जीवनको सार्थकता र व्यर्थता कसरी थाहा पाउने ?

जीवनको सार्थकता र व्यर्थता कसरी थाहा पाउने ?

बुरा जो देखन मैं चला, बुरा न मिलिया कोय,

जो दिल खोजा आपना, मुझसे बुरा न कोय। 
–सन्त कविर

धेरैले भनेको सुनिन्छ– जीवन व्यर्थतामै बित्यो। व्यर्थता अर्थात् अनावश्यकरूपमा जीवन बितिरहेको छ। काम, सम्बन्ध, तर्क, व्यापार, राजनीतिलगायत जुन पनि क्षेत्रमा आवश्यकरूपमा, सम्यकताका साथ समय दिन र कर्म गर्न नसक्नुले व्यर्थताको अर्थ राख्छ। जीवनमा चाहेको काम, इच्छा पूरा हुनु र सकारात्मक रूपमा सफलता मिल्नुलाई सार्थकताको अर्थ दिइन्छ। व्यक्तिले आफूले चाहेर सफल र सकारात्मक हुने हो या जीवनले व्यक्तिलाई व्यर्थताका काममा प्रेरित गर्ने हो ? यसलाई गहनतम् रूपमा सोच्नुपर्ने हुन्छ। मानिसलाई अस्तित्वले मस्तिष्क र हृदय दुवै दिएको छ र पनि उसले मस्तिष्कलाई नै बढी प्रयोग गरिरहेको हुन्छ। मस्तिष्कको काम नै सोचविचार, हिसाबकिताब, नाफाघाटा, के, किन यस्तैमा केन्द्रित हुनु हो। हृदयले यसको विपरीतमा सहजता र प्रेमपूर्ण रूपले किन र के, नाफाघाटा नभनी गर्नुपर्छ त्यसैले गर्ने, फैलिन थाल्छ अकारण प्रेम र सहयोगमा। मसँग हृदय पनि छ, हृदयको झंकार र यसले मलाई गरेको निर्देशन मैले पालना गर्न सक्छु भन्ने एहसाससम्म मानिसमा हुँदैन। बेहोसीको एउटा पराकाष्ठा बनेर जीवन बाँचेको हुन्छ।

ज्ञान र सकारात्मक सोच
तरकारी बेच्न मस्त एउटा व्यापारीको बोलीचाली देखेर अचम्म लाग्छ। भाइ काउली छ भनेर सोध्यो– छ प्रभुजी भन्ने जवाफ दिन्छ। काँक्रो कति रुपैयाँ किलो ? ५० प्रभुजी। अर्को ग्राहक आइपुग्छ– प्रभुजी, बन्दा छ ? छ प्रभुजी। आश्चर्य लाग्यो। सोधें– किन भाइ तिम्रो नाम छैन ? अनि अरूले पनि तिमीलाई प्रभु नै भनेर बोलाउँछन्। जुन वस्तुलाई पनि तिमी प्रभु जोडेर उच्चारण गर्छौ के हो यसको अर्थ ? मुस्कुराउँदै भाइले जवाफ दिए– मेरो नाम छ नि हजुर, दयालाल हो। केको के अर्थ त मलाई केही ज्ञान छैन हजुर, पढेलेखेको छैन। एक दिन बिहान घरनजिकै एउटा ध्यान केन्द्रमा सत्संग चलिरहेको ठाउँमा उपस्थित भएको थिए“। त्यहा गुरुले धेरै कुरा बताउँदै हुनुहुन्थ्यो। गहन शब्द र कुरा सुनें। आनन्द लाग्यो। सबै शब्द मैले बुझ्न सकिनँ। त्यति बोध गर्न पनि सकिनँ। अज्ञानी मान्छे हजुर। तर उहाँले भनेका एउटा कुरा भने याद गरें– सबैमा प्रभु छ, सबैलाई प्रभुको नजरले हेर्ने र देख्ने गर, यसमै तिम्रो कल्याण छ। त्यसपछि स्वतः मेरो मुखबाट प्रभु, प्रभु निस्कन थाल्यो। म गरिबलाई धोका दिने, मलाई अत्यावश्यक पर्दा सहयोग नगर्ने मित्रलाई समेत मेरो मुखबाट प्रभुकै शब्द निस्क्यो। मैले उसलाई प्रभु नै देख्न थालें। त्यसपछि थाहै नपाई एउटा मजदुरबाट आज व्यवसायी बनेको छु हजुर। मलाई ज्ञान केही छैन अझै पनि। तर जीवनमा थाहै नपाई सन्तुष्टि थपिँदै गएको छ। विनाकारण खुसी लाग्छ, जसलाई पनि सहयोग गरौं झैं लाग्छ। ती तरकारी व्यापारी भाइका कुरा सुन्दा अचानक एउटा मौनता र जागृति उत्पन्न हुन्छ– आखिर हामीलाई खुसी हुनका लागि ज्ञान चाहिने हो या खुसी हुन जान्नु नै ज्ञान हो ? व्यक्ति र परिस्थिति सकारात्मक भएर हाम्रोसामु प्रस्तुत हुनुपर्ने हो या जस्तोसुकै परिस्थितिलाई सकारात्मक भएर सोच्न सक्ने कला विकास गर्नु हो ?

प्रेमभाव, सरलता, सहजताविना जीवन कसरी सार्थक होला ?

मानसिक सक्रियता 
धीरे–धीरे रे मना, धीरे सब कुछ होय,
माली सींचे सौ घडा, ऋतु आए फल होय।

मनमा धैर्य र संयमता कायम रहे मात्र चाहेको चिज सबै प्राप्त हुन्छ। एकजना मालीले बिरुवामा दिनमा १० पटक पानी राखे पनि फल लाग्ने त उसको समय आएपछि नै हो। अस्तित्वले मानिसलाई मस्तिष्कसँगै हृदय पनि दिएको छ तर मानिस हृदयको तलमा बाँच्नै भ्याउँदैन। हरपल मस्तिष्क सक्रिय छ, हिसाबकिताबमा उल्झेको छ आफूलाई स्वतन्त्र हुन र परम स्वतन्त्रताको अनुभूतिमा रहने त अवसर नै मिल्दैन। जब प्रेम, करुणा, सद्भाव, सहयोग र साथको समय आवश्यक हुन्छ तब मानिस भन्ने गर्छ– समय नै छैन। आवश्यक र महŒवपूर्ण काम छुट्ट्याउन नसक्नुको परिणाम हो समय नहुनु। विचार गरौं त– वृद्घ आमाबाउलाई दिने समय छैन। परिवारसँग छुट्टी मनाउने समय छैन। प्रेमीप्रेमिकास“ग खुसी साट्ने समय छैन। वर्षौं छुटेका साथीभाइसँग बसेर कफी पिउने समय छैन। 

आफन्तजनले भेट्न चाहन्छन् तर आफू जाने र उनीहरूलाई घरमा बोलाउने समय छैन। ध्यान, योग र स्वास्थ्यलाई समय दिनुपर्ने त हो तर समय नै छैन। बिहानबेलुका बालख छोराछोरीसँग खेल्ने, सप्ताहमा एकपटक घुमफिर त जानुपर्ने तर समय छैन। सोचौं, केका लागि यिनले समय पाएका छैनन् र के गर्दा हामीलाई समय मिल्छ ? कहिले मिल्छ ? अहिले जहाँ व्यस्त मात्र होइन, अस्तव्यस्त भएर समय खर्चिरहेका छौं। त्यसको परिणाम भविष्यमा सुखद आउने अपेक्षा हो या वर्तमानमा अस्तव्यस्त यता न उता भएर बाँच्ने हो ? अति सक्रिय, विद्वान् र विद्वतापूर्ण कर्म गर्दागर्दै पनि भित्रबाट खुसी र आनन्द किन मिलिरहेको छैन ? खुसी कहाँ हराएको छ या कहाँ भण्डारण गरेर राखेका छौं ? त्यसको उपयोग गर्ने कहिले हो ? हृदयलाई विराट्रूपमा फैलिन दिने कहिले ? प्रेमभाव, सरलता, सहजताविना जीवन कसरी सार्थक होला ? आवश्यक कुरा र विधायकता जीवनबाट छुट्नु नै जीवन व्यर्थ लाग्नु हो।

जीवनको लक्ष्य बोध
जीवन सार्थक छ या व्यर्थ लागिरहेको छ थाहा पाउने तरिका हो सपना देखेरै जीवन गुज्रेको छ या भविष्यको कल्पना र विगतका कथाव्यथामा ? वास्तवमा के हो र कता जाँदैछ जीवन मार्ग धेरैलाई अन्योल हुन्छ। किनकि, परिभाषा र अनुसन्धानमा मात्र जीवनको लक्ष्य बोध सम्भव छैन। आफूभित्रको प्रेम, आफ्नो अहंकार र स्वबोधलाई जान्न सक्नु जीवनको लक्ष्य बोध हो अन्यथा यो गीतले बोले झैं जीवनको उद्देश्य खोज्न बाध्य हुनुपर्छ।

न कोई जादा न कोई मञ्जिल न रोशनीका सुराग
भटक रही है खलाओं में जिन्दगी मेरी
न कोई रास्ता, न कोई मञ्जिल,
रोशनी का सुराग भी नहीं
कोई एक किरण भी नहीं।
और पुरी जिन्दगी अँधेरी घाटियों में,
शून्य में भटक रही है
भटक रही है खलाओं में जिंदगी मेरी !!


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.