दाहाल बने खेमाका संसदीय नेता

दाहाल बने खेमाका संसदीय नेता

काठमाडौं : नेकपाको दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको छ। बानेश्वरस्थित संसद् भवनमा बुधबार बसेको उक्त समूहको दलको बैठकले दल नेताबाट प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई हटाई दाहाललाई बनाउने निर्णय गरेको हो।

समूहको केन्द्रीय समिति बैठकले मंगलबार ओलीलाई अनुशासनको कारबाही गर्दै पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा दाहाल सर्वसम्मत रूपमा दलको नेता चुनिएको प्रमुख सचेतक देव गुरुङले बताए।

यो पक्षले प्रतिनिधिसभा जीवितै रहेको र प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको बताउँदै आएको छ। प्रतिनिधिसभाका ९३ र राष्ट्रियसभाका २४ सांसदको बैठकबाट यो निर्णय लिइएको नेता गुरुङले बताए।

‘प्रधानमन्त्रीलाई असंवैधानिक निर्णय गर्ने अधिकार छैन। उहाँले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चाल्नुभएको हुँदा दलको नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिएको हो’, गुरुङले भने।

प्रतिनिधिसभामा नेकपाका सभामुखबाहेक १७३ सांसद थिए। राष्ट्रियसभामा ५० जना छन्। बुधबार बैठकमा प्रतिनिधिसभातर्फका ९३ र राष्ट्रियसभातर्फका २४ जना सहभागी भएको जनाइएको छ। ओलीले माफी मागेर आए स्वागत गरिने नेपालको भनाइ थियो।

‘हिजो केन्द्रीय समितिले उहाँलाई नेकपाको अन्तरिम विधानबमोजिम कारबाही गरेको छ। यो जानकारी संसदीय दललाई दिन चाहन्छु’, नेपालले बैठकमा व्यक्त गरेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उहाँलाई केन्द्रीय अध्यक्षबाट मात्रै हटाइएको हो, केन्द्रीय सदस्य र सदस्यबाट हटाइएको छैन। आफ्ना गल्ती स्विकार्दै माफी मागेर फर्किए पार्टीमा उहाँलाई ठाउँ अझै छ।’

दाहालले प्रतिनिधिसभा पुनःस्थापना गरी अब नयाँ सरकार बनाउनेतिर आफ्नो ध्यान केन्द्रित हुने बताएका थिए। दलको नेता चुनिएपछि उनले सञ्चारकर्मीसँग प्रतिनिधिसभालाई जीवन्त राख्नेमा आफ्नो प्रयास हुने बताएका हुन्। ‘मेरो कोसिस नेपालमा नेपाली जनताले लामो समयदेखि गरेको संघर्षको परिणाम प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधिसभालाई जीवन्त राख्नमा हुनेछ’, उनले भने, ‘मलाई विश्वास छ, नेपाली जनताको भरोसामा सबै राजनीतिक दलसँग सहकार्य गरेर, सबै मान्य सदस्यहरूको पनि विश्वास लिएर संसद्लाई जीवित राखिराख्न र त्यहाँबाट राष्ट्र र जनताका पक्षमा काम गर्न मैले सबै तागत लगाउनेछु।’ ओली पक्षले भने विघटित भइसकेको संसद्को दल नेता चयन गर्नुको अर्थ नरहेको बताएको छ।

आयोगमा २८७ को हस्ताक्षर

दाहाल–नेपाल समूह बुधबार आफूहरू आधिकारिक नेकपा भएको भन्दै निर्वाचन आयोग पुगेको छ। केन्द्रीय समितिले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट हटाएको लिखतसहितका कागजातसमेत आयोगमा लगेर दर्ता गराइएको उक्त समूहले जनाएको छ। यो पक्षले २८७ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित केन्द्रीय समिति बैठकको निर्णय आयोगमा लगेर बुझाएको हो।

केन्द्रीय समितिले गरेको निर्णयको पत्र, बैठक बोलाउन आग्रह गर्दै बहुमत सचिवालय सदस्यले लेखेको पत्र, प्रधानमन्त्रीको पत्र, दाहालले ओलीको पत्रमा दिएको प्रत्युत्तर, दाहालले पेस गरेको प्रस्ताव, ओलीका प्रस्तावलगायत ११ थरी कागजपत्र निर्वाचन आयोगमा बुझाइएको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बताए।

पार्टी एकता गर्दा नेकपाको केन्द्रीय समिति ४ सय ४१ सदस्यीय थियो। ४ जना नेता थपिएर केन्द्रीय समिति ४ सय ४५ सदस्यीय पुगेको थियो। तर, त्यसमध्ये ४ सय ३४ जना नेता रहेको यो पक्षको दाबी छ। त्यसमध्ये २ सय ८७ को हस्ताक्षर र बाँकी ३ जनाको कारणवश उपस्थित हुन नसक्ने जानकारीसहितको पत्र आयोगमा बुझाइएको पाण्डेले बताए। पाण्डेसहित लीलामणि पोखरेल, राजेन्द्र पाण्डे, पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानलगायत नेता आयोगमा पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.