संसद विघटनविरुद्ध बैतडीमा कांग्रेसको प्रदर्शन
बैतडी : संसद विघटनको विरोधमा बैतडीको पाटनमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । पाटनमा विरोध र्यालीसहित कोणसभा सम्पन्न गरेको नेपाली कांग्रेस बैतडीका सचिव बीरबहादुर बिष्टले जानकारी दिए।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेकाले त्यसको विरोधमा प्रदर्शन गरिएको उनले बताए । उनले भने, 'अहिले जुन सरकारले कदम चालेको छ । त्यो लोकतन्त्रविरोधी छ । लोकतन्त्रलाई समाप्त पारी तानाशाह ल्याउनका लागि चालिएको कदमप्रति नेपाली कांग्रेसको विरोध हो ।
पाटन एयरपोर्टबाट सुरु भएको र्याली खुलामञ्चमा कोणसभामा परिण तभएको थियो । सभालाई नेपाली कांग्रेस बैतडीका नेता एवं पूर्ववाणिज्य राज्यमन्त्री नरबहादुर चन्द,पूर्व पार्टी सभापतिशिवराज भट्ट, महासमिति सदस्य हरिमोहनभण्डारी, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, जिल्ला सचिवबीरबहादुर बिष्टलगायतले सम्बोधन गरेका थिए ।
सरकारले अहिले चालेको गैरसंवैधानिक र अलोकतान्त्रिक भएकाले आफूहरु सडकमा आएको पूर्ववाणिज्य राज्यमन्त्री चन्दले बताए। उनले भने, 'प्रधानमन्त्री ओली निरंकुश बन्न खोजेका छन् । उनको त्यो सपना पूरा हुने छैन् । नेपालीकांग्रेस लोकतन्त्रको पक्षमा रहेको छ ।'
सभालाई सम्बोधन गर्ने क्रममा अधिकांश नेताहरुले सरकारको अहिलेको कदम संविधानविरोध भएकाले अब कांग्रेस जाग्नुपर्ने बेला आएको बताए । लोकतन्त्रको रक्षाका लागि आफूहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उनीहरुको भनाइ छ ।
प्रदर्शनमा जिल्लाका १० वटै स्थानीय तहबाट पार्टीका नेता कार्यकर्ता, शुभेच्छुकको सहभागिता रहेको नेपाल तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले बताए।