रैतीले लगेको संसद् फिर्ता ल्याउँछौं : घनश्याम भुसाल
परासी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एंव पूर्वमन्त्री घनश्याम भुसालले रैतीले खोसेर लगेको संसद् फिर्ता ल्याएरै छाड्ने दाबी गरेका छन् । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रममा सहभागी हुन सोमबार परासी पुगेका भुसालले पत्रकार भेटघाट कार्यक्रममा रैतीहरुले संसद् विघटन गरेको आरोप लगाएका हुन् ।
असंवैधानिक तरिकाले विघटन गरेको संसद्लाई कांग्रेस र लोकतन्त्र पक्षधर कम्यनिष्ट शक्ति मिलेर पुर्नस्थापित गर्ने उनको भनाइ थियो । 'कांग्रेस र कम्युनिष्टहरुको सम्बन्ध कमजोर हुँदा नेपालमा लोकतन्त्रले घुँटा टेकेको इतिहास छ । त्यसैले राजाले लगेको संविधान कांग्रेस र कम्युनिष्ट मिलेर फिर्ता गरे झै अब रैतीले लगेको संविधान पनि दुई शक्ति मिलेर संयुक्त रुपमा फिर्ता ल्याउने छौं,'उनले भने।'
संसद् पुनस्र्थापनाको आन्दोलनमा नेपाली कांग्रेस आउनेमा आफू विश्वस्त रहेको उनले बताए । देशमा स्थिरता कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी अहिले अदालत र न्यायाधिहरुको काँधमा गएको बताउँदै नेपाली जनताको ठूलो बलिदानबाट प्राप्त गरेको संविधानको रक्षा अदालतबाट हुनेमा उनले विश्वास लिए ।
नेकपालाई फेरि एक गराउन चिनीयाँ कम्युनिष्ट नेताहरु नेपाल भ्रमणमा आएको प्रसंगमा भुसालले भने, 'उनीहरु नेपालका कम्युनिष्टहरुलाई फुटाउने र मिलाउने भन्दा पनि राजनीति अस्थिरताबाट उत्पन्न परिस्थितिपछि चिनले नेपाल प्रति बनाउने दृष्टिकोण स्पष्ट पार्नका लागि आएको हुन सक्छ ।’ नेता भुसाल प्रचण्ड–नेपाल समूहका हुन् ।