सयौं च्याङ्ग्रा मरेपछि तेन्जिनको बिलौना, ‘कमाई खाने आधार गुम्यो ’
जोमसोम : गोठमा पालिएका सयौं पशु चौपाया एकैपटक मर्दा एक किसानको पीडा कस्तो होला ? यो सहजै अनुमान लगाउन सकिन्न। वर्षौवर्षको मेहनत खर्चिएर भेडा/च्याङ्ग्रा हुर्काएर ठूलो बथान बनाएका मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—३ घिलिङ पशुपालक किसान हुन् तेन्जिङ गुरुङ।
आर्थिक रुपले विपन्न मानिएको उनको परिवारमा ४ जना मात्र छन्। श्रीमती मानसिक रुपमा विक्षिप्त छिन् भने छोराछोरी हुर्किदै छन्। च्याङ्ग्रा हुर्काएर परिवारका छाक टारौँला भन्ने उनको सपनामा ठुलो बज्रपात पर्यो। उनले पालेका आधाजसो च्याङ्गा यसै हप्ता अज्ञात रोगले आफ्नै आँखाको सामुन्ने ढले। च्याङ मरेपछि उनको सपनामा डढेलो लागेछ। उनको पशु पालनभन्दा अर्को वैकल्पिक आम्दानीको श्रोत केही छैन। दिनहुँजसो पशुचौपायको रेखदेखमा बिताउने तेन्जिङ च्याङ्ग्रा गुमाएपछि घाइते बनेका छन्। वर्षौदेखि गर्दै आएको पुख्र्यौली पशुपालनको कर्ममा अब रौनकता हराउन थालेको छ। उनी भन्छन्,‘रोगले सबै पशु चौपाया मर्यो। गरिखाने मुहान सुक्यो। पशुपालक तेन्जिङको गोठबाट २ सय १२ वटामध्ये १ सय १६ वटा भेडा/च्याङ्ग्रा अज्ञात रोगले मरेको वडाध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिए।
उपल्लो मुस्ताङमा यस सिजन अज्ञात रोगले पशुचौपायाको क्षति व्यवहोर्ने पशु कृषक तेन्जिङ एक प्रतिनिधि पात्र हुन्। यो सिजन माहामारीको रुपमा फैलिएको पीपीआर भन्ने अज्ञात रोग उपल्लो मुस्ताङका अधिकाशं पशुपालक किसान आहत बनेको पाइएको छ। गत असोजदेखि फैलिएको अज्ञात महामारी रोग अझै नियन्त्रणमा आइसकेको छैन।
कुनै अन्य आर्थिक स्रोतको माध्यम नभएका तेन्जिङको जिविकोपार्जनको आधारनै पशुपालन व्यवसाय थियो। गोठनै रित्तो हुनेगरी पशुचौपाया मर्न थालेपछि चिन्तित छन्। अहिले पशु सेवा प्राविधिकले जीवित रहेका ९६ वटा भेडा/च्याङग्रालाई उनकै गोठमा पुगेर रोग नियन्त्रणका लागि उपचार गरेको छ। यस्तै घिलिङकै अर्का पशुपालक छेवाङ ढिन्डुक गुरुङको गोठमा रहेको २ सय ५ वटा च्याङग्रामध्ये ६० वटा च्याङ्ग्रा यसै रोगले मरे।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङमा महामारीको रुपमा पशुचौपायमा अज्ञात रोग देखा परेको बताए। उनले अन्नपूर्ण संरक्षण क्षेत्रको उच्च लेकमा समेत वन्यजन्तुहरुमा यसप्रकार रोग देखा परेको बुझिएको उनले खुलाए। महामारीको प्रकोप नियन्त्रणका लागि गाउँपालिकाकै अग्रसरतामा केन्द्र र प्रदेशबाट पशु बिज्ञ टोली झिकाई रोगको अध्ययन गरिएको अध्यक्ष बिष्टले जनाए।
गाउँपालिकाका पशुसेवा प्राविधिक चक्र विकले गाउँपालिकाभित्रका सबै वडाहरुमा पशु चौपायामा अज्ञात रोग देखा परेको र गाउँपालिकाकै समन्वयमा गण्डकी प्रदेश र कृषि ज्ञान केन्द्रबाट ३ जना पशु बिज्ञ टोली आएर स्थलगत निरीक्षण गरेको बताए। उनका अनुसार सुरक्षित रहेका पुश चौपायाको सुरक्षाका लागि अपनाइने अंग्रिम रोकथाममुलक पीपीआर भ्याक्सिन र रोगले छोएका पशुचौपायालाई एन्टिभाईटिक औषधि खुवाईएको गाउँपालिका पशुसेवा प्राविधिक विकले उल्लेख गरे। गाउँपालिकाका ५ वटै वडामा पुगेर पशु चौपायालाई १५ हजार पीपीआर भ्याक्सिन लगाइएको विकले जनाए।
उपल्लो मुस्ताङीको मुख्य जीविकोपार्जनको माध्यम कृषि,पशुपालन र पर्यटन व्यवसाय हो। उपल्लो मुस्ताङका दुई गाउँपालिकामा अधिकाश घरले भेडा/च्याङ्गा र याक चौरी पाल्ने गरिएको छ। लोघेकर गाउँपालिकाभित्रका प्रत्येक घरधुरीका कम्तिमा ३० देखि माथिको संख्यामा अज्ञात रोगले च्याङ्ग्रा मरेको छ। गाउँपालिकाका पशु प्राविधिक विकले हालसम्म २ सय ५० भन्दा बढी चौपाया रोगले मरेको बताए। तर,गाउँपालिकाकै वडा १ को चराङ र मराङमा भने रोग नदेखिएको बताइएको छ।
यसअघि लोमान्थाङ गाउँपालिकाको वडा १,२,४ र ५ वडामा समेत संयौको संख्यामा पशुचौपायामा अज्ञात रोग देखा परेको थियो। गाउँपालिकाका पशु प्राविधिक दिलिप पुर्जाका अनुसार गाउँपालिकाभित्रमा करिब ३ सय बढी पशुचौपाया मरेको र रोग नियन्त्रणका लागि गाउँपालिकाले पशु सुरक्षाका लागि उपचार पद्धति अपनाएको बताए।
उपल्लो मुस्ताङको लोघेकर—३ घिलिङमा तेन्जिङ गुरुङको गोठमा मरेका भेडा/च्याङग्रा। तस्बिर : सम्तेनधावा गुरुङ।