दाहाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक १ बजेलाई सारियो
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक १ बजेका लागि सारिएको छ। बिहीबार ११ बजेका लागि बोलाएको बैठक डेढ घण्टा पर सरेको हो।
शीर्ष नेताहरुको बैठक नसकिएकाले बैठक सारिएको जनाइएको छ। केन्द्रीय कमिटी बैठकमा पेश गर्ने प्रस्ताव तयार गर्न अहिले शीर्ष नेताहरुको बैठक पार्टी कार्यालय पेरिसडाडामा जारी छ।
बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकले महासचिवमा सुरेन्द्र पाण्डेलाई चयन तयारी गरेको छ। यस्तै केन्द्रीय कमिटी बैठकले दुई अध्यक्षको वरीयता तोक्ने र संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रममा तय गर्ने एजेन्डा तय गरेको छ।
यसअघि प्रचण्ड–नेपाल पक्षको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरी रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको थियो।
प्रचण्ड–नेपाल समूहले बुधबार संसदीय दलको नेतामा प्रधानमन्त्री ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेका थिए।
ओली समूहको केन्द्रीय कमिटी बैठक पनि आज बस्दैछ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपाका दुई खेमा अलग्गिएका हुन्।