प्रदर्शनमा कोरानाको खतरा
संसद् विघटनपछि राजनीतिक बजार चल्मलाएको छ। दलले बैठक, भेला, प्रशिक्षणलगायतका गतिविधि मुलुकभर तीव्र बनाइरहँदा कोरोनाको जोखिम पनि बढेको छ। चुनावी सभाको झल्को दिने गरी पछिल्ला दिनमा यस्ता गतिविधि भइरहेका छन्। तर आयोजक तथा सहभागीहरू कोरोना संक्रमणको जोखिमप्रति भने सचेत बनेको देखिँदैन। होसियारीबिनै यस्ता क्रियाकलापलाई निरन्तरता दिइरहने हो भने फेरि पनि कोरोनाले अर्को महामारीको रूप नलेला भन्न सकिँदैन। तसर्थ यससँग सम्बद्ध पक्षले सुरक्षित तरिकाबाट राजनीतिक गतिविधि गर्नेतर्फ ध्यान दिनुपर्छ।
पछिल्लो समय कोरोनाको जोखिम केही कम भएको हो कि भन्ने आभास भइरहेको छ। तर पूर्णतया नियन्त्रण कहिले हुन्छ भन्ने पाटो अनुमानमै सीमित छ। दुईपटकसम्म लकडाउन गर्दासमेत नियन्त्रण गर्न नसकेकै कारण बाध्य भएर सरकारले सबै प्रकारका गतिविधि गर्न छुट दिएको हो। तर यसको अर्थ कुनै पनि प्रकारको स्वास्थ्य मापदण्ड अपनाउनु पर्दैन, खुलमखुला भीडभाड हुने गरी कार्यक्रम सञ्चालन गर्न पाइन्छ भन्ने होइन। व्यक्तिगत सुरक्षाको ख्याल गरेर मात्रै कार्यक्रममा सरिक हुन सरकारले बारम्बार अनुरोध गरिरहेको छ। सरकारी अनुरोधको बेवास्था गर्दै हुने गरिएको गतिविधिले कोरोनाको अर्को जोखिम निम्त्याउने हो कि भन्नेप्रति जनस्वास्थ्यविद्लाई समेत चिन्तित तुल्याएको छ। विपक्षका साथै सरकार पक्ष दलका नेता, कार्यकर्ता, विद्यार्थी तथा जनवर्गीय संगठनसमेत प्रदर्शनमा उत्रिएका छन्।
कोरोना संक्रमण नियन्त्रणका लागि समाजमा जनचेतना फैलाउन परिचालन गर्नुपर्ने दलीय कार्यकर्ता स्वयं दलका नेतृत्वकै निर्देशनमा सडक संघर्षमा उत्रनु गलत हो। जिम्मेवार व्यक्तिले नै हेलचक्रयाईं गरेर कार्यक्रम गर्न थाले भने जनतालाई कसरी बुझाउने ? यो वास्तविकता मनन गर्दै कोरोना नियन्त्रणमा सरोकारवाला सबैले हातेमालो गर्नुपर्छ। संक्रमणको ख्यालै नगरी हुल बाँधेर कार्यकर्ता भेला गराउँदा जोखिम निम्त्याउने जान्दाजान्दै पनि निहित स्वार्थपूर्तिका लागि जिम्मेवार दलबाट भएका यस्ता गतिविधि शोभनीय मान्न सकिँदैन। यस्तो संवेदनशील विषयमा सामान्य चेतना पनि नराखी जिम्मेवार नेता नै पार्टी प्रवेश गराउने कार्यक्रममा सरिक हुनु अबुझपन हो।
राजनीतिक दलले चाहेका भए कोरोना संक्रमण रोक्न केन्द्रदेखि स्थानीय स्तरसम्म कार्यकर्ता परिचालन गरेर सचेतना कार्यक्रम चलाउन सक्थे। जनताका मन जित्न हरेकजसो दलका लागि यो उत्तम अवसर पनि थियो। चुनावका समयमा भोट मात्रै माग्न आउने भनेर आरोप लागेका दललाई यतिखेर जनताका दैलोसम्म पुगेर उनीहरूसँग सम्पर्क बढाउने राम्रो अवसर बनेको थियो। तर कुनै पनि दलले यसलाई सदुपयोग गर्न चाहेका छैनन्। समाज र जनतालाई सिकाउँछु, मुलुक समृद्ध बनाउँछु र जनतालाई सुखी बनाउँछु भन्ने वाचा गरेर राजनीतिमा होमिएकाहरूले यस कठिन परिस्थितिमा हरेक कार्यक्रम गर्नुअघि सकारात्मक र नकारात्मक पाटो केलाउन सक्नुपर्छ। जिम्मेवार दलले जनताका स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर भए पनि आउने दिनमा यस्ता कार्यक्रम गर्दा होसियारी अपनाउनुपर्छ। जनताका जीउधनको रक्षा गर्नु हामी सबैको साझा दायित्व हो भन्ने यथार्थलाई कुनै पनि दलले नजरअन्दाज गर्न मिल्दैन।
अहिलेको राजनीतिक परिस्थतिका कारण यस्ता कुनै पनि कार्यक्रम गर्नु हुँदैन त भन्न मिल्दैन। तर सकेसम्म खुला ठाउँमा भीड नहुने गरी कार्यक्रम गर्नुपर्छ। बन्द कोठामा उकुसमुकुस हुने गरी कार्यकर्ता थुपारेर गरिने कार्यक्रमलाई सकेसम्म खुला ठाउँमा लैजानुपर्छ। यति पनि गर्न सकिँदैन भने सीमित व्यक्तिको उपस्थितिमा कार्यक्रम सञ्चालन गर्नुपर्छ। यो कठिन परिस्थितिमा भीड नियन्त्रण र एकअर्काबीच सामाजिक दूरी कायममै सबैको हित हुनेछ।