हिमाली क्षेत्रको बाहुन बस्ती
‘देश गुनाको भेष,
सानो छँदा आमा यो उखान खुब भन्नुहुन्थ्यो। तर के भनेको हो ! त्योचाहिँ बुझ्दिनथें। मानवशास्त्र अध्ययनका लागि काठमाडौं आएपछि कक्षामा मानवशास्त्री जेम्स फिसरको पुस्तक ‘ट्रान्स हिमालयन ट्रेडर्स’ बारे पढाइ भयो। जहाँ डोल्पाली मगरले बाँच्नका लागि गरेको अभ्यासलाई त्यही ‘देश गुनाको भेष’ उखानसँग तुलना गरेर लेखिएको रहेछ। उखानको सान्दर्भिकता बुझें। ‘डोल्पाली मगरहरू काइके भाषा बोल्छन्, यसका अलावा अन्य भाषा पनि। मुख्य पेसा कृषि। पहिले उनीहरू अन्न लिएर नुन साट्न माथि भोटतिर जान्थे। त्यहाँ जाँदा त्यहीँको बौद्ध धर्मबाट प्रभावित भए। भाषा पनि त्यहीँकै तिब्बतियन बोल्दथे। नाम पनि लामाले राखेको नाम पासाङ, छिरिङ आदि प्रयोग गर्थे। माथि भोटबाट ल्याएको नुन लिएर उनीहरू फेरि चामल साट्न तल खसानतिर झर्थे। तल झर्दाचाहिँ त्यहाँको हिन्दू धर्मबाट प्रभावित हुन्थे, खस नेपाली भाषा बोल्थे र नाम पनि उनीहरूले खसानहरूको रामबहादुर, हरिबहादुर आदि प्रयोग गर्थे। फिसरको पुस्तकमा यस्ता कुराहरू उल्लेख छन्।
यी मगरहरू भोट जाँदा किन तिब्बती भाषा बोलेका हुन् ? किन त्यहाँको संस्कृति अपनाएका हुन् ? र, तल खसान झर्दा किन खस नेपाली भाषा बोलेका हुन् ? थप कुरा बुझ्न डोल्पा जाने इच्छा जाग्यो। ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेझैं ‘फास्टर फर’ नामको संस्थाले त्यही डोल्पाकै एउटा संस्कृतिको अध्ययन गर्ने मौका दियो। तिनै काइके भाषी मगरको ‘लोक–जीवन’ बारे अध्ययन गर्ने योजना बनाएँ।
‘क्षेत्र’ र ‘जाति’अनुसार लोक–संस्कृतिहरू नेपालमा धेरै भेटिन्छन्। जाजरकोटको तल्लुबगर बजार, त्यसपछि भेरी नदी। यात्राका यी सबै नयाँ दृश्यले मोहित पार्न थाले। रोका थर, मगर र क्षेत्रीको मात्र सुनेको थिएँ। तल्लुबगरदेखि रुकुमको गोदामकोट, ढाँडथला पुगें। त्यहाँ ‘डोल्पाली होटल’ थियो। साहु डोल्पाकै बबिन्द्र बुढा रहेछन्। उनको कुरो अनौठो लाग्यो। क्षेत्री भनेको त आर्यन मूलका हुन्छन् भन्ने बुझेको मैले सानो हुँदा त झनै क्षेत्री र बाहुन एउटै हुन् भनेर बुझेको थिएँ।
मेरो जन्मघर पाँचथरको अम्लाबुङ। त्यहाँ लिम्बूहरूको बाहुल्य छ। केही बाहुन/क्षेत्री पनि छन्। त्यहाँका लिम्बूले बाहुन÷क्षेत्रीलाई ‘पिनिवा’ भन्छन्, यानि कि ‘पिनिवा’ भनेको बाहुन र क्षेत्री दुवै हुन्, उनीहरूको बुझाइमा। कतिपय लिम्बूले अझै पनि बाहुन र क्षेत्री एउटै भनेरै बुझ्दै आएका छन्। उही समुदायको भएकाले मैले बाहुन र क्षेत्री एउटै देख्नु नौलो कुरा भएन। दुवै आर्यन मूली नै हुन् भन्ने कुरा मानसपटलबाट हटेको थिएन। त्यसैले मंगोलियन फेसका ती साहुले क्षेत्री हुँ भन्दा नौलो लाग्नु स्वाभाविक थियो। डोल्पामा बुढामगर बस्छन् भन्ने सुनेको थिएँ। साहुले भनेअनुसार डोल्पामा बुढामगर र बुढाक्षेत्री दुवै भेटिन्छन् रे।
नश्ल पनि उनीहरूको उस्तै देखिन्छ रे। भाषा र केही संस्कृतिले मात्र छुटिँदा रहेछन्। बुढामगरले मगर ‘प्होके’ भाषा बोल्दा रहेछन् र ‘बुद्ध–धर्म’ मान्दा रहेछन्। तर बुढाक्षेत्रीले चाहिँ खस नेपाली भाषा बोल्दा रहेछन् र ‘हिन्दू–धर्म’ मान्दा रहेछन्। बुढाक्षेत्री महिलाले नाक छेडाउँछन् रे तर बुढामगर महिलाले चाहिँ नछेडाउँदा रहेछन्। बाटोमा भेटिएका धोल्बो भोटिया हुनुपर्छ ! थरचाहिँ ‘लामा’ र ‘गुरुङ’ राखेका रहेछन्। यसअघि बुझेका गुरुङ त पोखरा, लमजुङतिरका मात्र थिए; जसले आफूलाई ‘तमु’ पनि भन्छन्। ती ‘तमु गुरुङ’ र डोल्पाका यी गुरुङ एउटै हुन् अथवा फरक ! जिज्ञासा लाग्यो।
मानिसले समाजबाट पहिचान बनाएको हुन्छ तर राज्यले अर्को पहिचान बनाइदिन्छ, जुन राज्य शक्ति र सत्तासँग जोडिन बनाइएको हुन्छ। राज्यले दिएको त्यो पहिचान मानिसले अपनाए भने उनीहरूको मौलिक पहिचान ओझेल पर्छ।
‘तलका तमु गुरुङ र तपाईंहरू एउटै हो कि ?’ खच्चरवाला मुटुक छेवाङ गुरुङलाई सोधें। ‘होइन, हामी धोल्वोहरू हो, हाम्रो समुदायमा जात र थर हुन्न, ठाउँ र क्षेत्रको आधारले हामी चिनिएका हुन्छौं, यो ‘धोल्वो’ पनि ठाउँकै आधारले चिनिएको हाम्रो पहिचान हो। तर ‘धोल्वो’ भन्दा राज्यले नेपाली नागरिकता नदिएपछि ‘गुरुङ’ भएर नागरिकता निकाल्यौं, अनि हामी गुरुङ भयौं’, उनले भने। मुटुकको कुराले मानवशास्त्री जोनाथन फ्राइडमेनको कुरा याद भयो।
उनले भनेका छन्, ‘मानिसले समाजबाट पहिचान बनाएको हुन्छ तर राज्यले अर्को पहिचान बनाइदिन्छ, जुन राज्य शक्ति र सत्तासँग जोडिन बनाइएको हुन्छ। राज्यले दिएको त्यो पहिचान मानिसले अपनाए भने उनीहरूको मौलिक पहिचान ओझेल पर्छ।’ सम्भवतः त्यही कारण धोल्वोहरूलाई पनि राज्यले यसरी गुरुङ बनाएर नागरिकता दिएको होला ! न कि नेपाली राज्य र सत्तासँग नजिक बनाउन। यसले गर्दा उनीहरूको मौलिक पहिचान ओझेलमा पार्ने सम्भावना धेरै देखिन्छ। यी धोल्वोहरूजस्तै राज्यले दिएको पहिचान स्वीकारेर मौलिक पहिचान गुमाउन लागेका समुदाय नेपालमा कति होलान् ?
‘साङले’ खोला आयो जसले रुकुम र डोल्पा छुट्ट्याएको थियो अर्थात् अब नेपालकै ठूलो जिल्ला डोल्पाको प्रवेश। करप गार्ड (डोल्पा क्षेत्रमा सानो नदी अथवा खोलालाई ‘गार्ड’ भनिँदो रहेछ) र ‘करप गाउँ’ को आकर्षणले एकछिन भुल्यायो। त्यहाँ रोकायक्षेत्री, घर्ती र झाँक्री मगरहरू बसेका थिए। एउटी होटल साहुनी रोटी पोल्न थालिन्। ‘यो केको रोटी ?’। ‘फापरको लग्गर।’ फुलचिङ खोला, त्रिपुराकोट, लिकु खोला हुँदै त्रिपुराकोट बजार। फाँटिला खेतहरू रहेछन्, ठूला ज्युलाहरू थिए भन्ने संकेत पाइयो। बजार बन्ने अभ्यासले ज्युला, खेतहरू नष्ट हुँदै गइरहेका रहेछन्। व्यापारिक हिसाबले हेर्ने हो भने बजारले भविष्य बोकेको देखिन्छ।
अन्दाजी चार वर्षपहिले जनकलाल शर्माको पुस्तक ‘कौतुकमय डोल्पो’ पढेको थिएँ। डोल्पाको त्रिपुरासुन्दरी भगवतीको महत्वबारे लेखिएको थियो। जुन मन्दिर यही त्रिपुराकोटमै पर्छ। मन्दिर अग्लो डाँडोमा रहेछ। पुस्तक अध्ययनले भगवतीको दर्शन अनिवार्य बनायो मलाई। केहीमाथि बाटेमा सार्कीहरूको बस्ती भेटियो। त्यसपछि त्रिपुरासुन्दरीको मन्दिर। छल गार्ड र गल्ली गार्डको बीच भएर उठेको अग्लो टाकुरास्थित मन्दिरको प्रांगणबाट देखिने आसपासका गाउँहरूले जोकोहीलाई मोहित बनाउने रहेछ। तल त्रिपुराकोट बजार र भेरी नदीका फाँटहरूले घोप्टिरहूँ बनाए।
प्यागोडा शैलीमा बनाएको यो मन्दिरको कलात्मक रूप अत्यन्तै सुन्दर थियो। मन्दिर छेउछाउमा राता र पहेंला ध्वजाहरू गाडिएका थिए। पुजारी देवीप्रसाद न्यौपानेका अनुसार १११४ सालतिर भगवान्को उत्पत्ति भएको रहेछ। उत्पत्तिको कथा यस्तो रहेछ, ‘धेरै वर्षपहिले यो ठाउँमा विष्टक्षेत्रीहरू बस्थे। कमाइ नाम गरेका विष्टले ओखलमा धान कुट्थे। उनले दुई पाथी धान कुटेकोमा चार पाथी चामल निस्क्यो, फेरि पछि चार पाथी धान कुटे, त्यस बेलाचाहिँ दुई माना मात्र चामल निस्क्यो। यो के भएको ? भन्दै भुइँमा केही छ कि भनी ओखल राखेको भुइँमुनि उनले खने तर केही भेटेनन्।
खनेको माटो मात्र आफैं पुरियो। यसले त झन् अचम्मित तुल्यायो। उनले फेरि भुइँ खन्न थाले। निहिरो खनेपछि ढुंगाको ओखल भेटियो। त्यसभित्र नौ बहिनी भगवतीहरू पुतली भएर बसेका थिए। यसरी खनेपछि ती भगवती उडेर गए। जेठी बडिमालिका भगवती बाजुरा पुगिन्। माइली कनकसुन्दरी जुम्लाको सिन्जा पुगिन्। साइँली सल्यानको खैराबाङ पुगिन्। काइँली बागेश्वरी बाँके पुगिन्। अन्तरी तलुकी जाजरकोट पुगिन्। जन्तरी खाँची अर्घाखाँची पुगिन्। खन्तरी र मन्तरी पनि उडेर अर्कै ठाउँ गए। कान्छी बाला त्रिपुरासुन्दरी मात्र यहाँ बसिन्।’
कमाइ विष्टले ती बाला त्रिपुरासुन्दरीलाई त्यहीँ रोक्न उनको पूजा थाले। तर त्यो पूजाले उनलाई फापेन। त्यसपछि माथि मुक्तिनाथ तीर्थ गएर फर्केका जुम्लाका एक जना बाहुन पण्डितलाई उनले रोके। त्रिपुरासुन्दरीको पुजारी भएर बस्न आग्रह गरे। उनी बस्न मानेनन्, बरु जुम्लाबाट अर्को पुजारी पठाइदिने कुरा गरे। केही समयपछि उनले जुम्लाबाट बाहुन नन्दराम न्यौपानेलाई लिएर फर्किए र त्रिपुरासुन्दरीको पुजारी बनाएर राखियो। पुजारीले जुम्लाबाट परिवारै लिएर आए।
विष्टले खाली जग्गामा घर बनाई राखिदिए। जति बेला त्यहाँ कुनै घर थिएन। बिस्तारै नन्दरामका सन्तान बढ्दै गए। पछि फेरि जुम्लाबाटै केही बाहुन पनि आएर थापिए। त्यसपछि यो ठाउँमा बाहुन बस्ती सुरु भयो। बाहुनहरू बसेका त्यो गाउँलाई ‘कोट गाउँ’ भन्न थालियो। कोट वा कोट गाउँको अर्को नाम ‘तिब्री कोट’ हो। पछि ‘त्रिपुराकोट’ भन्न थालियो। नेपालमा सबैभन्दा माथि हिमाली भेगमा रहेको बाहुन बस्ती पनि यहीँ ‘कोट गाउँ’ (तिब्री कोट) नै हो।’ सोही गाउँनिवासी पुजारी न्यौपानेले इतिहास बेलीविस्तार लगाए।
पुजारीले मन्दिरभित्र लगे र भगवतीको टीका लगाइदिए। त्यसपछि बाहुन बस्ती कोटगाउँतिर गएँ। जहाँ पन्ध्र÷सोह्र परिवार बाहुन जाति बसेका थिए। केही क्षेत्री र बुढामगर पनि थिए। उनीहरूले खेतीपाती, व्यापार र जागिर गरेर जीवन चलाएको भेटियो। केहीले जजमानी पनि गर्दा रहेछन्। डोल्पाका विभिन्न क्षेत्री गाउँमा गई त्यहाँका क्षेत्रीहरूका रुद्री, सत्यनारायण आदि पूजा गरिदिने गर्दा रहेछन्। तिनीहरूका सामाजिक संस्कारहरू पनि उनीहरूले नै गर्दा रहेछन्। कोट गाउँका यी बाहुनले कुटुम्बचाहिँ तल जुम्ला र रुकुमतिर बनाउँदा रहेछन्। फेरि भेरी नदीको दायाँ हुँदै अध्ययनस्थल छानेको काइकेभाषी मगरहरूको बस्तीतिर उकालो लागें।