‘मम मज्जा’मा प्रदीप
काठमाडौं : नेपाली फिल्मका चकलेटी अभिनेता प्रदीप खड्काले नयाँ बानेश्वरमा सञ्चालनमा आएको ‘मम मज्जा’को पहिलो आउटलेट उद्घाटन गरेका छन्। बिहीबार एक कार्यक्रमबीच उनले रिबन काटेर ‘मम मज्जा : स्वाद घरको’ उद्घाटन गरेका हुन्।
‘सानो मन र के घर के डेरा’ फिल्मका निर्माता शरद श्रेष्ठको टिमले यो आउटलेट सञ्चालनमा ल्याएको हो। कार्यक्रममा प्रदीपले नेपालमा ममलाई ब्रान्डका रूपमा स्थापित गर्न ‘मम मज्जा’ले मद्दत गर्ने बताए। ‘कफीको चेन भनेझैं ममलाई पनि ब्रान्डका रूपमा स्थापित गर्नु जरुरी छ। हामीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ’, उनले भने, ‘ग्राहकले यहाँ अर्गानिक ममको स्वाद पाउँछन्।’
ग्राहकको स्वास्थ्यप्रति संवेदनशील र सचेत रहेका कारण ‘मम मज्जा’मा आफू आबद्ध भएको उनले बताए। उनी आफू पनि ममपारखी हुन्। ‘साँधेको मम विशेष मन पर्छ। भोक लागेको बेला डेढ दुई प्लेट मम त खान्छु’, उनले भने।
सञ्चालक श्रेष्ठले ग्राहकको स्वास्थ्य र स्वादलाई ध्यानमा राखेर ‘मम मज्जा’को सुरु गरेको बताए। ‘ग्राहकलाई घरको स्वाद दिन हामीले ‘मम मज्जा’को आउटलेट सुरु गरेका हौं’, उनले भने।