सुकुम्बासीलाई लालपुर्जा
महोत्तरी : ७७ वर्षीय रामशोभित महतो शुक्रबार जीवनमै सबैभन्दा खुसी भए। कपाल र दाह्री सेताम्मे भएका महतोका हातमा उनकै फोटो टाँसिएको जग्गाधनी प्रमाणपत्र थियो।
‘पुस्तौंदेखि बसेको घडेरीको लालपुर्जा पायौं। आजको दिन मेरो जीवनको सबैभन्दा खुसीको दिन हो’, हातमा बोकेको कागज देखाउँदै उनले भने। ‘आफू बसेको घडेरीको लालपुर्जा हेरेर मर्ने सपना थियो, त्यो पूरा भयो।’ उनी गाउँ ब्लकको जग्गामा बस्दै आएका थिए। उनका बुवा फकिर महतोको पनि सुकुमबासी भएरै ७५ वर्षअघि मृत्यु भयो। दुःख गरेर उनले दुई छोरा र तीन छोरी हुर्काए।
सम्पत्तिको नाउँमा एक टुक्रा घडेरी मात्रै छ उनको। छोराहरू अरूकै खेतमा मजदुरी गरी जीवन चलाउँछन्। अभावैअभावमा बाँचेका उनलाई लालपुर्जाले खुसी थपिदिएको छ। रामशोभित मात्रै होइन गाउँको ब्लक जग्गामा बस्दै आएका गौशालाका १ सय ४० गरिब, सुकुमबासी, दलितलाई लालपुर्जा वितरण गरिएको हो। गौशाला– १० मुस्लिम टोलका ५० वर्षीय अलाउद्दिन शेषलाई सुकुमबासी भनेर लालपुर्जावालाले हेप्थे। आफू बसेको घडेरीको पनि लालपुर्जा नहुँदा उनी दुःखी थिए।