मेसिनबाट ग्रेडिङ
स्याङ्जा : यस वर्ष स्याङ्जाले मेसिनद्वारा सुन्तला ग्रेडिङ गरी निर्यात गरेको छ। अर्जुनचौपारी गाउँपालिका—१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मका सञ्चालक एवं अगुवा सुन्तला किसान फणिनारायण अर्यालले ग्रेडिङ मेसिनमार्फत सुन्तला ग्रेडिङ गरी बिक्री गर्न थालेका हुन्।
बगैंचाबाट टिपेर ल्याइएका सुन्तला व्यक्तिले मेसिनमा राखेपछि अन्य काम सोही मेसिनले गर्छ। मेसिनमार्फत विभिन्न साइजका दाना छुट्टाछुट्टै भाँडामा गएर खस्छन्। साइजअनुरूप दाना छुट्टाछुट्टै भाँडामा खसेपछि ती सुन्तलालाई प्याक अथवा क्रेटमा भरेर निर्यात गरिन्छ। मेसिनमा आठ प्रकारका सुन्तलाका दाना छुट्ट्याउन सक्नेछ। यहाँ भने चार प्रकारबाट ग्रेडिङ गरिएका छन्। ‘विगतमा हातले सुन्तला गे्रडिङ गरिन्थे। हातले छुट्टाउँदा ढिलो र एकै साइजका राख्न कठिन हुन्थ्यो। अहिले छिटोछरितो हुनुका साथै कामदार पनि धेरै कटौती भएका छन्। सुन्तलाका प्राकृतिक रङ देखिएको छ’, सञ्चालक अर्याल भन्छन्।
मेसिन चार च्याम्बर जडित छ। सुरुमा मेसिनमा खसालेका सुन्तला निस्किँदा सुन्दर र प्राकृतिक रङसहित विभिन्न आकारमा छुट्टाछुट्टै निस्कन्छन्। जब व्यक्तिले सुन्तलालाई मेसिनमा खसाल्छ त्यसपछि पानीले पखाल्ने काम गर्छ। दानामा लागेका धुला तथा काला धब्वा पखालिन्छन्। त्यसपछि ती सुन्तला ती सुन्तला ड्राइङ च्याम्बरमा पुग्छन्। पानीले पखालेका ती सुन्तला सुकाउने काम गर्छ। त्यसपछि सुन्तला आफ्नै रङमा निस्कँदै ग्रेडिङ च्याम्बरमा पुग्छ। त्यसपछि सुन्तला थप गे्रडिङका लागि दुई च्याम्बरबाट विभिन्न आठ किसिममा छनोट हुँदै मेसिनमा राखिएका भाडामा झर्छन्।
यसरी विभिन्न प्रक्रिया पूरा गरेर झरेका सुन्तलाका दाना चिल्ला, चम्किला र एकै आकारका हुने हुँदा क्रेता र विक्रेतालाई सुन्तलाको मोलमलाई समेत गरिरहनु नपर्ने बताउँछन् सुन्तला सुपरजोनका सचिव मुक्तिप्रसाद अधिकारी। उनले भने, ‘ग्रेडिङ गरिएका दाना हेर्नेबित्तिकै क्रेताले पनि उचित मूल्य गर्छ।’