विनय कसजू : द कम्पोजर
प्रविधि र शैलीमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने कसजूले हवाई पत्रमा पनि लघुकथा प्रकाशनको थालनी गरेका थिए। एकताका उनले सुरु गरेको हवाई पत्र ‘चौतारो’ को देखासिकी धेरैले पछ्याएका थिए। यसको अर्को उदाहरण सामाजिक सञ्जालमा चर्चित ट्विटमा पनि सीमित शब्दमा ट्विट कथा लेखनको प्रयोग गरेका थिए उनले।
सूचना संकलनका डायरीहरूमा हामी पत्रकार वा लेखकहरूले केही वर्ष पुराना आफ्ना हस्ताक्षरहरू त अहिले पनि पाउन सकौंला। तर पाल्पाबाट प्रकाशित हुने गाउँले देउराली साप्ताहिकका लागि प्रेषित एउटा लेखको पाण्डुलिपि अर्थात् हस्ताक्षर भने १६ वर्षपछि सम्बन्धित सम्पादकबाट मलाई इमेलमा प्राप्त भयो। ‘गलत कुरा मात्र समाचार होइनन्’ शीर्षकको सो लेख प्रकाशित भएको छ वा छैन जानकारी नभए पनि अहिलेको सन्दर्भमा पनि त्यो विषय सान्दर्भिक देखिन्छ। यो हस्ताक्षरका कारण अहिले २३ वर्ष पुरानो आफ्नो लेखको हस्ताक्षर सुरक्षित राख्न यो पंक्तिकार सफल भएको छ। यसरी एउटा पत्रिकाको सम्पादकले पत्रिकाका लागि प्राप्त लेख रचनाको पाण्डुलिपी वर्षौंसम्म सुरक्षित राख्ने प्रयास गर्नु अनौठो त हुँदै हो भने लेखकका लागि पनि अपत्यारिलो खुसीको कुरा।
विनय कसजू (२००४–२०७६) माथि उल्लेख उदाहरणीय अर्थात् लेखकमैत्री सम्पादक, पत्रकार र लेखक हुन्। जीवनका प्रारम्भिक क्षणमै राजनीतिमा प्रवेश गरेका उनले राजनीतिमा भने खासै परिचय बनाउन सकेनन्। पाल्पामा जन्मेका उनले २०२४ सालमा विद्यार्थी जीवनकै दोसाँधमा संयोगले एक वर्ष प्रधानपञ्च बन्ने अवसर पाए। २०३६ सालको जनमत संग्रहका बेला बहुदलको पक्षमा भएको उनको सक्रियता भने पाल्पामा उल्लेख्य मानिन्छ।
वरिष्ठ लेखक तथा इतिहासकार ज्ञानमणि नेपाल र हरिराज भट्टराईले पाण्डुलिपि हराएको दुःख पंक्तिकारसँग पनि प्रकट गर्नुभएको छ। तर अबको जमाना हिजोको जस्तो छैन। सामान्यतया कुनै पनि लेखकका कृतिको त कुरै नगरौं, सामान्य फुटकर रचना पनि कुनै एक जना सम्पादक वा प्रकाशकहरूका कमजोरी वा असहयोगका कारण हराउने र खेर जाने सम्भावना अब धेरै कम छ। पाल्पामा २०२८ सालबाट श्रीनगर समसामयिक साहित्यिक पत्रिका प्रकाशन सुरु गरेर पत्रकारितामा प्रवेश गरेका थिए कसजू। २०३० सालमा जिल्लामै कुमार प्रेस स्थापना गरेर उनले श्रीनगर त्रैमासिक तथा पाहुर पत्रिका पनि प्रकाशनमा ल्याए। नेपाली साहित्यमा यस क्षेत्रमा महत्वपूर्ण मानिने श्रीनगर २०३६ सालपछि भने निरन्तर हुन सकेन।
२०४० सालको नव वर्षको अवसर पारेर सत्य साप्ताहिक सुरु गरेका विनय कसजूको नेपाली पत्रकारितामा विशेष र मौलिक पहिचान छ। म्यागेजिन आकारमा प्रकाशित सत्य साप्ताहिकका समाचारका विषय, भाषा, शैली र सम्पादन कलामा पनि मौलिकता थियो। २०५१ सालमा सत्य साप्ताहिकको पाँच सयौं अंकलाई बिदाइ अंकका रूपमा प्रकाशित गरेर बन्द गरेका थिए उनले। पत्रपत्रिकाहरू प्रकाशित हुनु र बन्द हुनु स्वाभाविक वा अस्वाभाविक नै मानिए पनि सम्पादक र प्रकाशकका तर्फबाट बिदाइ अंक प्रकाशित गरेर बन्द भएको घोषणा गरिएको नगण्य घटनामध्ये हुनुपर्छ यो। यसै साप्ताहिकमा प्रकाशित सम्पादकीयहरूको संकलन ‘साँचो कुरा’ पनि नेपाली पत्रकारितामा एउटा उदाहरणीय कृति हो।
२०५० सालमा उनकै सम्पादनमा प्रकाशन सुरु गरिएको म्यागेजिन साइजकै देउराली नेपाली पत्रकारितामा ग्रामीण पत्रकारिताको अग्रणी मात्र होइन नमुना पनि मानिन्छ। भाषा, शैली र विषय चयनका अतिरिक्त विनय कसजू आफ्नो पत्रिकामा नेपाली भाषामा प्रयोग हुने पूर्णविरामको सट्टा थोप्लो प्रयोग गर्थे। यो प्रयोग हिन्दी भाषाको साहित्य वा पत्रकारितामा अलिक धेरै देखिन्छ। भारतको वनारसमा उच्च शिक्षा हासिल गरेका कसजूमा पनि त्यहींको प्रभाव परेको हुनसक्छ। देउराली अहिले पनि प्रकाशित भइरहेको छ।
देउरालीका लागि २०५३ साउन ४ गते काठमाडौंबाट पूर्णविरामको सट्टा थोप्लो दिएर प्रेषित लेख उनले पंक्तिकारलाई सन् २०१२ को जुलाईमा ‘योर लेटर एन्ड आर्टिकल अफ २०५३’ भनेर इमेलमा फोटो पठाएका थिए। नचिनेको लेखकको लेखको हस्ताक्षर १५÷१६ वर्ष जतन गरेर राख्नु र लेखकलाई उपलब्ध गराउनु सामान्य कुरा होइन। एकै हातका औंलामा गन्न सकिने मात्र भेट भएका र नेपाली पत्रकारितामा अन्य आकर्षण र प्रयोगसँग जोडिएर आउने कसजू मेरा लागि अपत्यारिलो अग्रज र प्रेरक व्यक्तित्व हुन्। मसँग यसबाहेक यति पुरानो अर्को कुनै आफ्नो हस्ताक्षरको कपी छैन। २०५४ सालताका तानसेनस्थित देउरालीको कार्यालयमा अस्मिताका सम्पादक अञ्जु क्षेत्री र फोटो पत्रकार उषा तिवारीसमेतको भेट, अमेरिकामा नेजाका साथीसँगको भेट र सन् २०१३ मा काठमाडौं सानेपास्थित उनको घरमा भएको पारिवारिक भेट नै कसजूसँग भएका स्मरणीय भेट हुन्।
पत्रकारिताको मौलिक पहिचानपछि जोडिएको कसजूको अर्को मौलिक पहिचान हो, लघु कथाकार। प्रकृति, वातावरण, विज्ञान प्रविधि, ग्रामीण जीवनका प्रेरणादायी सन्देश, मानवअधिकारको वकालत र व्यंग्य उनका कथा वा बालकथाका विशेषता हुन्। प्रविधि र शैलीमा नयाँ–नयाँ प्रयोग गर्न रुचाउने कसजूले हवाई पत्रमा पनि लघुकथा प्रकाशनको थालनी गरेका थिए। एकताका उनले सुरु गरेको हवाई पत्र ‘चौतारो’ को देखासिकी धेरैले पछ्याएका थिए। यसको अर्को उदाहरण सामाजिक सञ्जालमा चर्चित ट्विटमा पनि सीमित शब्दमा ट्विट कथा लेखनको प्रयोग गरेका थिए उनले। बीउ उनको एक सयवटा ट्विट कथाको संकलन हो। उनले नेपाली संस्कृतिका विविध क्षेत्रका कृति, पाण्डुलिपि, लेखकहरूको हस्ताक्षर, पर्चा पम्प्लेट, निमन्त्रणा कार्ड आदिको पनि राम्रो अभिलेखीकरण गरेको र उनले ती व्यक्तिगत सुरक्षामा मात्र सम्भव हुन नसक्ने देखेपछि मदन पुरस्कार गुठी र मार्टिन चौतारीलाई संस्थागत सुरक्षाका लागि जिम्मा दिएका थिए। उनमा फोटोग्राफी र पर्यटन प्रवद्र्धनप्रति पनि रुचि थियो।
पाल्पाको बसाइलाई नै कर्मथलो बनाउन रुचाउने कसजूले धेरै समयसम्म सरकारका पदीय जिम्मेवारीमा रहेर काम गर्न र काठमाडौंमा बसाइँ सर्न रुचाएनन्। २०५५–६० सालपछि भने उनी सञ्चार क्षेत्रको विज्ञ तथा पत्रकारिताको प्रशिक्षकका रूपमा नेपाल प्रेस इन्स्टिच्युट, राष्ट्रिय समाचार समिति र उच्चस्तरीय मिडिया सुझाव आयोग हुँदै काठमाडौं तानिन बाध्य भए। नवगठित राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त (२०६५–२०६९) रहेर उनले सूचना र प्रविधिको क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरे। उनी नागरिकका मौलिक हक कार्यान्वयनमा सूचना र प्रविधिको महत्वका साथै यसलाई जोडेर लैजानुपर्ने मान्यता राख्थे।
सूचना आयोगका प्रमुख आयुक्त रहेकै बखत कसजू अमेरिकाको पारिवारिक भ्रमणमा थिए। त्यस अवसरमा नेपाल–अमेरिका पत्रकार संघ (नेजा)ले आयोजना गरेको भेटमा उनले व्यक्त गरेका केही भनाइ स्मरणीय छन्, ‘सूचना जनताको शक्तिको स्रोत हो। सञ्चारमाध्यमले समाजलाई सुसूचित त गर्छन् नै, त्योसँगै जनसाधारणमा रहेको प्रतिभालाई प्रोत्साहित तथा जनसाधारणको सशक्तीकरणमा पनि सहयोग पु¥याउने काम गर्दछ।’ यस पारिवारिक भ्रमणमा उनले अमेरिकास्थित सञ्चार र बालसाहित्यका विभिन्न संस्था र व्यक्तिसँग पनि नेपालसँगको सम्बन्ध स्थापित गर्न प्रयास गरेका थिए। प्रेस जगत्को भूमिका जनचेतना, जनतामा सूचनाको पहुँच र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने क्रममा सत्य पत्रिकामा प्रकाशित समाचारलाई लिएर उनलाई पक्राउ गरी हिरासतमा पनि राखिएको थियो। लामो समयसम्म तत्कालीन प्रशासनले मुद्दा मामिलामा अल्झाएको थियो।
पत्रकारिता, बालसाहित्य, लघुकथा, संकलन आदि गरेर ५० भन्दा धेरै मौलिक कृतिका सर्जक हुन्, विनय कसजू। अनुवाद, संकलन र सम्पादित कृतिहरूको गणना गर्दा उनी एक सयभन्दा बढी कृतिका सर्जक हुन्। नेपाली पत्रकारितामा राजनीतिक गतिविधिलाई मात्र समाचारका प्रमुख स्रोत मानिने परम्परा बदलेर उनले जनजीवनका गतिविधि र जनसाधारणमा सूचनाको पहुँच पत्रकारिताको प्राथमिकतामा हुनुपर्ने मान्यतालाई स्थापित गराए। उनले प्रविधिको विकासलाई आत्मसात् गर्दै जानुपर्छ र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए। ग्रामीण इलाकाहरूमा पनि एफएम रेडियोको विकासका लागि उनले नेतृत्वदायी भूमिका खेलेका थिए।
सन् २०११ जुन ७ मा कसजूले मलाई बालसाहित्य र अन्य केही सन्दर्भमा एउटा लामै इमेल लेखेका थिए। सो इमेल नै मात्र पनि सिंगो लेख बनाउन सकिन्छ। त्यसका केही प्रमुख अंश हुन्, ‘बालसाहित्य लेखन, परिमार्जन, सम्पादन, प्रकाशन, प्रवद्र्धन तथा बजारीकरणका विभिन्न चरण र हरेक चरणमा पालन गरिने विधि र प्रविधिहरू वास्तवमा हामीकहाँ सुरु भएकै छैन। नेपाली लेखकहरू आफ्नो कृतिको सम्पादन गराउनु भनेको आफ्नो बेइज्जती भएको ठान्छन्।
अमेरिकामा कृतिको समालोचना, आलोचना गर्नु गराउनु भनेको कृतिको परिमार्जन र बिक्रीका लागि अनिवार्य ठानिन्छ। उनीहरू धेरै रकम र समय खर्च गरेर योग्य समालोचक खोजेर कृतिको समालोचना गराउँछन्। वास्तवमा अधिकांश नेपाली बालसाहित्य सर्जक कुहिरोका काग बनेर साहित्य सिर्जना गरिरहेका छन्। नेपाललाई पनि सबै क्षेत्र, जातजाति, भाषा, धर्म, लिंग इत्यादि तथा नेपालको विविधतालाई सम्मान गर्ने बहुसांस्कृतिक बालसाहित्यको खाँचो छ। नेपालको नवनिर्माणका लागि मात्रै होइन, विश्वलाई नै सुरक्षित र शान्तिपूर्ण बनाउन उपयुक्त बालसाहित्यको आवश्यकता छ।
नेपालबाहिरका नेपाली मूलका बालबालिकाको अमेरिकाबाट प्रकाशित ‘किड्स क्रिएसन’को पहिलो अंकका लागि सन् २०१२ मा उनले बालबालिका, अभिभावक र बालसाहित्य शीर्षकको एक लेख पनि उपलब्ध गराएका थिए। बालसाहित्य नै किन र यसको महत्व के छ ? मा उनको जवाफ थियो, ‘हिजोका बालबालिकालाई अभिभावक र गुरुहरूले पर्याप्त समय र शिक्षादीक्षा दिने भएकाले उनीहरूको व्यक्तित्व विकासमा सकारात्मक भूमिका हुन्थ्यो तर अब अभिभावक र गुरुहरूले पर्याप्त समय दिन नसक्ने भएकाले बालसाहित्यको माध्यमबाट अबका बालबालिकालाई सकारात्मक शिक्षादीक्षा दिनु आवश्यक छ।’
उनै प्रेरणादायी पत्रकार, लेखक तथा सूचना विज्ञ कसजूलाई पहिलो स्मृति दिवसको सन्दर्भमा हार्दिक श्रद्धाञ्जलि।