गाउँमा डाक्टर पुगेपछि खुसीयाली
बेनी : गाउँमा नियमित बसेर सेवा गर्ने गरी डाक्टर पुगेपछि म्याग्दीको धवलागिरी र अन्नपूर्ण गाउँपालिकाबासीमा खुसीयाली छाएको छ । भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी र अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक डाक्टर पुगेका हुन् ।
धवलागिरी गाउँपालिकाले ताकम र अन्नपुर्णले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेका छन् । अन्नपूर्णले पुष १ गते डाक्टर ज्योति पन्थि र धवलागिरीले पुष ८ गते डाक्टर एकराज भण्डारीलाई नियुक्त गरेको थियो ।
धवलागिरी–७ ताकमका वडा अध्यक्ष कलानिधी सुबेदीले कोरोना अस्पतालका नियुक्त गरिएका चिकित्सक र स्वास्थ्यकर्मीको नियुक्तिलाई निरन्तरता दिएर नियमित रुपमा अस्पताल सञ्चालन गर्न लागेको बताए ।
'नियमित बसेर सेवा दिने गरेर पहिलो पटक गाउँमा डाक्टर आएका हुन, 'उनले भने, 'पहिलो पटक गाउँपालिकामा डाक्टर आएकोमा स्थानीयबासी खुसी भएका छन् ।'
अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई वडाका जनप्रतिनिधि र ताकमका बासिन्दाहरुले बिहीबार अबिर माला लगाएर स्वागत गरेका थिए ।
ताकम स्वास्थ्य चौकीको भवनमा पाँच शैया क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्बाधार र सामग्री व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन् ।
यही मंगलबार सम्पन्न विशेष गाउँसभाले ताकममा ५ शैया क्षमताको अस्पताल स्थापना गर्र्ने निर्णय गरेको थियो । 'अहिले तीन महिनालाई डाक्टर र नर्स नियुक्त गरेका हौं,' अध्यक्ष पुनले भनिन्,'कोरोना अस्पताल स्थापना भएको ताकममै गाउँपालिकाले नियमित अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ।'
अस्पताल भवन निर्माणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७० लाख रुपैयाँ पठाएको छ । भवन निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर ठेक्का आव्हानको तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले बताए ।
कोरोना अस्पताल सञ्चालन गर्न यसअघि मालिका गाउँपालिकाले डाक्टर नियुक्त गरेको थियो । मंगला र रघुगंगा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरेपनि डाक्टर पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै पालिकालाई १० लाख बजेट पठाएको थियो ।
आवश्यक मेडिकल बेड र अक्सिजनलगायतका औजार र औषधिको समेत व्यवस्था गरिएको छ । ४ लाख ५० हजार तलब, ५० हजार औषधि र ५ लाखको बेडसहितका सामग्री किन्न शिर्षक तोकेर बजेट पठाएको हो ।