विदेशमा अलपत्र श्रमिकलाई कानुनी सहायता

विदेशमा अलपत्र श्रमिकलाई कानुनी सहायता

काठमाडौं : विश्वव्यापीरुपमा फैलिएको कारोना भाइरस(कोभिड १९) बाट विश्व नै आक्रान्त छ। करोडौं मान्छे कोभिडका कारण बेरोजगार हुन पुगेका छन्। कोरोनाले बेरोजगार भइ न्याय नपाएकालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गन्तव्य मुलुकमा कानुनी सहायता उपलब्ध गराउन सुरु गरेको छ। 

संघका उपाध्यक्ष डा.बद्री केसीका अनुसार मलेसिया तथा खाडी मुलुकमा समस्यामा परेका कामदरलाई कानुनी सहायता दिइरहेको बताए। मलेसिया तथा खाडीका देशहरुमा दुईजना लिगल अफिसर राखेर कानुनी सहायता दिन थालिएको उनको भनाइ छ। ‘कोभिडबाट धेरैले रोजगारी गुमाएर तलब नपाइ फर्केका छन्’, उनले भने,‘त्यस्ता व्यक्तिलाई तलब उपलब्ध गराउन पहल भइरहेको छ।’ कोभिडपछि समस्यामा परेका व्यक्तिलाई कम्तीमा पनि ६ महिनाका लागि कानुनी सहायता दिन सुरु गरिएको संघले जनाएको छ। 

कोभिड १९ को असहज परिस्थितिपछि १ लाख ८६ हजार ६६ जना कामदार स्वदेश फर्किएका छन्। समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन पहल गरिएको डा. केसी बताउँछन्। संघले साउदी, मलेलिया, कतार, संयुक्त अरब इमिरेट्स(युएई), बहराइन, ओमन र कुवेतमा ७-७ जना भोलेन्टर खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ। संघका  ती देशका पदाधिकारीहरुले समेत अलपत्र कामदारको उद्धारमा चासो देखाएका छन्। रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका, ओभर स्टे बस्न बाध्य भएका लगायतलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ। हालसम्म ५ हजारलाई संघकै पहलमा उद्धार गरिएको छ। 

समस्यामा परेका कतिपय व्यक्तिहरुको पीसीआर परीक्षण र टिकट उपलब्ध गराएर घरैसम्म लगिदिने व्यवस्था गरिएको संघले जनाएको छ। २ सय जनाको टिकट र ६ सय जनाको पीसिआर परीक्षण निःशुल्क गरिएको संघका पदाधिकारी बताउँछन्। 

रोजगारी गुमाएका कतिपय श्रमिक काम पाइने आशामा गन्तव्य देशमै बसिरहेका छन्। कसैले आंशिक काम पाएका छन् भने कतिले काम गरेको पारिश्रमिक पाउन सकेका छैनन्। संघका प्रोजेक्ट म्यानेजर राजेन्द्र राउतका अनुसार दूतावास, श्रम सहचारीका प्रतिनिधिसँग सहकार्य गर्दै घरदैलो गरी पुर्नरोजगारीमा फर्काउने काम भइरहेको छ। नजरबन्द तथा प्रहरी हिरासतमा रहेका १ सय ६० जनाको उद्दार गरी स्वदेश फर्काएको उनले बताए। ‘तिर्नुपर्ने जरिवानामा संघले नै तिरिदिएर उद्धार गरेका हौं’, उनले भने। 

उपाध्यक्ष केसीका अनुसार समस्यामा परेका व्यक्तिलाई मानसिक स्वास्थ्य स्वस्थ्य राख्न कानुनी सहायता समेत दिने गरिएको बताउँछन्। ‘समस्यामा परेका कामदारको मनोबल बढाउन कानुनी परामर्शमा प्राथमिकता दिइरहेका छौं’, उनले भने। संघले मलेसिया र खाडीका सबै देशमा सेल्टरको व्यवस्था गरेर अलपत्र परेका कामदारको सहजीकरण गर्दै आएको छ। सबै देशमा गरी ६ हजारभन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, उद्धार तथा राहत दिइएको संघले जनाएको छ। 

कोभिड सुरु भएदेखि नै संघले विदेशमा बस्ने नेपालीहरुको स्वास्थ्य सुरक्षामा विशेष चासो देखाउँदै आएको थियो। हरेक हप्ता कोरोना संक्रमण र त्यसबाट मृत्यु हुने तथ्यांक संकलन गरेर सार्वजनिक गर्दै आएको छ। संघका अनुसार कोरोना भाइरस(कोभिड१९) कारण विदेशी भूमिमा ३ सय १२ जना नेपालीले ज्यान गुमाएका छन्। मलेसिया, खाडी मुलुकसहित २१ देशमा कार्यरत नेपालीको ज्यान गएको संघले जनाएको छ। 

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ। ती मध्ये ४९ देशका ४९ हजार १ सय १० जना नेपालीमा कोरोना संक्रमणबाट मुक्त भएका छन्। यो कुल संक्रमितको ९४ प्रतिशत हो।
संघको स्वास्थ समितिका संयोजक डा.सञ्जिव सापकोटाले विदेशमा कोरोनाको जोखिम कम नभएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। क्रिसमश, नयाँ वर्षलगायतको अवसरमा भीडभाड नगर्न र सकेसम्म घरभित्रै बसेर पर्व मनाउन सके कोरोनाको जोखिमबाट मुक्त हुन सकिने उनले सुझाएका छन्। 

महामारीको जोखिम कम नभइसकेको तथा पछिल्लो समयमा यूरोपेली मुलुकमा संक्रमण अस्वभाविक रुपमा फैलिरहेको भन्दै ती मुलुकमा रहेका नेपालीले अझै सावधानी अपनाउनुपर्ने सापकोटाले सुझाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.