‘सरकारी निर्णय कुरौं’
काठमाडौं : एकतर्फी रूपमा फिल्म हल खोलेका चलचित्र प्रदर्शकहरूलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले बोलाएर छलफल गरेको छ। चलचित्र प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघले कोरोना भाइरसको जोखिमका कारण झन्डै ९ महिनादेखि बन्द भएका हल शुक्रबारदेखि खोल्ने निर्णय गरेको थियो। सरकारको अनुमतिबिना हल खोलेको भन्दै जिल्ला प्रशासनले उनीहरूसँग छलफल गरेको हो।
हल खोल्ने विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव पठाउन जिल्ला प्रशासन कार्यालयले आफूहरूलाई बोलाएको नेपाल चलचित्र संघका महासचिव अशोक शर्माले बताए।
‘अहिलेसम्म मन्त्रिपरिषद्मा हल खोल्ने प्रस्ताव नै पुगेको रहनेछ,’ उनले भने। यस विषयमा सरकारी निर्णय नभए पनि फिल्म हल भने खुल्ने उनको दाबी छ। सरकारको अनुमतिबिना हल सञ्चालन गर्न नहुने भन्दै जिल्ला प्रशासन कार्यालयले कारबाहीको चेतावनी पनि दिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले सरकारको निर्णयविपरीत हल खोल्न नपाउने बताए।
भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र ढुण्डीप्रसाद निरौलाले पनि सरकारको निर्णयअनुसार नै चल्नुपर्ने बताए। हल खोल्नुपर्छ भन्ने मान्यतामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रहे पनि यसका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यक रहेको सहसचिव डिल्लीराम शर्माको भनाइ छ।
सिंगल र मल्टिप्लेक्स दुवैतर्फ कोरोनाका कारण प्रदर्शनकै क्रममा रोकिएका ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शन भएका छन्। नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले नेपाली फिल्मसँगै हलिउड फिल्म ‘ब्लडसट र दी इनभिजिबल म्यान’ पनि प्रदर्शन गरेको छ। प्रायः मल्टिप्लेक्सले यी सबै फिल्मलाई एक÷एक सो दिएका छन्। हल खोले पनि दर्शकको उपस्थिति भने देखिएन।