममिना बेगम र महम्मद बबुललाई नेपालका लागि बंगलादेशी राजदूतसमक्ष जिम्मेवारी हस्तान्तरण गरिएको थियो। आश्रमका दुई अभियन्ताले ती दुई बंगलादेशी नागरिकलाई उनीहरूको घरसम्म पु¥याई पारिवारिक मिलन गराउने कार्यक्रम छ।
कार्यक्रममा ओलीले आफू प्रधानमन्त्री भएको देशमा सडकमा बेवारिसे मानव देखिनु अशोभनीय भएको धारणा व्यक्त गर्दै उनीहरूको उद्धार गरी नयाँ जीवन दिन सरकारी स्तरबाट पहल गरे पनि पूर्ण रूपमा सफल हुन नसकिरहेको बताए। प्रधानमन्त्रीले मानव सेवा आश्रमले गरेको महान् कार्यबारे यसअघि आफूलाई थाहा नभएको र श्रीमती राधिका शाक्यले यस विषयमा आफूलाई जानकारी गराएको बताए।
२०८२ सालसम्म नेपाललाई सडक मानवरहित राष्ट्र घोषणा गर्ने महान् अभियानमा सरकारको सधैं साथ र सहयोग रहने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गरे। ‘मेरो आफ्ना छोराछोरी छैनन्। आफ्नै सन्तानप्रति कस्तो माया हुन्छ, त्यो पनि थाहा छैन। यदि सन्तान हुन्थे भने पनि उनीहरूको जस्तै माया सडकमा आश्रितहरूलाई गर्थें होलाजस्तो लाग्छ’, प्रधानमन्त्री ओलीले भने, ‘मानवताको नारालाई केवल प्रचारमुखी नबनाई गरिब, दीनदुःखी, असहाय, मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूको उद्धारमा लागिपर्ने मानव सेवा आश्रमप्रति मुक्तकण्ठले प्रशंसा गर्छु।’
कार्यक्रममा समाजसेवी तथा गायिका आनी छोइङ डोल्माले मर्मस्पर्शी शब्द र भावसँगै सुमधुर स्वरमा गीत गुनगुनाइन् ...
‘सबैसँग होस् मेरो मेरो माया नै यस्तो
जो भेटेनी लागोस् मलाई मै जस्तो
चोखो कर्म खोज्छ है चोखै संसार
काँडाको आँखामा काँडै संसार।’
कार्यक्रमको अध्यक्षता गर्दै प्रधानमन्त्री–पत्नी राधिका शाक्यले पनि अभियानसम्बन्धी भिडियो प्रदर्शनसँगै कार्यक्रम शुभारम्भ गरेकी थिइन्। देशव्यापी उद्धार कार्यक्रमको सफलताको शुभकामना दिँदै उनले मानव हुनुको नाताले असहाय, घरबारविहीन व्यक्तिको उद्धारका लागि आश्रमको काममा सदैव सहयोग र सद्भाव रहने प्रतिबद्धता व्यक्त गरिन्। उनले यात्रामा जान लागेका अभियन्तालाई आवश्यक साम्रगीसहित उपहार पनि हस्तान्तरण गरेकी थिइन्।
कार्यक्रममा १३ वर्षसम्म फलामे साङ्लोमा बाँधिएका सप्तरीका उमाकान्त चौधरीको उद्धार, उपचार र पारिवारिक पुनर्मिलनको भिडियो पनि प्रदर्शन गरिएको थियो। चौधरीलाई १३ वर्षदेखि आफ्नै घरमा साङ्लोमा बाँधेर राखेको समाचार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएपछि आश्रमले उनको उद्धार गरेको थियो। चौधरीको उद्धार र उपचारपछि पारिवारिक पुनर्मिलनको समाचार पनि अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएको थियो। कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठ, गृहसचिव हुमकला पाण्डे, महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, गायिका आनी छोइङ डोल्मा, नेपालका लागि बंगलादेशका राजदूत, मानव सेवा आश्रमका पदाधिकारीलगायतको उपस्थिति थियो।