गरिबलाई नआओस् जाडो

गरिबलाई नआओस् जाडो

महोत्तरी : बिनादेवी सदा सुत्केरी भएको डेढ महिना पनि पुगेको छैन। पोखरीको डिलमा पराल ओछ्याएर नवजात छोरी रुबीसँग बस्छिन्। आमाछोरी दिउँसोको पारिलो घाम ताप्छन्। जहाँ घामको प्रकाश पर्छ त्यहीँ सर्छन्। महोत्तरीको गौशाला–१ महलनियाँकी सदाले दिउँसो त घाम तापेर जसोतसो जाडो छल्छिन्। उनलाई रात गुजार्न हम्मे पर्छ। मुटुसम्मै छुने जाडो बढ्दो छ। तर, उनको न घर छ न त न्यायो ओढ्ने–ओछ्याउने नै !

‘पोखरी किनारमा छाप्रो बनाएर बस्नुपरेको छ। खरपत्ताले बेरा लगाएको छु। जाडो त त्यत्तिकै छ। पोखरीको पानीले झनै शरीर चिस्याउँछ। चिसोले रातभरि सुत्न सकिँदैन’, उनले भनिन्, ‘सानो भए पनि पहिला हाम्रो घर थियो। सरकारले पक्की बनाइदिने भन्यो। फुसको घर उजारेर हटाइयो। घर भत्काएको वर्षदिन भयो। गाडेको घर (रड)मा खिया लागिसक्यो। भुइँबाट घरको काम माथि उठ्नै सकेको छैन।’

जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश २ सरकारको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट उनको घर निर्माणाधीन छ। तर, ढिलासुस्तीले अधुरै छ। मलहनियाँका १६ घरपरिवारलाई जनता अवासले उठिबास लगाएर पोखरी डिल र सडकपेटीमा पुर्‍याएको छ। त्यहीमध्ये सदाको परिवार एक हो।

सदालाई झरीले निथ्रुक्कै भिजायो। पुसकोे चिसोले निद्रा खलबलाइदिएको छ। रातिको जाडो छल्न नसकेर उनी घुर तापेर बिहानी घामको प्रतीक्षा गर्छिन्। दिन धुम्म भए चिसो बतास चलेर उनीको दैनिकी कठिन बन्छ।

‘पराल ओछ्याएर सुत्छौं। पुरानो एउटा सिरक छ। त्यो पनि फाँटेको छ’, उनले भनिन्, ‘श्रीमान्ले एक हप्तामा १ हजार कमाएर ल्याउनुहुन्छ। महँगाईले आकाश छोएको छ। चामल–दाल, तिमनतरकारी किन्नै पुग्दैन। ओढ्ने, ओछ्याउने कहाँबाट किन्ने ?’

जाडो बढेपछि छिमेकीसँग पुराना स्वेटर र भोटो मागेर छोरीलाई लगाइदिएको उनले सुनाइन्। ‘चिसोले छोरीलाई रुघाखोकी लागेर हैरान बनायो’, उनले भनिन्, ‘हातमा रुपैयाँ छैन। कहाँबाट इलाज गराउन हस्पिटल लैजाऊँ ? खानै अभाव छ। त्यसमाथि पनि ज्यान लिने जाडो बढेको छ। हामी गरिबलाई दशै दशाले घरेको छ।’

उनलाई गाँस जुटाउनै मुस्किल छ। उनका पति धर्वेन्द्र गाउँकै इँटाभट्टामा काम गर्छन्। बिहानदेखि अबेर साँझ धुलो, धुवाँसँग काया खिचाउँदा साँझ चामल, दाल, तरकारी लिएर घर आइपुग्छन्।

मलहनियाँ पोखरीका चारैतिर डिलमा वर र पीपलका विशाल रूख छन्। दक्षिणतर्फ डिलनजिकै कालोपत्रे भएको माईस्थान–गौशाला–सम्सी सडक छ। सडक भएर ठूला–साना गाडीमा मानिसहरू न्यानो लुगा लगाएर २४ घण्टा हुइँकिन्छन्। डिलको उत्तरतर्फ डम्म पानी भरिएको छ। त्यसकै चिसो त खपिसक्नु छैन। त्यसमाथि शीतलहर र गाडी गुड्दाकोे स्वाई स्वाई हावाले उनको निद्रा बिथोल्छ।

उनी १५ वर्षकी मात्रै भएकी छन्। गौशालाकै फलकहाँ मुसहर बस्तीमा हुर्किइन्। बुबाले मलहनियाँ गाउँका धर्वेन्द्रसँग विवाह गरिदिए। किशोरवस्था टेक्दै गर्दा गर्भवती भएकी उनी र छोरी रुबीलाई डाक्टरले पुनर्जन्म दिएका छन्। उनी प्रसूतिका लागि अस्पताल गएकी थिइन्। अवस्था गम्भीर भएर भर्ना गर्न मानेन। त्यसपछि उनलाई जनकपुर अञ्चल अस्पताल पठाइयो। त्यहाँ बल्लबल्ल मंसिर ३ गते छोरी जन्मियो। तर, जन्मिनेबित्तिकै बच्चालाई निमोनियाले छोयो।

‘मेरा श्रीमान्ले गाउँका दुई जनासँग ५–५ हजार गरी १० हजार कर्जामा लिनुभएको छ’, उनले भनिन्, ‘सयकडा ५ रुपैयाँका दरले ऋण लिएर मलाई परिवारजनले बचायो। कमाएको आम्दानीले खानै पुग्दैन। अब कसरी सावाँ र ब्याज चुक्ता गर्ने होला ?’ उनलाई  चिसो मौसमले मात्रै सताएको छैन। गरिबीले सताएको छ।

उनी आमा बन्नुअघि छिमेकीको घरमा भाँडावर्तन माझ्ने काम गर्थिन्। ‘अब बच्चालाई राखुँ कि काम गर्न जाऊँ ? खानै पुग्दैन’, उनले रुँदै भनिन्, ‘चिसोले थरथर कपाउँछ, कसरी बाँच्ने र छोरीलाई कसरी बचाउने ? भगवान्ले बचाएसम्म बाँचिने हो नभए चिसोले लान्छ जस्तो छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.