चीनले उकासेको विश्व अर्थतन्त्र

चीनले उकासेको विश्व अर्थतन्त्र

नेतृत्वमा अन्ध राष्ट्रवाद नभई राष्ट्रवादी दृष्टिकोण हुनुपर्‍यो अनि सधैं जनता हुन्छन् यो देशका मालिक


कोभिड– १९ का कारण विश्वको आर्थिक अवस्था डामाडोल छ। पैठारीमा निर्भर देशको आर्थिक अवस्था झन दयनीय बन्यो। हाम्रोजस्तो वैदेशिक रेमिट्यान्सका भरमा चल्ने देशको भने निकासी कम हुँदा विदेशी मुद्रा सञ्चित बढेको छ। तर पनि ठूला औद्योगिक राष्ट्रहरू रत्तिभर हरेस नखाई आफ्ना जनताका मन जित्दै पूर्ण जिम्मेवारीपूर्वक प्रस्तुत भई पुरानै लयमा फर्कने अवश्थामा छन्। तर बेलायतलगायत अन्य युरोपिली राष्ट्रहरूमा दोस्रो चरणको महामारीका कारण पुनः लकडाउन सुरु गरिएको छ।

धेरै राष्ट्रमा सरकारले सहयोग र आत्मबल प्रदान गरेका पर्याप्त उदाहरण हाम्रासामु छन्। यस महामारीबाट विश्वभर करिब १७ लाख मानिसको मृत्यु भइसकेको छ। मृत्यु आफैंमा राम्रो होइन तर हाम्रो देश र अन्य देशको तुलनामा यो भिन्न छ। विकसित देशमा कसैको अभिभावक वा संरक्षकको मृत्यु हुँदा त्यस व्यक्तिसँग संरक्षित लोग्ने वा पत्नी माता वा पिता, बालबच्चा अभिभावकविहीन हँुदैनन्, त्यसको संरक्षक स्वतः सरकार हुन्छ। सम्पूर्ण जिम्मा सरकारले नै लिन्छ। त्यसैगरी हाम्रो देशमा बालबच्चा टुहुरा हुन्छन्, मातापिता भोकै मर्छन्, पति र पत्नीको बिचल्ली हुन्छ। तसर्थ त्यो मृत्यु राष्ट्रका लागि एक प्रतिशत पनि होइन तर त्यस परिवारका लागि शतप्रतिशत मृत्यु हो।

चीनको सानो सहरबाट सुरु भएको कोरोना महामारी विश्वभर फैलिन धेरै समय लागेन। कतिले त यो कृत्रिम भाइरस हो सम्म भन्न पछि नपरी चीनलाई आर्थिक नाकाबन्दीसम्म लगाउनुपर्ने धारणा राखे। विश्वभर आर्थिक साम्राज्य फैलाउँदै गरेको चीनको सयौं देशमा अर्बौंका ठूला योजना छन्। ती सबै बन्द गर्नेसम्म धम्की शक्ति राष्ट्रहरूले दिए। कोभिड– १९ को कारणले भएका सम्पूर्ण आर्थिक क्षतिको जिम्मेवारी चीनले नै लिनुपर्छ भन्ने सम्म मात्र होइन, चीनबाट लिएका ऋणसमेत तिर्नुनपर्ने सम्म तर्क नआएका होइनन्।

विभिन्न आरोपहरूको पछि नलागी जनताप्रतिको जिम्मेवारी बहन गर्दै सबैभन्दा छिटो यो महामारी नियन्त्रण गर्न सफल भयो चीन। कतिसम्म भने आफूलाई आवश्यक हुँदाहुँदै हाम्रो राष्ट्रमा समेत स्वास्थ्य सामग्री उपलब्ध गरायो। यही रफ्तारमा कोभिड– १९ को भ्याक्सिनसमेत पत्ता लगाई हालमा आफ्ना जनतासमक्ष उपलब्ध गराइसक्यो। जुन देशका सरकार सक्षम भए वा महामारीविरुद्ध सम्पूर्ण जनता एक भए; त्यस्ता राष्ट्रले यो महामारीबाट करिब–करिब छुट्कारा पाइसके भने लकडाउन तथा मास्कको अनिवार्य प्रयोग नगरेका शक्तिसम्पन्न राष्ट्रहरूले ठूलो मानवीय क्षति बेहोरिसके। एउटै छातामुनि बसी उत्पादन गरिने उद्योगहरू त प्रभावित भए भने संसार परिक्रमा गर्ने पर्यटन उद्योग धराशायी नहुने कुरै भएन।

नेपालको विकासमा मात्र दुई क्षेत्र जलविद्युत् र पर्यटन अगाडि बढाउन सकियो भने नेपाली धनी हुन धेरै समय कुर्नुपर्दैन। हाम्रै पुस्ताले त्यो अवसर प्राप्त गर्छ; मात्र राजनेता हुनुपर्‍यो। राजनीतिक इच्छाशत्तिाm पलाउनुपर्‍यो। जनताप्रति समर्पित हुनुपर्‍यो।

वर्तमान विश्वमा सम्भवतः चिनियाँ सामान नपुगेको कुनै राष्ट्र नहोला। नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने आजभन्दा करिब २० वर्षअघिसम्म तीन–चार हजार पर्ने ज्याकेट पाँच–छ सयमा बजारमा सजिलै पाइन्थ्यो। गरिबका लागि छँदै छ, धनीहरूका लागिसमेत विलासिताका सामान खोजेअनुसार पाइन्छ। सस्तो श्रमिक र उत्पादन लागत कम भएका कारण विश्वका सम्पन्न मुलुकहरू चीनमा उद्योग खोल्न तँछाडमछाड गर्दैछन्। कोभिड– १९ को सम्पूर्ण दोष चीनलाई दिन आफ्ना उद्योगहरू अन्यन्त्र सार्न खोज्ने राष्ट्रहरूसमेत हरेस खाई स्थानान्तरण गर्न असफल भए।

विश्व बजारमा एकछत्र राज गर्दै गरेको चीनले पर्यटन उद्योगमा कत्तिको स्थान ओगटेको छ वा विश्व पर्यटनमा कत्तिको सहयोग गरेको छ भन्ने कोभिड– १९ तुरुन्त विश्वभर फैलिएबाट पनि प्रस्ट हुन्छ। हरेक कुराको सकारात्मक र नकारात्मक पाटो हुने गर्छ। मानिसको मृत्यु नकारात्मक पाटो हो भने ती चिनियाँहरू पर्यटकका रूपमा कति भ्रमण गर्दा रहेछन् र गन्तव्य मुलुकको अर्थतन्त्रमा कति सहयोग गर्दो रहेछ भन्ने सूक्ष्मरूपले अध्ययन गर्ने हो भने सन् २०२० लाई छाडेर अन्य वर्षमा उसको योगदान कति रहेछ भन्ने प्रस्ट हुन्छ। तसर्थ नकारात्मकताभित्र सकारात्मकताको खोजी गर्ने हो भने हरेक कुरामा अवसर भेटिन्छ।

कोभिड– १९ कुन जीवजन्तुबाट मानिसमा सर्‍यो भन्ने विवादको विषय बनेको छ। यो मानिसबाट मानिसमा भने तीव्र रूपमा सरेको वैज्ञानिक तथ्य एवं व्यावहारिक पक्षबाट प्रस्ट भइसक्यो। चीनको सानो सहरबाट सुरु भएको यो महामारी डढेलो झैं विश्वभर फैलियो। यसको प्रमुख कारण भनेको मानिसको घुमन्ते प्रवृत्ति नै हो। तसर्थ यसबाट के प्रस्ट हुन्छ भने चिनियाँहरू पर्यटकका रूपमा विश्वभर भ्रमण कत्तिको गर्दा रहेछन्। चिनियाँहरूको वर्षभरि करिब ११ महिना काम गर्ने र एक महिना घुम्ने संस्कृतिको विकास उनीहरूले गरिसकेको देखिन्छ। सन् २०२० को सुरुमा चिनियाँ नयाँ वर्षमा घुम्न हिँडेका उनीहरूले यस वर्ष कोभिड– १९ लाई विश्वभरि अनायास लिएर गए, जसले गर्दा विश्व नै त्रसित त भयो तर अन्य वर्षमा चिनियाँ पर्यटकले संसारभर पुर्‍याएको आर्थिक योगदान सम्झनलायक हुने गरेको प्रमाणित गर्न सफल भयो।

करिब एक अर्ब ४४ करोड जनसंख्या भएको चीनमा करिब नौ प्रतिशत जनताले मात्र राहदानी पाएका छन्। करिब १९ प्रतिशत विश्वको जनसंख्या ओगटेका चिनियाँहरू धेरै राष्ट्रका आर्थिक स्रोत आर्जनका माध्यम बनेका छन्। सन् २०१८ मा मात्र करिब १४ करोडपटक चिनियाँ वैदेशिक भ्रमणमा निस्केका थिए भने उनीहरूको प्रमुख गन्तव्यमा युरोपको जर्मन, जापान, अमेरिका, बेलायत, थाइल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, मलेसिया, मालदिप्स, हङकङ, मकाउ, ताइवान आदि राष्ट्रहरू छन्।

सन् २०१९ मा चिनियाँहरूले करिब दुई सय ५५ बिलियन वैदेशिक भ्रमणका लागि खर्च गरेको देखिन्छ। चिनियाँहरूको प्रमुख पाँच गन्तव्यमा सन् २०१८ मा आफ्नै मुलुकभित्र करिब १४९ मिलियनले आन्तरिक पर्यटनमा रमाए भने जर्मन १०९ मिलियन, संयुक्त राज्य अमेरिका ९३ मिलियन, बेलायत ७१ मिलियन र इटाली ३४ मिलियनले यात्रा गरेका थिए। उक्त अवसरमा संयुक्त राज्य अमेरिकामा मात्र एकजनाले ११ हजार पाँच सय अमेरिकी डलर खर्च गरे भने अन्य देशमा प्रतिव्यक्ति २९ सय डलर खर्च गरे। चिनियाँ पर्यटकले मात्र अमेरिकामा सन् २०१८ मा करिब ३५ बिलियन डलर खर्च गरे। चीनले आफ्ना जनताका लागि सन् १९९५ मा मात्र ६ वटा गन्तव्य चयन गरेकोमा सन् २०१९ सम्म आइपुग्दा १३१ राष्ट्रसँग गन्तव्य राष्ट्रहरूको सम्झौता गर्‍यो। यसबाट चीनले वर्तमान विश्वमा हरेक क्षेत्रमा अहम् भूमिका निर्वाह गरेको प्रस्ट हुन्छ।

यसरी संसारका धेरै राष्ट्रहरू चिनियाँ पर्यटकमा निर्भर छन् भने हामी प्रकृतिको अनुपम उपहार आफ्नै छिमेकी राष्ट्रलाई सदुपयोग गर्न सकेका छैनौं। नेपालको विकासमा मात्र दुई क्षेत्र जलविद्युत् र पर्यटन अगाडि बढाउन सकियो भने नेपाली धनी हुन धेरै समय कुर्नुपर्दैन। हाम्रै पुस्ताले त्यो अवसर प्राप्त गर्छ; मात्र राजनेता हुनुपर्‍यो। राजनीतिक इच्छाशक्ति पलाउनुपर्‍यो। जनताप्रति समर्पित हुनुपर्‍यो। अन्ध राष्ट्रवाद होइन; राष्ट्रवादी दृष्टिकोण हुनुपर्‍यो अनि सधैं जनता हुन्छन् यो देशका मालिक। अनि हाँस्छ प्रकृतिले प्रदान गरेका नदीनाला हिमशृंखला साथै विश्वको सर्वोच्च शिखर सगरमाथा। अनि बन्छ समृद्ध नेपाल तब हुन्छन् राष्ट्रका मालिक नेपाली। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.