पेट्रोलपम्पको पिरलो
अव्यवस्थित बसाइका कारण मुलुकका अधिकांश बस्ती यसै पनि हरेक प्रकारका विपत्तिको उच्च जोखिममा छन्। सहरी क्षेत्रका नागरिकले बाक्लो बसाइ, व्यस्त सडक तथा प्रशस्त खुला ठाउँको अभावमा उकुसमुकुस जिन्दगी जिइरहेका छन्। गाउँका मान्छे हरेक वर्ष प्राकृतिक प्रकोपको पिरलोमा पिल्सिरहेका छन्। प्रकृतिजन्य समस्यासँगै उच्च गतिमा भइरहेको मानवीय क्रियाकलापले अर्को विपत्तिलाई पनि निम्तो दिइरहेको छ। यसको पछिल्लो उदाहरण बनेको छ अव्यवस्थित रूपमा सञ्चालन भएका पेट्रोलपम्प र ग्यास डिपोहरू। मुनाफा मात्रै कमाउने स्वार्थबाट प्रेरित केही व्यापारीको स्वार्थपूर्तिका लागि लाखौं जनता खतरामा बाँच्न विवश छन्।
यी संरचनाबाट विशेषगरी आगलागी र ग्यास विस्फोटका खतरा उच्च रहन्छ। अन्य प्रकारका विपद्को तुलनामा आगलागीले पुर्याउने क्षति उच्च हुन्छ। पेट्रोलपम्प तथा ग्यास प्लान्टमा लागेको आगो त झन् हतपत निभाउनै सकिँदैन। किनकि यी दुवै वस्तु हावामा छिटो फैलिन्छ र आगोको लप्का पनि सोहीअनुसार विस्तार हुन्छ। सानो त्रुटि भयो भने पनि यसबाट उत्पन्न समस्याले बस्ती नै सखाप पार्र्नेसम्मका घटना हुन सक्छ। घना बस्तीमा सञ्चालित पम्पमा सानातिना दुर्घटना भए पनि अहिलेसम्म ठूलो मानवीय संकट निम्त्याउने घटना नभएका कारण मात्रै यो समस्यालाई हल्का रूपमा लिइएको हो। अति प्रज्ज्वलनशील यस्ता पदार्थको जोखिम कति रहन्छ भन्ने यथार्थ पछिल्ला केही घटनाले पुष्टि गरिसकेको छ। केही दिनअघि सातदोबाटो तथा केही वर्षअघि भक्तपुर, बल्खु, वीरगन्जलगायतका ठाउँका पेट्रोलपम्पमा भएका आगलागी घटनालाई राम्रोसँग नियाल्ने हो भने पनि यसको जोखिम कति रहन्छ भन्ने सहजै अनुमान गर्न सकिन्छ। यी घटनामा अग्निनियन्त्रक पुग्न केही समय मात्रै ढिला भएको भए पनि कति मानवीय तथा भौतिक क्षति हुन्थ्यो भन्ने आकलनसमेत गर्न सकिएको छैन। यी घटना हेरेर अब पनि चेतिएनौं भने जतिबेला पनि महाविपत्ति आउन सक्छ। जुन विपत्ति मानवीय नियन्त्रणभन्दा बाहिर रहन्छ। यो यथार्थ मनन गरेर जतिसक्दो छिटो खतरा निम्त्याइरहेका यस्ता संरचनाको व्यवस्थापनतिर लाग्नुपर्छ।
यतिखेर पम्प र ग्यास डिपो सञ्चालनका सम्बन्धमा बनेका मापदण्ड कमैले पालना गर्ने गरेका छन्। सवारी चाप हुने सडकछेउ र घनाबस्तीका बीचमा पम्प सञ्चालनमा आउनु यसैको उपज हो। पम्प र ग्यास डिपोहरूको जोखिम आकलनै नगरी मनलाग्दी रूपमा पम्प र ग्यास भण्डारण गर्न दिनु नितान्त गलत कार्य हो। विगतमा बस्ती पातलो भएको अवस्थामा यस्ता संरचना सञ्चालनको अनुमति दिइएको भए पनि अहिले भने त्यही बहानामा पम्प तथा डिपोलाई निर्बाध रूपमा चल्न दिइनु हुन्न। बस्तीको जोखिम आकलन गरेर यस्ता संरचनालाई तत्काल स्थानान्तरण गर्नुपर्छ। बरु स्थानान्तरण गर्नुपर्ने पम्प तथा डिपोलाई जग्गा खोजी तथा अन्य काममा स्थानीय सरकारले सहजीकरण गरिदिनुपर्छ, तर जग्गा अभाव वा अन्य जटिल प्राविधिक समस्या देखाएर सञ्चालकहरू पन्छिन मिल्दैन।
यी संरचनालाई बस्तीबाट टाढा राख्ने त छँदैछ; ग्यास प्लान्ट तथा पेट्रोलपम्पको प्राविधिक क्षमता पनि विस्तार गर्नुपर्छ। आगो लागिहाल्यो भने नियन्त्रणका लागि आवश्यक सामग्रीको अनिवार्य व्यवस्था गर्नुपर्छ। आगो निभाउने यन्त्र तथा ग्यास प्लान्ट र त्यसको उचित प्रयोग गर्न तालिम प्राप्त कर्मचारी हुनुपर्छ। यस्ता उपकरणको नियमित परीक्षण हुनुपर्छ। कर्मचारीले पनि चलाउने तरिकाबारे अपडेट भइरहनुपर्छ। यसबारेमा स्थानीय प्रशासनबाट अनुगमन हुनुपर्छ। मापदण्ड पालना नगर्नेलाई कडा जरिमाना तथा सजाय हुनुपर्छ। जुन कारबाहीबाट अरू सञ्चालकले समेत चेतनाको पाठ सिकून्।