काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना संक्रमण
काठमाडौं : मंगलबार काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। जसमध्ये १५६ महिला र२४२ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा उपत्यकाकासहित थप ७०८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
संक्रमित हुनेमा २७० महिला र ४३८ पुरुष रहेका छन्। नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४९ पुगेको छ। यस्तै २४ घन्टामा ६हजार १३५ स्वाब नमूना परीक्षण गरिएकोमा ७०८ जनामा संक्रमण देखिएको हो।
यस्तै मंगलबार ७३१ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६.८ प्रतिशत हो। देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३९६ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ४० पुगेको मन्त्रालयले जनाएको छ। मंगलबार कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ।
यस्तै अहिले ३६५ जना क्वारेन्टिन र ६ हजार ३९६ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। कोरोना गम्भीर २२८ जनाको आइसीयूमा र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।