हिन्दू–बौद्ध घुलनमा पशुपतिनाथ
पाशुपत क्षेत्र प्राचीन कालदेखि नै धार्मिक, आध्यात्मिक र सांस्कृतिक क्षेत्रका रूपमा परिचित छ। पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्बीको धार्मिक गन्तव्यको मुख्य थलो पनि हो। विश्वका एक अर्बभन्दा बढी सनातनी धर्मावलम्बीको सर्वोच्च मन्दिर पशुपतिनाथलाई अधिकांशले वैदिक मार्गीका देवताका रूपमा मात्र बुझ्ने गरेका छन्। तर पाशुपत क्षेत्र बौद्ध धर्मावलम्बीको पनि उत्तिकै विशेष स्थल हो। यहाँका हिन्दू कलाकृतिको राम्रोसँग अध्ययन भइनसकेको अवस्थामा यहाँका बौद्ध सम्पदा र कलाकृति अझ धेरै ओझेलमा छन्।
पाशुपत क्षेत्र शताब्दीयौंदेखि वैदिक मात्र नभएर बौद्ध धर्मावलम्बीको समेत धार्मिक आस्थाको केन्द्रका रूपमा छ। प्राचीन कालमा शिवदेवविहार र राजविहार आदि बौद्ध विहारहरूको अवस्थिति पाशुपत क्षेत्रमै भएको संकेत पाइन्छ भने कोटुबहिल, चाबहिल, मैजूबहाल आदि बहालहरू तथा धन्दोचैत्य, बौद्धनाथ स्तूप र अन्य थुप्रै बौद्ध कलाकृति यस भेगमा अहिले पनि जीवित छन्। यसरी पशुपतिनाथ भेगमा हिन्दू मठमन्दिरका साथमा बौद्ध कलाकृति पनि प्रचुर छन्।
भगवान् शिवकै नाम पशुपतिनाथलाई सम्पूर्ण दिव्य शक्तिका अधिष्ठानका रूपमा लिइन्छ। समस्त भुवनका मालिक, पार्थिव जगत्का अधीश्वर, विश्वव्यापी सत्ता आदिले पशुपतिनाथलाई चिनिन्छ। पञ्चब्रह्मोपनिषद्मा पशुपतिनाथलाई सद्योजात, वामदेव, अघोर, तत्पुरुष र ईशान भएको व्याख्या गरिएको छ। जहाँ सद्योजातलाई ऋग्वेद, वामदेवलाई यजुर्वेद, अघोरलाई सामवेद र तत्पुरुषलाई अथर्ववेद तथा ईशानलाई सर्वविद्यास्वरूप मानिएको पाइन्छ। पशुपतिनाथलाई समग्र आगमिक अर्थात् तान्त्रिक ज्ञान परम्पराका आदिस्रोतका रूपमा वर्णन गरिन्छ। उनै पशुपतिनाथमा गरिने श्रीयन्त्र पूजामा सम्पूर्ण दर्शनलाई समन्वय गराएको पाइन्छ।
श्रीयन्त्रको पूजा तान्त्रिक पद्धतिले गरिन्छ। यता वैदिक र आगमिक पद्धतिमा पनि श्रीयन्त्रको पूजा हुने गर्छ। पशुपतिनाथको ईशानमा नित्य रूपमा पुजारीले वैदिक परम्पराअनुसार श्रीयन्त्र निर्माण गरी पूजाआजा गर्छन्। वज्रयानी बौद्ध परम्परामा पनि तान्त्रिक पद्धतिले शक्तिको पूजा श्रीयन्त्रमा गर्ने चलन छ।
यसरी श्रीयन्त्र पूजा वैदिक र तान्त्रिक दुवै पद्धतिले हुने गर्छ भने बौद्ध परम्परामा पनि यसको पूजाआजा हुने गरेको छ।
पशुपति र स्वयम्भू स्वउत्पत्तिको कथा
पशुपतिनाथको ज्योतिर्लिंगलाई आद्य ज्योतिर्लिंग मानिन्छ, जसको अभ्युदय सृष्टिको सुरुमा भएको मानिन्छ। त्यस बेला ब्रह्मा र विष्णुका बीचमा को ठूलो भन्ने विवाद हुँदा शिवजीले ज्योतिर्पुञ्जका रूपमा प्रकट भएर तिनीहरूको घमण्ड चुर गरेको र उक्त पुञ्ज जमिनमा धसेको तथा पछि द्वापर युगमा गोठालाको नाइकेले त्यही लिंगरूपी ज्योतिर्पुञ्ज पत्ता लगाएको पौराणिक कथा हिमवत्खण्ड पुराण र नेपाल महात्म्यमा दिइएको छ। यसरी पशुपतिनाथको उत्पत्ति काठमाडौंमा बसोबासको सुरुआतका साथमा भएको मानिन्छ।
यसैगरी अघि काठमाडौं उपत्यका नागदहका रूपमा रहँदा त्यस दहका बीचमा एउटा कमल फुलेको र त्यसैमा स्वयम्भूको ज्योतिर्लिंग उत्पत्ति भएको कुरा स्वयम्भू पुराणमा वर्णित छ। यस पुराणमा पाइने विवरणअनुसार त्रेता युगमा मञ्जुश्री महाचीनबाट नेपालमा आएर चोभारको डाँडा काटी उपत्यकाको पानी बाहिर पठाएकाले यस पोखरीको बीचमा फुलेको कमलको पूmल ढल्किएर गोपुच्छ पर्वतमा अडेको र त्यसै पर्वतका टुप्पामा स्वयम्भूको ज्योतिर्लिंग रहेको बताइएको छ। यसरी पशुपतिनाथ र स्वयम्भूनाथ दुवै आफैं उत्पत्ति भएका हुन् भन्ने कुरा पुराणहरूमा उल्लेख छ।
बुद्धको मुकुट र पशुपतिनाथ
विश्व सम्पदा सूचीमा सूचीकृत पाशुपत क्षेत्रमा एक सयभन्दा बढी पाटी र सत्तल छन् भने चार सयजति मन्दिरका साथै हजारौं प्रतिमा पाइन्छन्। मृगस्थलीलाई शिवलिंगको पहाड भनिन्छ। पाशुपत क्षेत्रको बौद्ध परम्परा पनि निकै पुरानो मानिन्छ। किंवदन्तीमा पशुपतिनाथ क्षेत्रमा पहिले विहार थियो, जसलाई भत्काएर पशुपतिनाथ मन्दिर बनेको बताइने गरिन्छ तर यसमा कुनै प्रमाण छैन। पशुपतिनाथको अस्तित्व मानव बसोबासको सुरुआतदेखि निरन्तर रूपमा रहेको छ। यसको छेउछाउमा भने त्यस्ता विहार बनेका हुनसक्ने मानिन्छ। पशुपतिनाथलाई स्वयम्भू पनि भनिन्छ, मतलब आफैं उत्पन्न भएको अर्थमा। यसको ज्योतिर्लिंग आफैं उत्पत्ति भएको पौराणिक मान्यता छ। यो आद्य ज्योतिर्लिंग मानिएको छ। शिवजीलाई नीलकण्ठ भनिन्छ भने नेपालको नेवारी बौद्ध धर्ममा नीलकण्ठ लोकेश्वरको पनि चर्चा आउने गर्छ।
क्वाबाहाका क्वापाद्य या हिरण्यवर्ण महाविहारका देवता पहिले पशुपतिनाथमा थिए, जसलाई बाग्मती नदीले बगाउँदै शंखमूल पु¥याएपछि तिनलाई यहाँ स्थापना गरिएको हो भन्ने किंवदन्ती क्वाबाहा भेगमा प्रचलित छ। यता कसैकसैले पशुपतिनाथको मुकुटलाई बुद्धको मुकुट पनि भन्ने गर्छन्। यहाँ मुखाष्टमीका दिन पशुपतिनाथलाई बुद्धको मुकुट लगाएर पूजा गरिन्छ भनिन्छ। तर त्यस दिन त्यसो गर्ने गरिएको भने देखिँदैन। बालाचतुर्दशीका दिन भने पशुपतिनाथलाई मुकुट लगाएर पूजा गरिन्छ।
यसको मुकुटमा एकमुखे रुद्राक्ष र नागमणि राखिएको छ। कसैकसैले यसलाई बुद्धको मुकुट पनि भन्ने गर्छन्।
माघ शुक्ल चतुर्दशीका दिन पशुपतिनाथमा कैलाश पुष्प बनाएर लगाइदिने चलन छ। डीआर रेग्मीका अनुसार कैलाश पुष्पको मुकुटलाई बोधिसत्वको मुकुट भन्ने गरिन्छ। भोलिपल्ट अर्थात् माघ पूर्णिमाका दिन पशुपतिनाथको गर्भगृहमा पानी जमाएर दर्शन गर्ने गरिन्छ, जसलाई छायाँ दर्शन भनिन्छ। यसमा स्थानीय बौद्धमार्गी वज्राचार्य र शाक्य आदिको पनि उपस्थिति हुने हुँदा यसलाई बौद्ध धर्मसँग पनि जोडेको हुन सक्छ। मगध नरेश अशोक बौद्ध धर्मको प्रचारका लागि उपत्यकाको भ्रमणमा आउँदा तिनकी छोरी चारुमती यतै बस्न चाहेकाले तिनको विवाह अशोक पत्तनका देवपालसँग गरिएको र तिनीहरूले देवपत्तन या देउपाटन सहर बसाएको चर्चा राइटको वंशावलीमा पाइन्छ। यिनीहरू जीवनको अन्तिम समयमा भिक्षुभिक्षुणी भएर चारुमती विहारमा बसेको चर्चा पनि पाइन्छ। गोपालराज वंशावलीमा वृषदेवले चाबहिल चैत्य बनाएको उल्लेख छ। चाबहिल पाशुपत क्षेत्रमै पर्छ।
पशुपति भेगका विहार, भिक्षु संघ र बौद्ध वंशावली नरेन्द्रदेवको पाटन यागवहाल र पशुपति बज्रघरको अभिलेखमा पशुपतिनाथ क्षेत्रमा उनैले एउटा ढुंगेधारा बनाएर त्यसको रेखदेख गर्न शिवदेव विहारका चातुर्दिक आर्य भिक्षु संघलाई जिम्मा दिएको र त्यहाँको मुद्दा मामिला छिन्ने अधिकारसमेत यसै भिक्षु संघलाई दिएको उल्लेख छ। यसको अर्थ पशुपतिनाथ भेगमा पनि भिक्षु संघ रहेछ र यताकै विहार पनि बनेको रहेछ भन्ने अनुमान हुन्छ। हाल राजराजेश्वरीको बुद्धको मूर्ति भएको भेगमा तथा वरुणधारा र भुवनेश्वरी वरपर रहेका पुराना चैत्यको अवशेष पाइएका भेगमा अघि एउटा विहार रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ।
स्कन्द पुराणको हिमवत्खण्डअनुसार अन्तर्वेदो नगरका धर्म शर्माका छोरा विरुपाक्ष पूर्वजन्मको पापको फलका कारण मातृगामी र दुराचारी भएका तथा त्यस पापबाट कुष्ठरोग लागेपछि प्रायश्चित्त गर्न हिँड्दा कोसी प्रदेशमा ‘ने’ मुनिसँग भेट भएको तथा तिनीसँगै विभिन्न तीर्थ घुमी पापमुक्त भएर पशुपतिनाथको कृपा पाई तिनैको छेउमा बस्न लागेको कथा छ। यता स्वयम्भू पुराणमा चाहिँ विरुपाक्षको कथा केही भिन्न रूपमा दिइएको छ। यसमा पाइने कथाअनुसार मातृगामी विरुपाक्ष सर्वप्रथम पापबाट मुक्ति पाउने उपाय सोध्न पशुपतिनाथकहाँ गएछन्। पशुपतिनाथले १२ भारी ताँबो गालेर पिउन सुझाव दिएकाले यस्तो कुरा सम्भव नभएको महसुस गरी तिनले एक भिक्षुकहाँ गएर सुझाव मागेछन्। ती भिक्षुले भने एउटा माला दिएर त्यो माला नखिउन्जेल मन्त्र जप्न सुझाएकाले विरुपाक्ष पनि भिक्षुले भनेअनुसार नै माला जपेर मुक्त भएछन्। त्यसपछि शिवजीसँग रिसाएर विरुपाक्ष सबै शिवलिंग भत्काउँदै पशुपतिनाथ आइपुग्दा शिवजी भने डरले बुद्धको शरणमा गएछन्।
बुद्धले पनि शिवजीलाई एउटा मुकुट दिएकाले तिनले यो मुकुट लगाएछन् र विरुपाक्षले पशुपतिनाथलाई पनि बुद्ध नै मानेर पूजाआजा गर्न लागेछन्। त्यसैको परिणामस्वरूप कात्तिक शुक्ल अष्टमीका दिन पशुपतिनाथमा बुद्धको मुकुट लगाएर बौद्ध परम्पराले पूजाआजा गरिन्छ भन्ने कुरा स्वयम्भू पुराणमा छ। पशुपतिनाथमा भने यस्तो पूजा हुने गरेको पाइएको छैन। बाला चतुर्दशीका अवसरमा पशुपतिनाथलाई लगाइने मुकुटलाई पनि यसो भनिएको हुनसक्छ भने माघ शुक्ल पूर्णिमाका दिन पशुपतिनाथलाई कैलाश कुसुमारोहण गरिन्छ। यसमा कैलाश फूलको प्रतीकस्वरूप पशुपतिनाथलाई एउटा मुकुट लगाएर पूजाआजा गर्ने चलन छ, जसलाई बुद्धको मुकुट लगाइएको हो पनि भनिन्छ। तर यसका बारेमा पनि प्रमाण भने पाउन सकिएको छैन।
महादेव–पार्वती नाचमा विहारका शाक्य
गुुह्येश्वरीलाई हिन्दू धर्मावलम्बीले सतीदेवीको गुह्य पतन भएको मान्छन् भने वज्रयानी बौद्ध धर्मावलम्बीले यिनलाई पाताल नैरात्म्य मान्छन्। यिनको पूजा हिन्दू र बौद्ध दुवैले तान्त्रिक विधिले गर्ने परम्परा छ। वज्रयानी बौद्ध धर्ममा सबैभन्दा पहिले गुह्येश्वरीको पूजा मञ्जुश्रीले गरेको मानिन्छ। वज्रयानी धारणामा यिनलाई हेवज्रकी शक्ति नैरात्मा (पातालयोगिनी) मानिएको छ। चारुमती विहारका शाक्यहरूद्वारा प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि तृतीयासम्म तीन दिन पशुपतिनाथ मन्दिर प्रांगणमा महादेव–पार्वती नाच नाच्ने गरिन्छ।
दिपंखा जात्रा हिन्दू र बौद्ध दुवैका मठमन्दिर र चैत्य घुमेर गरिन्छ। आश्विन पूर्णिमाका दिन, रेवती नक्षत्र, हर्षणयोग र संक्रान्ति आदि पाँचवटा योग परेको बेला यो जात्रा गरिन्छ। २५ देखि ३० वर्षमा यो जात्रा मनाइन्छ, जुन पाशुपत क्षेत्रमा पनि गरिन्छ। एक अध्ययनले काठमाडौं उपत्यकाका धेरै जात्रा वज्रयानी बौद्ध धर्मसँग सम्बन्धित रहेको देखाएको छ, जसको कुनै न कुनै सम्बन्ध पशुपतिनाथ र यो क्षेत्रसँग पनि छ। पाशुपत क्षेत्रमा सम्पन्न गरिने यस्ता जात्रापर्वबाट पनि पशुपतिनाथ र बौद्ध धर्मको सम्बन्ध पुष्टि हुने गर्छ। गुँलाधर्ममा पनि पाशुपत क्षेत्रकै
चैत्य र मठमन्दिर परिक्रमा गर्ने चलन छ। गोरखनाथका गुरु मत्स्येन्द्रनाथ शैव र वज्रयान दुवैमा पूजित छन्। भैरवलाई हिन्दूहरूले शिवजी र वज्रयानमा रक्षक देवता मान्ने पनि चलन छ।
हिन्दूका साथमा बौद्ध कलाकृति
पशुपतिनाथ मन्दिरको दक्षिण बाहिरी पर्खालमा ढोकाहरूका दायाँबायाँ भएका फल्स विन्डोलाई पित्तलका पाताले मोरेर तोरणको स्वरूप निकाल्ने कार्य गरिएको छ। ती तोरण र बीचको झ्यालको भागमा पनि तान्त्रिक देवीदेवताका आकृति अंकित गरिएका छन्। प्रतिमा शास्त्रको खासै ख्याल नगरी बनाइएको भए पनि तिनीहरूको पूजाआजा
हिन्दू र बौद्ध दुवै परम्परामा गरिन्छ। त्यहाँ पञ्चध्यानी बुद्धका तान्त्रिक स्वरूपजस्ता पनि देखिन्छन्।
पशुपतिनाथ मन्दिरको प्रांगणमै रहेको वासुकीनाथ मन्दिरकोे उत्तरतिर भित्तामा अन्य विभिन्न प्रतिमाका साथमा एउटा धर्मचक्र पनि राखिएको छ, जुन कुनै विहारको भाग हुनसक्ने अनुमान छ। यसको बीचमा धर्मचक्र छ भने दायाँबायाँ दुईवटा मृग बसेको आकृति अंकित गरिएका देखिन्छन्। पशुपतिनाथ मन्दिरको पश्चिमतिर भुवनेश्वरी मन्दिर छेउ र वरुणधारा भेगमा प्रस्तरका पुराना चैत्यका
अवशेष र केही नयाँ चैत्य पनि छन्। यस आधारमा नरेन्द्रदेवको बज्रधर अभिलेखमा नामोल्लेख गरिएको भिक्षु संघलाई रेखदेख गर्न जिम्मा दिइएको भनिएको धारा यही वरुणधारा हुन सक्ने देखिन्छ।
कसैकसैले अघि यस स्थानमा बौद्ध विहार रहेको पनि अनुमान गरेका छन्। पशुपतिनाथ मन्दिरको पूर्वतर्फ पर्ने भकुन टोलमा पनि पुराना चैत्यका अवशेषहरू पाउन सकिन्छ। भुवनेश्वरी मन्दिरअगाडिको ढुंगेधारा छेउमा पनि लिच्छविकालीन पुराना चैत्यका अवशेषहरू पाइएका छन्। विक्रमको सातौं शताब्दीतिर बनेको मानिने एउटा बुद्धको मूर्ति यही मन्दिर परिसरमा छ।
विश्वरूपा, मञ्जुश्री र नमोबुद्ध बायाँ बाहुले कुमसम्म लगेर चिवर समाएको बोधिसत्वको राजराजेश्वरी भेगमा पाइएको प्रतिमालाई लिच्छविकालकै (विक्रमको छैटौं÷सातौं शताब्दी) मानिन्छ। यस प्रतिमाले घाँटीमा माला र हातमा बाला लगाएको देखिने हुँदा यसलाई बोधिसत्व मानिएको हो। अघि यसकोे आधा भाग जमिनमुनि गाडिएको भए पनि हाल यसलाई एउटा गवाक्षजस्तो स्थानमा राखिएको छ। तिलोपा र नारोपा गुफा सूर्यघाट क्षेत्रमा पर्छन्, जुन स्थान पनि वज्रयानी बौद्ध परम्परासँग जोडिएको मानिन्छन्।
दसौं शताब्दीतिरका सिद्ध व्यक्ति तिलोपा अतिसा दिपंकर नामक बौद्ध आचार्यका समकालीन थिए। उनले बाग्मती नदीको किनारस्थित गुफामा बसेर लामो समय साधना गरे। शिष्य नारोपालाई भेटेपछि पनि तिलोपाले महामुद्रा बुझ्न नारोपालाई बाह्र वर्ष कठिन साधना गर्नुपर्ने बताएछन्। सोही क्रममा नारोपाले तिलोपासँग बाह्र वर्ष पशुपतिनाथस्थित बाग्मती नदी किनारमा पर्ने एउटा गुफामा बसेर साधना गरेछन्। अन्त्यमा नारोपालाई यसै स्थानमा महामुद्रा ज्ञान प्राप्त भएको बताइन्छ। वज्रयानी परम्पराका चौरासी सिद्धहरूमा तिलोपाको नाम पनि आउँछ। त्यसैले अहिले पनि थुप्रै सिद्ध खासगरी वज्रयानी साधकहरू पशुपति भेगमा आएर साधना गर्ने तथा सिद्धि पाउने चाहना राख्छन्।
पशुपतिनाथबाहेक यो क्षेत्रमा विश्वरूपा मन्दिर प्रसिद्ध मानिन्छ। मृगस्थलीको डाँडामा गोरखनाथ मन्दिरदेखि पूर्वतिर पर्ने यो मन्दिर नेपालको राजकीय गुम्बज शैलीको सबैभन्दा ठूलो मन्दिर मानिन्थ्यो। जीर्णोद्धार भइरहेको विश्वरूपाको प्रतिमा पित्तलको करिब १२ फिट अग्लो छ। सहस्रशिर, सहस्रवाहु र सहस्रपाउ भएको यो प्रतिमा धातुका पाताले बनेको ज्यादै ठूलो र भव्य पनि छ। हिन्दूहरूले यसलाई विश्वरूप विश्वरूपा तथा कामेश्वर कामेश्वरीका नामले पुकार्छन्। तर लामावादी बौद्धमार्गीहरू यसलाई मञ्जुश्री मानेर पूजाआजा गर्छन्, जुन मूर्ति तिब्बतबाट ल्याइएको विश्वास गरिन्छ। यसलाई वास्तवमा सहस्रबाहु लोकेश्वरको प्रतिमा हो कि भन्ने अनुमान गर्न सकिन्छ। पाशुपत क्षेत्रमै इसाको पाँचौं÷छैटौं शताब्दीताकाको एउटा चैत्य पनि पाइएको छ, जसलाई नमोबुद्ध भनिन्छ। यति पुरानो र महत्वको यो बौद्ध सम्पदा पनि सरोकारवालाका लागि विशेष बन्न सकेको देखिँदैन।
गुह्येश्वरी, पातालयोगिनी र पद्मपाणि पाशुपत क्षेत्रमा बौद्ध कलाकृति प्रचुर मात्रामा छन्। मृगस्थलीको गोरखनाथ मन्दिर आसपास विभिन्न स्थानमा बुद्धका प्रतिमा पाइन्छन्। यिनमा मुख्य दुईवटा प्रतिमा प्रख्यात छन्, जसमा एउटा गोरखनाथ मन्दिर परिसरमै राखेको बुद्धको भूस्पर्श मुद्राको मूर्ति र अर्को एउटा भग्न पाटीको पर्खालमा रहेको प्रतिमा प्रमुख छन्। पूर्वमध्य कालतिर बनेका यी प्रतिमाको प्रभामण्डल उँभोतिर केही चुच्चो हुन लागेको तथा प्रस्तरको छनोटमा केही कमसल प्रस्तर प्रयोग गरिएकाले पनि यस्तो अनुमान गरिएको हो।
यस मूर्ति फलकमा प्रयोग भएको ज्वालाबलीका कारण यो प्रतिमा पूर्वमध्य कालताका बनेको संकेत गरेको हो। मृगस्थलीका गोपालजी भगवती मन्दिर पश्चिम र मृगस्थलीको अखण्ड धुनी भेगमा पनि अठारौं शताब्दीतिरका बुद्धका प्रतिमा पाइएका छन्। यसरी मृगस्थली क्षेत्रमा पुराना बौद्ध कलाकृति प्रचुर छन्। यसबाट अघि यहाँ बौद्ध धर्मसँग सम्बन्धित अनेक प्रकारका गतिविधि हुने गरेको अनुमान छ। अघि मृगस्थलीको गोरखनाथ मन्दिर परिसरमा एउटा पद्मपाणि बोधिसत्वको प्रतिमा थियो। सातौं÷आठौं शताब्दीको मानिने उक्त पद्मपाणिको प्रतिमा चोरी भइसकेको छ।
जयबागेश्वरी भेग पनि बौद्ध धर्मावलम्बीको केन्द्रका रूपमा छ। यहाँको सबैभन्दा राम्रो बौद्ध कलाकृति लुँहिटीको ढुंगेधारामा भएको बुद्धको जन्मसम्बन्धी मायादेवीको प्रतिमा हो। यहाँ पाइएको मायादेवीको प्रतिमालाई इसाको सातौं शताब्दीतिर बनेको मानिन्छ। यहाँको पुरानो प्रतिमा २०५६ सालतिर संग्रहालयमा लगिएको छ। चाबहिल र नवाली टोल क्षेत्र पनि बौद्ध क्षेत्र हो। यस भेगमा बौद्ध कलाकृति प्रचुर छन्।
चाबहिल क्षेत्र र बौद्ध प्रभाव
चाबहिल क्षेत्रमा बौद्ध कलाकृतिको निकै प्रभाव छ। यहाँ थुप्रै विहार, चैत्य र अन्य कलाकृति छन्। यहाँको एउटा बहिलको नाम कुटुबहिल हो। कुटुबहिलको अर्को नाम राजकीर्ति गगनगञ्ज महाविहार हो, जुन चाबहिल स्तूपको पश्चिम–दक्षिण कुनामा छ। यस क्षेत्रमा दुईवटा लिच्छवि शैलीका चैत्य पाइएका हुनाले यसलाई प्राचीन कालको मानिन्छ। ‘कुटु’ क्वथुबाट बनेको हो। यहाँ क्वथुको अर्थ तल्लो क्षेत्र भन्ने बुझिन्छ। चाबहिलभन्दा माथिल्लो भागमा अर्को बहिल ‘यथुबहिल’ भएकाले यसलाई तल्लो भागको बहिल क्वथुबहिल भनिएको हुन सक्छ।
यो बहिल गंगा रानीले बनाएको बताइन्छ।
यहाँ अघि पुरानो विहार जीर्ण भएकाले नयाँ बनाएको हो भन्ने अनुमान छ। यो बहिल विहार वास्तुकलाको विशेषताअनुसार नै बनेको छ। कुटुबहिल कलाकृतिले भरपूर छ। यस बहिलका प्रांगणमा ढुंगाका चार चैत्य छन्; जसमध्ये दुई लिच्छविकालीन, एक मल्लकालीन र एक आधुनिक हुन्। चाबहिल चैत्य उपत्यकामा रहेका ठूला स्तूपहरूमध्ये धेरै पुरानो मानिन्छ। यो चैत्य जीर्णोद्धारका क्रममा गर्भको माथिल्लो भागमा एक इँटामा ब्राह्मी लिपिमा ‘चारुवती थुप’ लेखिएको पाइएको छ। तसर्थ यसलाई प्राचीन चैत्य मान्दै धर्मदेवको पालामा बनेको धमरेचैत्य हुनसक्ने पनि मान्यता राखिन्छ।
यहाँ लिच्छवि कालदेखिका अभिलेख पाइने हुँदा यो चैत्य लिच्छवि कालतिरै बनेको मानिन्छ। चाबहिल चैत्यको गर्भको वरिपरि पञ्चध्यानी बुद्धका साथै बुद्ध धर्मसम्बन्धी ७६ वटा विभिन्न देवीदेवताका मूर्ति राखिएका छन्। यस चैत्यवरिपरि कैयन् देवीदेवताका प्रतिमा राखिएका देखिन्छन्। यसमा पद्मपाणि लोकेश्वर र मञ्जुश्रीका प्रतिमा निकै प्रख्यात छन्।लोकेश्वर विहार र चारुमती बुद्धविहार
चाबहिल चैत्यको दक्षिण–पश्चिमतिर सानो दुईतले लोकेश्वरको विहार छ। उत्तर फर्केको यो विहारको ढोकाको माथितिर पञ्चध्यानी बुद्धको भित्तेचित्रहरू कोरिएका छन्। विहारको अगाडि (उत्तर) भुइँमा एउटा पद्मपत्र आकृति अंकित धर्मधातु मण्डल छ। चाबहिल चैत्य भेगमा पद्मपाणि लोकेश्वर, मञ्जुश्री, महाकाल, गणेश र अन्य देवीदेवताका प्रतिमा पनि पाइएका छन् भने चाबहिल चैत्य प्रांगणमा एउटा सानो गुम्बा पनि निर्माण गरिएको छ।
चारुमती विहार भने चाबहिल चैत्यको पश्चिमतिर पर्छ। दुई तलाको उक्त विहारलाई थतुबही र राज विहार पनि भन्ने गरिन्छ। यो विहार अशोककी छोरी चारुमतीले बनाउने लगाएको बताइन्छ। यसको आँगनमा लिच्छवि कालदेखिका चैत्य पाइएकाले यो विहार लिच्छवि कालतिरै बनिसकेको मानिएको छ। चारुमती विहारको मूल गन्धकुटीको तोरणमा प्रताप मल्लको अभिलेख छ, जसको बीचमा तीनवटा शिर र १० वटा बाहुका अक्षोभका आकृति छन्। त्यसको छेउछाउमा पञ्चध्यानी बुद्धका आकृति रहेका देखिन्छन्। मन्दिरका मूल देवता वज्रपाणि लोकेश्वर हुन्, जसको दायाँबायाँ लोकेश्वर र शाक्य मुनि बुद्धका प्रतिमा राखिएका छन्।
चाबहिलमा अवस्थित एउटा गणेशलाई चाबहिल गणेश, रक्तविनायक, गणेश्वर, चन्द्रविनायक, श्वेतविनायक, ल्होसला गणद्य पनि भनिएको पाइन्छ।
यी गणेश पहिला हाँडीगाउँमा स्थापित भएकोमा पछि यसलाई चाबहिलमा ल्याइएको बताइन्छ। चाबहिल गणेशको स्थापना चन्द्रदेवले गराएको तथा यिनको जात्राको चलन भने भूपतिन्द्र मल्लकी रानीले चलाएको इतिहास पाइन्छ। चन्द्रविनायक मन्दिरअगाडि एउटा आकर्षक चैत्य देखिन्छ भने यस मन्दिरभित्र चन्द्रविनायकको प्रतिमा राख्ने गवाक्षभन्दा माथि स्तूपकै स्वरूपी निकालिएको छ। धातुका पाताले मोरेर बनाइएको यो स्तूप निकै कलात्मक पनि छ।
हिन्दू र बौद्ध धर्मावलम्बी बीचको घुलनपाशुपत क्षेत्रमा थुप्रै प्रकारका बौद्ध कलाकृति छन् भने यहाँका परम्परा पनि हिन्दू र बौद्ध परम्परालाई घुलन गराउने प्रकारका पाइन्छन्। जस्तो
पशुपतिनाथ बालाचतुर्दशीका दिन सतबीज छर्ने मुख्य स्थान हो। यहाँ बालाचतुर्दशीका दिन बिहानै भक्तालुहरूले सतबीज छरेर बाँकी रहेको बीज भागलभुगलमा लगेर खन्याउने गर्छन्। त्यस दिन साँझपख च्यासल टोलका बालागुठी चलाउने व्यञ्जनकारहरूले मत्स्यनारायणलाई खर्पनमा बोकेर ल्याउने र यस स्थानमा वज्राचार्यका सहायताले तान्त्रिक पूजाआजा गरेर सतबीज छर्ने कार्यको समापन गर्ने गरिन्छ।
करिब दुई घण्टाजति गरिने यस पूजामा सतबीज छर्न नभ्याउनेका लागि पनि यही सतबीज छरिएको हो भन्ने कामना गरिन्छ। यहाँ वज्राचार्यका सहायताले तान्त्रिक पूजा गर्नु वज्रयानी बौद्ध परम्परा हो। यता विश्वरूपीलाई हिन्दू र बौद्ध दुवैले पूजाआजा गर्नु, महादेव–पार्वती नाच बौद्ध शाक्यहरूले नाच्नु तथा पशुपति क्षेत्रमा अनेक प्रकारका बौद्ध कलाकृति पाउनुले यहाँ हिन्दू र बौद्ध दुवैको घुलन भएको दर्शाउँछ। हुन त बेलाबेलामा जनमानसमा हिन्दू र बौद्ध दुवै धर्मका बीचको सम्बन्धलाई धमिल्याउने प्रकारले अनेक भ्रम पैदा गर्ने लोकोक्ति पनि जोडिएका पाइन्छन्। तर यहाँका प्रायः सबै प्रकारका कलाकृति र परम्परा दुवैको समन्वय र घुलनको अवस्था झल्काउने खालका छन्।