म को हुँ ?
नारी हुँ म,
सुखमा सबैसँग हुन्छु
दुनियाँको नजरमा म
आकाशको जून मानिन्छु
परिचय कसैको महोताज हैन
म त आफ्नै बोलीले छुन्छु
रामायणदेखि ग्रन्थ सबैमा
अवला नारी कहन्छु ।
म त्यो भिक्षा हुँ, पाण्डवको
जुन आपसमा बाँडिन्छु
पुरुषप्रधान यस देशमा
फेरि जुवामै हारिन्छु
म त्यो सीता हुँ रामको
जो रावणबाट चोरिन्छु
त्यो अग्निपरीक्षा पनि मै हो,
जुन माटोमा नै समेटिन्छु
र, आउने युगका लागि
इतिहास बनिदिन्छु ।
तर, को हुँ त म ?
म किन यस्ती छु–
आफैंसँग कयौं प्रश्न गर्छु
म त्यो आगो हुँ दिलको
जुन चुलोमै सीमित हुन्छु
आँखामा उड्ने सपना लिएर
पिँजडामै बन्द हुन्छु ।
उड्न चाहें भने पखेटा काटिन्छन्
लाखौं प्रतिभा होस् ममा
तर, हरेक कदममै रोकिन्छन्
आफैंबाट जन्मिएको दुनियाँमा
म आफैं असुरक्षित हुन्छु
म त्यो सन्नाटा हो त्यो आँगनको
जो मनभरि पीडा लिई कराउँछु ।
पापले भरिएको यस दुनियाँमा
हरपल जोखिन, तौलिन पुग्दछु
फेरि, म–
त्यो लक्ष्मीको रूप पनि हो रे ?
जुन हरघरमा पुजिन्छु
तर, को हुँ त म ?
म किन यस्ती छु ?
आफैंसँग यो प्रश्न दोहोर्याउँछु
मसँग त्यो शक्ति पनि छ
कि म मृत्युसँग लडेर
कसैलाई जीवन दिन्छु ।
मबाटै यो दुनियाँको
सुरुआत हुन्छ
तर, म आफैंबाट
आफ्नो सुरुआत किन भइनँ ?
किन म सुरुआत होइन
किन म मात्र एउटा बाटो हुँ
आउने–जाने सबैको नजरीया हुँ
किन यो स्वर भरिएको दुनियाँमा
एक चिम्टी शून्यता हुँ
मान्छु म,
मेरो यो हालतको जिम्मेवार
म पनि छु
तर, एउटा कुरा भन्छु म
ए ! दुनियाँ
म पनि तिमीजस्तै
बेचैन हुँ त्यो मनको
जो चैनले लिएर जिउन चाहन्छु ।
सपना हुँ म आफ्नै आँखाको
जुन पूरा हुन चाहन्छु
थाकिसकें म यी रूपहरूले
अब आफैं बन्न चाहन्छु
नारी हुँ म–
म कुनै सामान होइन
नारी भएरै बाँच्न चाहन्छु ।
आफैंलाई गरेका यी प्रश्नहरूको
एकमात्र उत्तर बन्न चाहन्छु
आफ्ना सपनाहरूसँगै
म पनि आकाशमा
उड्न चाहन्छु
हो, नारी हुँ म
नारी भएरै बाँच्न चाहन्छु ।