एकालापमा लामा

एकालापमा लामा

काठमाडौं : कोरोना महामारीले सबैतिर अस्तव्यस्त बनायो। मानिसमा नैराश्यता र असहज अवस्था सिर्जना भयो। अरूबेला एकान्तको खोजी गर्दै स्टुडियोभित्र पसेर कुची र रङ खेलाउने कलाकार, चित्रकारहरू पनि अलमलमा परे। यही अलमलको अवस्थालाई चित्रकार सुन्दर लामाले पेन्टिङमा उतारेका छन्। 

पुस ५ देखि पाटनको चाकुपाटस्थित क्लासिक ग्यालरीमा सुन्दरको एकल भर्चुअल चित्र प्रदर्शनी भइरहेको छ। ‘एकालाप’ नाम दिइएको उक्त प्रदर्शनीमा २५ वटा विभिन्न शीर्षकका चित्र समावेश छन्।  अनफिनिस मोमेन्टम, बुद्ध वाज प्यासेन्ट, वेल फ्लावर, मोनो, को एक्जिट इन दि सेम पेज, क्लोज इन्काउन्टर, बगैंचालगायत विभिन्न शृंखलामा चित्र बनाइएको छ। १५ हजारदेखि ५५ हजार रुपैयाँसम्म मोल राखिएको चित्रहरू माघ पहिलो सातासम्म अनलाइन प्रदर्शनीमा राखिएको छ। 

सुन्दरका अनुसार आत्मलाप आफूभित्रको खोजी गर्ने क्रममा कोरिएका चित्रहरूको सँगालो हो। कोभिडको कारण घरभित्रै छट्पटीमा रहेका मानिसको मनस्थिति चित्रमार्फत देखाइएको छ। अप्ठ्यारोमा मानिसले के गर्छ ? उसको मन कसरी चल्छ ? विभिन्न बहानामा हरपल दौडिरहने मानिसले फुर्सदको समयमा आफूलाई कसरी व्यस्त बनाउँछ ? यस्ता विविध अनुभवलाई उनका चित्रले समेटेका छन्। 

असफल र असहज भएको अवस्थामा मानिसको मनभित्रको अभिलाषाको खोजी, जीवनले स्विकार्नका लागि खोजी गरिएको प्रयत्न छ चित्रमा। मानिसको मनलाई सामाजिक, सांस्कृतिक र मानसिक रूपले फरक पारेको हुन्छ। छट्पटी र अप्ठ्यारो अवस्थामा मानिस शान्त वातावरण बस्न चाहन्छन्। बगैंचाको खोजी गरिरहेका हुन्छन्। बुद्ध बन्न नसकेर रोगी बनिरहेको हाम्रो मनलाई सुन्दरका चित्रहरूले समेटका छन्। 

कोरोनाले एक मानिस र अर्को मानिसबीच उत्पन्न गराएको शंका, भ्रम र हराएको मानवतालाई कलात्मक र जीवन्त चित्रहरू मार्फत प्रदर्शन गरेका छन्। उनी भन्छन्, ‘कोरोनाले यति भ्रम सिर्जना गरिदियो कि एक अर्काबीचको मानवीय संवेदना नै मेटिदियो।’ कोरोना संक्रमित भएकाहरूलाई मात्रै होइन, उपचाररत चिकित्सकहरूलाई समेत असामाजिक व्यवहार गरियो। खासमा मानवीय संवेदना हरायो। यो चित्र प्रदर्शनीमा यही विविध अनुभवलाई उतार्ने प्रयास गरिएको छ। 

प्रदर्शनीको चित्रमा काग, नेवारी जात्रामा देखाइने लाखे, घोडा, राँगा, कुकुरलगायतका जनावरका आकृतिलाई बिम्ब बनाइएको छ। कागलाई स्वतन्त्रतासँग अनि घोडा यात्राका लागि अपरिहार्य साधनको प्रतीकको रूपमा प्रयोग गरिएको छ। उनको चित्रमा मानव कंकाल पनि प्रयोग भएको छ। कंकालले मानिसभित्रको आत्मालाई संकेत गर्छ। घण्टाघरमा फुलिरहेको कमलको फूललाई राम्रो समय र सकारात्मक उत्प्रेरणाको रूपमा चित्रण गरेका छन्। यी अनेक बिम्ब प्रयोग गरेर बनाइएका २५ वटा चित्र भर्चुअल माध्यमबाट अवलोकन गर्न सकिन्छ। 

बाल्यकालदेखि दुःख गरेर हुर्किएको बताउने सुन्दर आफूले भोगेका समाजका फरकफरक पात्रहरूलाई चित्रमार्फत देखाउने गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.